~प्रदीपरत्न शाक्य~
हो, म अक्षर झैँ
मान्छेलाई पढ्ने गर्छु ।
कहिले चोकमा त
कहिले गल्लीमा बसेर
पढ्ने गर्छु ।
कहिले सडक भएर त
कहिले ढुङ्गा भएर
चिन्ने गर्छु ।
हो, अचेल म मान्छेलाई
पढ्ने गर्छु ।
हो, मान्छेलाई म
मुटुले हेर्ने गर्छु
मस्तिष्कले छुने गर्छु
आँखामा टाँस्ने गर्छु
कहिले किनार भएर
कहिले साँघु भएर
म मान्छेलाई पढ्ने गर्छु ।
दोबाटोमा यात्रुको
जिज्ञाशा भएर पढ्ने गर्छु ।
मन्दिरमा माग्न बसेका
आशा भएर पढ्ने गर्छु ।
चौतारीको नजरले झैँ
देउरालीको मायाले झैँ
म मान्छेलाई पढ्ने गर्छु ।
छानो भएर नि
पढ्छु मान्छेलाई ।
दुनो भएर नि पढ्छु मान्छेलाई ।
हो पढिरहन्छु
अचेल म मान्छेलाई ।
घुम्ने मेचमाथि बसी
राष्ट्र सेवक हुँ भन्नेलाई म पढ्दिन ।
हो म त्यो बिल्डिंगमा बसि
गमक्क पर्ने मान्छेलाई नि पढ्दिन ।
त्यो चिल्ला गाडी गुडाई
महानता देखाउनेलाई नि पढ्दिन ।
हो पढ्दिन म ती मान्छेहरूलाई
जसले स्वाभिमानलाई घात गरी
मानवताको विगुल फुकिरहन्छ ।
म त्यो मान्छेलाई पढ्ने गर्छु ।
म त्यो मान्छेलाई चिन्ने गर्छु ।
जो लास भएर नि दीप हुन्छ ,
जो निर्धन भएर नि सम्पन्न हुन्छ ।
म अक्षर झैँ
मान्छेलाई पढ्ने गर्छु ।