~मनु वि.क.~
मेरो देशले नपाउने असल कुरा
छिनछिनमा देश रोयो
असल नीति नपाएर रोयो
कुशल नेता नपाएर रोयो
एउटा सिद्धान्त पचाएर रोयो
अर्को सिद्धान्त बिकाएर रोयो
जङ्गल जलेर रोयो
ढलेर रोयो
हराभरा छाती उसको
निमोट्यान्न खाली परेर रोयो
कोइली र जुरेली
उडेर रोए, डुलेर रोए
पराई धर्ती पुगेर रोए
भमरा र बचेरा आहारा नपाएर रोए
कोही सहारा नपाएर रोए
कुनै वासस्थान गुमाएर रोए
जल थोपा थोपा बनेर रोयो
स्वदेशमा उपयोग नपाउँदा रोयो
आफूलाई दुश्मनका हातमा सुम्पिदिँदा रोयो
स्वदेशीको नशामा बग्ने चाहना
लुटिँदा रोयो, मिचिँदा रोयो
आखिर उसका पनि आँसु त हुन्
सुख्खा झैँ भैदिएर रोयो
जमिन बाँझो बनेर रोयो
अभिभावकत्व गुमाएर रोयो
निष्ठुरी परदेशी सम्झेर रोयो
मिचिँदा रोयो
सिङ्गै धर्ती चोइटिँदा रोयो
विदेशी बाजले चिर्थोदा रोयो
दुष्टले सक्दो निर्चोदा रोयो
सिमानाका खम्बा ढालिएर रोयो
हराउनुको पीरले जलेर रोयो
आखिर उसका पनि आँसु न हुन्
मुटु गाँठो पारेर रोयो ।
पूर्व जातीय उन्माद बढेर रोयो
पश्चिम रोग, भोक र गरिबीले रोयो
हिमालहरू पग्लिएर रोए
सर्वोच्च सगरमाथा एक्लो रहेन
तराई अर्कै ज्वालाले रोयो
विद्रोह र आतङ्कले रोयो
शान्ति र चयन खोजेर रोयो
पहाड र मधेशको मुटु टुट्न खोजेको
पीडामा रोयो
एकताको माला चुँडेर रोयो
विखण्डनको भयानक डरले होला
उसले डाँको छोडेर रोयो
सबैले किन रोइरहे ?
आफ्ना बिलौना पोखिरहे ?
सबैलाई भन्न मन लाग्यो
नरोऊ कत्ति प नि
नबगाऊ अमूल्य आँसुहरू
आँसु रित्तिएका आँखाले हेर त घ्
फुट्न आँटेका मुटुले गम त घ्
परको घुम्ती हुँदै
अनेक हण्डर र ठक्कर खाँदै
दुश्मनका पर्खालहरू भत्काउँदै
आउँदैछन् एक हुल उद्धारकर्मीहरू
तिमीहरूलाई उद्धार गर्न
हजार पीडाहरू पुरिदिन ।
(२०७१ असार ९ गते, काठमाडौँ)
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अंक ३१ – June 24, 2014 – २०७१ असार ११ गते, बुधबार)