~गोविन्ददेव आचार्य~
छन्द : भुजङ्गप्रयात
भकुन्डो उचाली शशी भन्न गाह्रो
उनासी नपुग्दै असी भन्न गाह्रो
बिगार्दै उखेल्दै धुरी चढ्छ मान्छे
कुरा फैलिँदैमा दसी भन्न गाह्रो ।।
भलो ज्ञान बाँड्दा बढी बोल्छ साधु
नबुझ्दै छुचो, तामसी भन्न गाह्रो ।।
चिनारी नपाए हिरै बन्छ लोहा
शिला घोटिँदैमा कसी भन्न गाह्रो ।।
हजारौँ जवानी र नानी हजारौँ
सबै अम्विका, उर्वशी भन्न गाह्रो ।
दशा वा दसैं हो ! सयौँ दिन्छ धम्की
कुभिन्डो बसाली खसी भन्न गाह्रो ।।
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)