~श्रीकृष्ण श्रेष्ठ~
कैयौँझैँ यो संसारमा म नि जन्मिएँ
नबिर्सि नै यो पल फेरी त्यो पल सम्झिएँ
आउँदा त रोएरै आएँ होला सायद
र बिस्तारै रुआईसँगै हाँस्न सिके
इच्छा पूरा गर्न रोई फेरी हाँस्न सिके
अनि यो संसार बुझ्न आँखा खोल्न सिकेँ
यसै साथ केही शब्द पनि बोल्न सिकेँ
केही प्रयासपछि केही पाइला हिँड्न सिकेँ
खुसीकै लागि आफ्नोसँग थोरै भिद्न सिकेँ ।।
अनि समयसँगै आफू अलि ठूलो भएछु
फोहोर धुलो खेली आफू नै धुलो भएछु
खेल केही नबुझी नि रमाई रमाई खेल्थ्येँ
साना कोही देख्न साथ गाई उसलाई पेल्थ्येँ
गल्ती गर्दाको कुरा, यता उता गई लुकेँ
कुन्नि कति पो आफ्नो गल्ती लुकाउन चुकेँ
कति समातिएँ पनि तब आफू लाजैले झुकेँ ।।
फेरी कहिले पो अझै ठूलो भएछु म
जीवनको बाटोमा एक सिधा अघि गएछु म
अनि साथीहरूको भीडमा आफू रमाएँ
एक्लै हुन नचाहेर साथीकै हात समाएँ
अनेक प्रयासपछि आफ्नो पहिचान राम्रै जमाएँ
उनी एककै साथमा झन् धेरै आफूमै रमाएँ
आफ्नो जीवन सारा उनकै हातमा थमाएँ
अनि अर्कैको लागी एक दिन म पनि पराई भएँ
केवल शरीर रह्यो भित्रबाट आफैमा हराई गएँ
घाउ जस्तै मुटु दुख्दा पनि आँसु झार्न सकिन
माया गर्ने त गइदिइन्,उसको याद भने मार्न सकिन ।।
यहाँ सम्झिएँ फेरी आफ्ना बुबा आमा यहाँ
बुझेँ आमाको निश्चल मयासामु अरू कहाँ कहाँ
कोही एक्लै जिउन सिकाउन आउँछन् भनी बुझेँ
बाबु आमालाई नै प्रथम गुरु मानी पुजेँ
उचाइसाथ उमेर अलिक बढेको हो कि लाग्यो
त्यो दुःखी देखिएको दिन पनि त उतै भाग्यो
साथै जिवनजगत् के हो चेतना अलि जाग्यो
समयले आधा खुसीको पल यसै मसँग माग्यो ।।
नचाहि नै कर्मसँगै खुसी साथी दिएँ
जीवन यस्तै सम्झि जीवनको जिम्मा आफै लिएँ
पेट भर्न आँसु बगाई आफूले पनि पिएँ
अनि कमाइले आमा बाबुलाई अमृत पिलाएँ
केही खुसीको खबर उनको जीवनसँग मिलाएँ
आमाबुबाको ओठमा अलि हाँसो अनि खिलाएँ
उनको सहारा सदैव हुने भरोसा मैले दिलाएँ ।।
यसरी कर्म गर्दै थिएँ, उमेर आफै ढल्किन थालेछ
बितेको भूत त वर्तमानमा पो झल्किन थालेछ
मिहिनेतको फल बसिबसी खान पल्किन थालेछु
पसिना बगेको निधार आज भने टल्किन थालेछ
बुझे समयले कहिले कता कहिले कता लादो रहेछ
बच्पन्लाई जवानी र जवानीलाई समयले खाँदो रहेछ
यसरी पो बिना खबर जीवन टाढा टाढा जाँदो रहेछ ।
यसरी पो बिना खबर जीवन टाढा टाढा जाँदो रहेछ ।।
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )