~श्रीधर शर्मा~
घामका उज्याला, न्याना किरणहरूले
चमकहरूले
जूनको स्निग्ध शीतलताले
ओर्लिएर चुमेनन्
यसपटक पनि
कवितालाई ।
दूर क्षितिजमा
मुस्कुराइरहेको इन्द्रेणी
वसन्तमा रमाउँदै
हल्लिरहेका फूलका हाँगाहरू
नदीको मोहक तरङ्ग
अटाएनन्
यसपटक
कवितामा ।
रमाएर उफ्रिरहने
कलिला नानीहरूका
ढिकी जाँतो र मेलापातमा
जिन्दगी बाँच्नेहरूका
जीवन्त चित्रहरू
खिचिएनन्
यसपटक पनि
कवितामा ।
बिम्ब र प्रतीकले दुलही सजाउने रहर
शिल्पको अँजुलीले गहिरो भाव उठाउने
मनोकाङ्क्षा
कला र संवेदनाका मधुर, मौन लयहरू
सजीव उतार्न
सकिएन, यसपटक पनि
कवितामा ।
कविता !
म असमर्थ भएँ या तिमी भयौ ?
थाहा छैन मलाई !
तर आज कवितामा
कहीँ कतै-/केही
नपुगेकै छ ।
(स्रोत : साहित्यसरिता – अङ्क २ वर्ष-२ साउन-भदौ-असोज-२०६२)