~शरद पोख्रेल~
म साह्रै बिरामी परेँ कुनै दिन
मनुस्मृतिमा एउटा अनौठो
डरलाग्दो चित्र गढ्यो।
त्यही चित्रले घाइते बनिरहेँ म।
असुरक्षित- भूकम्पले आधा खाएको बूढो घरजस्तो
उराठ- सुनामी पसेको बगैचाजस्तो
मलिन- पतिलाई एयर्पोर्टमा बिदाइ गर्दै गरेकी पत्नीजस्ती
भयावह- राजमार्गमा भर्खरै भएको दुर्घटनाजस्तो
खै के नाचिरह्यो यस्तो
जाँदै गएन यी आँखाबाट
मेटिदै मेटिएन दिमागबाट।
म सारै बिरामी परेँ।
म दिन प्रतिदिन रूग्ण भैरहेँ
त्यो छायाँ स्मृतिपटबाट हट्दै हटेन
आतंक मच्चिरह्यो दिलमा
झस्काइरह्यो दिमागमा
आतंक-
आफ्नै सन्तानले आमाको स्तन काटेझैँ
गरिबहरूको गाउँमा भोकमरी र महामारी पसेझैँ
सुत्केरीको कोठामा बिषालु सर्प बसेझैँ
हरेक घरमा, हरेक गाउँमा आतंक
म आतंकित बनिरहेँ।
सपनाका तामाहरू एक बित्तामै काटिए
समयका ज्वारहरू किनार सम्मै आएर हराए
रहरका बिस्कुनहरू खुशीको तापमा कहिलै सुकेनन्
युगको बीजलाई विसंगतको टुप्पोले
टप्प टिपेर खासालिदियो पत्थरको कापमा-
तर त्यहाँबाट पिपल उम्रिएन,
उम्रियो अग्नीवृक्ष र पात फरफरायो सभ्यतातिर।
नदीहरू आगो बग्न थाले
जीवनहरू मृत्यु बाँच्न थाले
पानीले प्यास प्यून थाल्यो
हावा बेबहाव बग्यो
सालिग्रामहरू बालुवा बने
बालुवाहरू सालिक बने
सालिकहरू मान्छे बने
र
मान्छेहरू सालिक बने।
म सारै बिरामी परेँ।
मेरो रोग निदान गर्न,
डाक्टरले मेरो एक्सरे गरे या विकिरण मात्रै छिराए?
औषधी दिए या पोइजन?
वैद्यले जीवनबुटी हैन मृत्युबुटी बाँधिदिए
धामीले आफू धाम जाने मात्र कर्म गरे
तर म ?
मुक्त हुनै सकेन
मेरो आँखामा आउने त्यो भयानक रोगबाट
त्यो वितृष्ण भयबाट
यो कस्तो रोगको लागि म
हरेक पल मृत्यु पिईरहेछु?
****
बधाई छ मलाई
अस्ति गएको सानो भुईचालोले
मेरो बाथरूमको ऐना फुटाएछ।
ठिक त्यतिबेला देखि नै म सन्चो भएँ।
– शरद पोख्रेल
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)