~निमग्ना घिमिरे~
हृदयमा माया साँची, छैन जस्तो गर्छाै ।
मनले आफ्नै मानेर नि हैन जस्तो गर्छाै ।।
मनकाे भाका ती नजरले बाेलिरहे पनि,
बेचैनीमा छट्पटिन्छाै चैन जस्तो गर्छाै ।।
दूर-दूर भइयाे अति, अब समीपमा सराैं न हुन्न र ?
जीवनका उकाली र ओराली सँगै झराैँ न हुन्न र ?
न त तिम्रो एकल, न त मेराे एकल शासन यहाँ
अब मिलीजुली सरकार गठन गराैँ न हुन्न र ?
जीवनकाे गाेरेटाेमा सँग-सँगै पाइला चालाैँ न हुन्न र ?
गन्तव्य एउटै तिम्रो-मेराे, यात्रा आजै थालाैँ न हुन्न र ?
तिमीविना सुक्खा अनि उजाड छ मेराे याे जिन्दगी
मिलीजुली मलजल गरी हरियाली पाराैँ न हुन्न र ?
खै किन किन तिम्रै मात्र आश लाग्छ सानू ।
जीवनमा तिमी मात्रै पाे खास लाग्छ सानू ।।
राेकिन्छ कि तिमीविना धड्कन पनि मेराे,
तिमी साथ हुँदा जीवन मधुमास लाग्छ सानू ।।
प्यास लाग्दा मैले पिउने पानी हुनु तिमी ।
आराम गर्दा शिर राख्ने सिरानी हुनु तिमी ।।
तिमीविना कुनै पनि दृश्यै हेर्न चाहन्न म,
संसार हेर्ने यी आँखाका नानी हुनु तिमी ।।