कविता : काठमाडौं ओ काठमाडौं

~हिरण्य भोजपुरे~Capture3

तराईका फाँटहरुमा
ओछ्याउनुसम्म ओछ्याएको छु
सपनाहरु
भञ्ज्याङ्ग र चौतारीहरुमा
सुसाउनसम्म सुसाएको छु
बतासहरु
पहाडका उचाई र उनका आकाशहरुमा
कल्पनाका कुहिरोहरु कुदाएँ
मैले आफूलाई धेरैपटक
बाइरोडको बाटाहरुमा
ट्याक्सी गुडाएँ
अनि मैले
जब-जब आफूलाई
घुम्तीहरु घुमाउँदै
मोडहरु रिङ्याउँदै
तराई, पाखा र पखेराहरु पार गरेर
साँझपख
काठमाडौं पस्ने भञ्ज्याङ्मा उभ्याएको छु
र आफू टिल्पिलाउदैं
मुलुकलाई उज्यालो पारुँलाझैं गर्ने
काठमाडौंका पिलपिल-पिलपिल
बत्तीहरुमा मैले आफ्ना आँखाहरु ओरालेका
मैले
एकैचोटी घाम र जून
बलेको आनन्द भेटेको छु
ताराहरु टिल्पिलाएको मजा देखेको छु

काटमाडौंभित्र मैले आफूलाई
धेरैपटक जेरी घुमेको भेटेको छु
घण्टका ध्वनिहरुमा
ॐ खोज्दै गरेको देखेको छु
राक्षसभित्र मान्छे खोजें
मान्छेभित्र देउता
गीतभित्र प्रीत खोजें
प्रीतभित्र गीतः
‘कि लाउँदै नलाउनु माया
लाइसकेपछि मर्‍यो नभन्नु माया
गीत गाएँ, गीत लेखेँ
प्रीत लाएँ, प्रीत देखेँ
सङ्गीत पोखेँ
के-के देखेँ-देखेँ
के-के लेखेँ-लेखेँ

तर, अझ पनि म तुष्ट छैन
त्यसैले त म आज-भोलि
फूल्चोकीमाथि
एउटा ट्याम्के उभ्याउन खोज्दैछु
सुन्दरीजलमाथि
एउटा देउराली ओछ्याउन खोज्दैछु
काठमाडौंभरि
एउटा भोजपुर बसाउन खोज्दैछु
काठमाडौ, ओ काठमाडौं
म तिमीभरि
एउटा भोजपुर बसाउन खोज्दैछु ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.