कविता : आश्रमको साहारा

~बिष्णु ढुंगाना~

म हर्षले बिभोर थे,
मेरो खुशी को बाध फुटेको दिन,
मेरो मुहारमा अलौकिक चमक भरिएको क्षण,
तिमी आयौ नि जुन दिन यो धर्तिमा ।

मैले रात भनिन, न त दिनै भनें
न झरि भनें न त घामै भनें,
मैले जे जे गरें
सबै तिम्रा खुशीका निम्ति ।

मैले मेरा सबै खुशी बन्धकी राखें
अनी साटें
तिमीले पढ्ने कलम र कपी सित
कहिले कोदालीसँग साटें
कहिले हातभरि ठेलासित साटें
त कहिले खलखली पसिना सित साटें
जानेर साटें या नजानी साटें
तिमी शहर पसुन्जेल साटिरहें …

तिमीलाई मानव बनाउन ।

तिम्रो उच्च शिक्षासँग
मैले आफ्नो खुन र पसिना साटें
अरु जे जे साट्न सक्थें, सबै साटें,
तर के बनायो,
यो शहरले तिमीलाई ?

अमानव !!

फर्केनौ कहिले शहरबाट
र, बिर्सियौ आफ्नो गाउघर
बिर्सियौ, आफै उफ्रेको आँगन
बिर्सियौ, आफ्नै साथी-संगी ।

तिमीलाई हुर्काउँदा उठेका हातका ठेला
बस्न नपाउँदै
आज बिर्सियौ आफ्नै आमा ।

कति स्वार्थी छ, यो शहर
सुन्दैन कसैको चित्कार ।

सुन्दैछु तिमी पनि हर्षले बिभोर भाको छौ रे
जसरी तिम्रो आगमनमा
मेरो खुशीको बाँध फुटेको थियो ।

तिम्रो लागी सधै साहारा बनोस्
तिम्रो सन्तान
मुटु टुक्र्याउने बचनको झटारो
कहिले नहानोस् ।

सधैँ-सधैँ, फूलको थुंगा बनोस्
अलिकता पनि तिम्रो खुशी न खलबलियोस् ।

बरु, मन हल्का पार्न
म आँफै
गहभरिका आँसु देख्छन् की भनी
पछ्यौरीको फेरोले, पुछदै-पुछदै
आफैले आर्जेको सब चिज छाडी
लिँदैछु आश्रमको साहारा ।

कवि ढुंगाना झापा, गौरादह ९ का स्थायी निवासी हुन् ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.