~केदार गुरुङ~
म आफ्नै सुख र शान्तिका निम्ति
सबै अनावश्यक इच्छाहरूलाई मेरो मनबाट
सकी–नसकी अनिच्छाहरूको अप्ठेरो भीरबाट लडाएर
औलको मोथको जराजस्तै… बेस्सरी टकटक्याउँदै र धूलो झार्दै—
अग्ला र ठूला–ठूला ढुङ्गामाथि थुपारेर…
ग्रीष्मकालको लामो, दिक्कलाग्दो दिन र
चर्को घामले डढाएर मारेझैँ—
यसरी मारिरहेछु।—
खै, किन यस्ता इच्छाहरूदेखि मलाई
आसक्ति होइन, विरक्ति मात्र जागेर सताउँदछ ।
यसैले एक जुनी सुखपूर्वक, ढुक्कसित बाँच्नलाईम त…
यी सबै अवैध इच्छाहरू (जुन मेरो क्षमतादेखि बाहिर छन्।…)
सबै–सबै यसरी निमिट्यान्न पारेर मारिरहेछु।
कतै छेउछाउ, कहीँ ढिम्किन पनि नदिई
कठोरतासित बलपूर्वक गलहत्याएर
दुःख दिई–दिई मारिरहेछु।
नपत्याए
मलाई नै हेर्नोस्न त ।
म कति शान्तसित शान्तिका निम्ति हाँसिरहेछु ?
के तपाईंहरू मलाई
आँखा र मन दुवैले देख्न सक्नुहुन्छ ??
– सिक्किम