~जया शर्मा~
कति पढ्नु उस्तै-उस्तै समाचारहरू ?
कति सुन्नु उस्तै-उस्तै खबरहरू ?
लुटिएछ अस्मिता मुस्कुराइरहेकी चाँदनीको
च्यातिएछ फरिया लजाइरहेकी सन्ध्याको
उड्नै खोजेको पखेटा काटिएछ मैनाको
बुन्दै गरेको सपना चुँडिएछ नैनसराको।
उज्यालोको खोजीमा गएका अक्षरहरू
साँझ सग्लै फर्किएनन्
छाउगोठ पुगेका नयनले
बिहानीको उज्यालो देख्न पाएनन्।
युगौँदेखि चलिरहेछ नाटक
कहिल्यै भएन जसको पटाक्षेप
पिताको रोजाइमा
बिदाई भएर गएकी चेलीको
लुटिएथ्यो अस्मिता कामातुर बाट
र उनैले सजाय पाइन् युगौँसम्म शिलारूप।
कहिले सम्म ?
कहिलेसम्म नयन कोशी-कर्णाली बगाउँदै बस्ने ?
लुटिएको लाज, चोइटिएको मुटुसँगै
कि त संसार त्याग्न बाध्य बन्ने
अथवा
आफू जिउँदो लास भएर आँखै अघिल्तिर
आफ्नो विध्वंसकर्तालाई
अट्टहास हाँसिरहेको देख्नुपर्ने ?
बुख्याँचाहरू तयार छन् हरपल
मुना निमोठ्न
किन उद्धत छन् हरक्षण?
हरियो बगैँचा उजाड्न।
ठूल्दाइ, किन चल्दैनन् तिम्रा ती पाइला ?
किन बन्दैन कडा कानुन तिमीबाट ?
ती बाजहरू-
हरेकलाई आफ्नो शिकार सम्झिन्छन्
किन सेरिँदैनन् ती हतियारहरू ?
जसको बलमा नाङ्गो नाच चलिरहेछ पृथ्वीमा ।
किन फुटाइँदैनन् ती कामुक नजरहरू?
जसबाट उम्किन पाउँदैनन्
बोली नफुटेकी बालिकादेखि
मोक्ष कुरिबसेकी हजुरआमा समेत।
आँखा र कान बन्द गरेर
बकुल्लासरी ध्यान बस्नेहरूले
देख्दैनौ कि त्रसित अनुहारहरू?
सुन्दैनौ कि क्रन्दन र गुहारहरू?
कालो मोसोले टालिएको छ कि
विवेकको घैँटो?
अहँ! देखिँदैन,
उज्यालोको कुनै नामनिशान देखिँदैन।
लाग्छ, सुतिरहेछन् सब अलमस्त,
भाते निद्रामा ।
