कविता : खबर

~शंकर सोनम ‘वीरसाना’~

खै ! कहाँबाट सुरु गरुँ ?
तिमीलाई सम्बोधन गर्ने शब्दहरू,
यो जीर्ण मस्तिष्कमा
शब्दकोषका पानाहरू पल्टाउँदा
भेटिन, उचित र सार्थक अर्थका शब्दहरू ।
तर पनि यो अचेतन मनले,
तिम्रै नाममा समर्पित केही शब्दहरू कोर्दै छु ।
प्रिय जुनकिरी,
हृदयको उजाड इलाकामा वेदनाका शृङ्खलाहरू
अनि हारका अन्त्यहीन अनुभूतिहरू
कतै लगेर बिसाउन खोज्छु
तर, तिम्रो यादको भूकम्पले मथिङ्गल भित्र पराकम्प ल्याइदिन्छ र सक्दिन ।

आसुँहरुले यी अक्षरहरू लेखिरहँदा,
तिम्रो मुहारको मानचित्र, यो मानसपटलमा खेलिरहन्छ ।
जीवन देखि थकित-थकित छटपटीपूर्ण सत्य यथार्थ,
यी पानाहरूमा उद्गार गरिरहँदा
तिम्रा सामित्यताका अतीतहरूले
यो जिर्ण छाती भतभती पोलिरहेछ ।

तिम्रो मायाप्रति ओतप्रोत यो मुटुमा
शब्दका छेप्यास्त्रहरु प्रहार गरी,
तिमीलाई सजाइ राखेको मुटुलाई सत्यचुर्ण पारी,
तिमीले के उद्देश्य लिन खोजेकी छौ
आखिर यो मुटुमा तिम्रै तस्बिर इङ्गित थियो ।

के सुनाऊ म तिमीलाई मेरो हालत,
म सङ अहिले,
तिमीलाई सम्झिने मुटु सिवाय केही छैन।
अहिले त हेर,
तिमीलाई हेर्ने आँखा सिवाय म सङ केही छैन ।
त्यो सूर्य पनि,
मैले तिम्रो सपना देख्छ कि भनी
पश्चिम ढल्किनै मान्दैन ।
त्यसैले म मनको अँधेरो ओडार भित्र,
तिम्रै सपनाको सिरक ओढी निदाउने गर्छु ।

हिजो सपनीमा तिमी आए थियौ
न त बोल्यौ, न त बोलायौ
हेरिरयौ एकोहोरो ।
चाँदनी झैँ तिम्रो अनुहारको चमक हराइ सकेछ ।
रसिला ओठहरू पनि सुकिसकेछन् ।
आँखाका आलोकहरू सबै निदाइ सकेछन्
यसरी धेरै पछि तिमीलाई सपनीमा देख्दा,
मैले तिमीलाई ठम्याउनै सकिनँ लाग्यो तिमी मेरी जुनकिरी होइनौ ।
तिमी त म देखि टा……….ढा खुसी खोज्न उडेकी थियौ ।
के तिमीले त्यहाँ पनि खुशी भेटिनौ ?
सिमली डाँडा माथि तिमी र म बसेर
लाँकुरी भञ्ज्याङ्लाई चिहाउदै गर्दा,
तिम्रो कोमल चोर औलाले
बन्दुकको जस्तै निशाना बनाइ
कावा खेली रहेका चखेवा जोडिलाई देखाएकी थियौ
र भनेकी थियौ
आहा !! क्या राम्रो जोडी !
यदि हाम्रो पनि पखेटा भए
हामी पनि हावामा कावा खाने थियौ ।
अहिले म,
त्यही खर्क डाँडा माथि बसेर
त्यही लाँकुरी भञ्ज्याङ्लाई चिहाइ रहेको छु
त्यहाँ चखेवा मात्र छ र यहाँ म मात्र ।

अस्ति तिमीलाई साइकलको डन्डीमा बसालेर,
चौतारा घुमाउन लैजाँदै गर्दा,
कुरै कुरामा मस्त भुली दोधारा पुगेका थियौ
आज भगवानसङ तिम्रो प्रेम माग्न,
साइकलको पछाडि भगवानलाई घुस बोकी,
कृष्ण मन्दिर जाँदै थिए ।
मनलोकमा तिमिसङ गफिदा-गफिदै,
बाटो भुलाएर दमक आइपुगेछु ।

कलेजबाट फर्किदा2 कति भोक लाग्थ्यो ।
बाटैमा फलेको बेलौती हुन्थ्यो ।
तिमी फेदीमा बसी पाइता लगाउथौ ।
म रुखमा चढी टिपेर ल्याउँथे
सङै बसी मिलेर खादा,
तिम्रो दाँत नगढेको फल मलाइ रुच्दैन थियो ।
आज पनि म कलेजबाट त्यहीबाट फर्कन्छु।
त्यो रुखलाई नियालेर हेर्छु
त्यहाँ पात र फल चुडियको भेट्न देख्छु ।
र आफूलाई फल चुँडिएको भेट्न सम्झन्छु ।
आखिर,
तिमी फल भयौ, गयौ जीवनबाट चटक्क चुँडिएर ।

के तिमीलाई याद छ ?
भालुवासका पातहरूमा फलानो+फलानो लेखेको ।
त्यति बेला भालुवासका पातको टुप्पो समाइ
मैले तिम्रो नाम ती पातहरूमा खोपेको थिए र तिमीले मेरो ।
त्यति मात्र होइन, मैले त तिम्रो नाम,मुटुको भित्ता मै खोपेको थिए ।
समय बद्लिदै गयो,तिमी बद्लिदै गयौ
तिम्रो मन बदलियो,भालुवासमा खोपिएको फलानो+फलानो पनि मेटियो ।
तर, मुटुमा खोपिएको तिम्रो नाम,
अलिकति पनि खुइलिएन ।

तिमीले त मलाइ भुल्दै गयौ ।
हामी बिच हुने प्रेमिल बातहरू पनि भुल्यौ होला ।
तर म तिमीलाई बिर्सु कसरी,
तिमिसङ बिताएका पलहरू बिर्सु कसरी ?
जहाँ
त्यो जूनमा पनि तिम्रै अनुहार हाँसिरहेको छ ।
त्यो हावामा पनि तिम्रै सुगन्ध बगिरहेको छ ।
त्यो बादलबाट असिना सङ्ग तिम्रै यादका पुष्पगुच्छाहरु बर्सिरहेका छन् ।
यी ओठहरूमा,तिम्रै ओठका स्पर्शहरू सलबलाइ रहेका छन् ।
यो घाटिको डिलमा तिम्रै चुम्बनको खत छ
र यो हृदय भरी तिम्रै माया फक्रीयको छ
ताकी,तिमीलाई माया गर्न,म सङ्ग कुनै रगतको कमी छैन

प्रिय जुनकिरी,
के सोध्छौ तिमी मरो खबर ।
यस्तै छ मेरो दुःखान्त जीवन ।
जिउनुमा कुनै तत्परता छैन ।
दुख लुकाइ हाँस्नुमा कुनै रहस्य छैन ।
जिन्दगी यहाँ मौनतामा डुबिरहेको छ ।
तर पनि म मन र बदनमा
केही खास, केही आस, केही सास बोकेर,
कलेजीको अँधेरो ओडार भित्र
तिम्रै सामिप्यताको ओछ्यान ओछ्याइ,
तिम्रै यादका पाँच र दुई मिनेटहरूलाई काखी च्यापी निदाउने गर्छु ।
र, सधैँ निदाउन चाहन्छु ।

-दमक, झापा, नेपाल.

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.