~डा. घनश्याम परिश्रमी~
हो, म ग्रीष्ममा अखप गर्मी छु,
शिशिर-हेमन्तमा औधी जाडो पनि छु,
प्रकृतिको धर्म हो यो,
मलाई दाेष नदिनू,
मलाई लामखुट्टेकाे सहर मात्र नभन्नू,
मलाई उद्योग, व्यापारकाे केन्द्र मात्र नठान्नू,
हो, मेराे परिसरमा धनका अधिकारीहरू छन्
अकूत सम्पत्तिवाला मनका भिखारीहरू पनि छन्
तर महाशय,
मेरो इतिहासका पृष्ठहरू पढ्नू,
मेरो पुरानाे एल्बमका तस्बिरहरू हेर्नू,
ठाकुररामकाे इतिवृत्त खाेज्नू,
घडीअर्वाकाे कथा अवलोकन गर्नू ।
वीरगन्ज वीर शमशेरकाे बिर्ता होइन,
बुझ्नू महाशय,
म वीरहरूकाे भूमि हुँ
म क्रान्तिभूमि पनि हुँ आवश्यकताकाे,
अनि
म वाङ्मयकाे धरातल पनि हुँ
घामका पाइलाहरू हाेस् वा अलिखित
दस्तावेज हुन् मेरै आख्यानका
तपाईंलाई विश्वास हुनैपर्छ
मेरो गर्भबाट जन्मिएका छन्
शक्तिशाली अक्षरका नायकहरू
मेरै काखमा हुर्किएका छन्
शब्दका अथक साधकहरू
नारायणी वाङ्मय प्रतिष्ठान
वीरगन्ज साहित्य परिषद
मेरै सन्तान हुन्,
सगर मेरै काखमा हुर्केको हो ,
प्रतीक मेरै समाचारकाे निरन्तरता हो
मलाई तीर्थ ठानेर आउने गर्छन् बेला मौकामा
सरहद बाहिरबाट समेत अक्षरका भक्तहरू
साहित्यिक कुम्भ मेला मनाउन
मेरो आँगनमा पटक-पटक भएका छन्
वाङ्मय उत्सव,
इतिहास हुन् यी
पहिलेकाे वीरगन्ज साहित्य सम्मेलन
अहिलेकाे नेपाल भारत साहित्य महाेत्सव ।