पुस्तक समीक्षा : साहित्यकार दामोदर रिजाल ‘घताने’को कथा सङ्ग्रह ‘अव्यवस्था’ : मुलुकी अव्यवस्थाप्रतिको चोटिलो प्रहार

~भेषराज रिजाल~

 वि.सं २०२५ साल माघ १ गते म्याग्दी जिल्लाको साविक घतान गा.वि.स., वडा नं. २ हाल बेनी नगरपालिका वडा नं. ९ मा पिता श्रीकृष्ण रिजाल र माता नर्मदादेवी रिजालको कोखबाट जन्मिनुभएको हो साहित्यकार दामोदर रिजाल ‘घताने’। समाजशास्त्रमा स्नातकोत्तर शैक्षिक उपाधि हासिल गरेका उहाँ निजामती सेवामा रही साहित्य साधनामा पनि लागिरहनुभएको छ। कविताबाट उदाई गजल, समालोचना, निम्बन्ध, कथा आदि विधामा कलम चलाउँदै गजलकारको उँचो छवि बनाएका घतानेले करिब सातवर्षको समाजको भोगाइ र अनुभूतिलाई आफ्नो पहिलो साहित्यिक कृति ‘अव्यवस्था’ कथा सङ्ग्रहमा समेट्नुभएको छ। दामोदर रिजाल ‘घताने’को प्रस्तुत कथा सङ्ग्रह म्याग्दी साहित्य समाजले वि.सं. २०६५ साल फागुन १६ गते आफ्नो स्थापनादिवसको अवसर पारेर प्रकाशन गरेको हो। कथाकारले आफ्ना स्वर्गीय मातापिताप्रति समर्पण गर्नुभएको यस कथा सङ्ग्रहमा साहित्यकार होमनाथ सुवेदीको भूमिका रहेको छ भने साहित्यकार रामप्रसाद सुवेदीको भाषिक शुद्धाशुद्धि रहेको छ। कालीगण्डकी अफसेट प्रेस, बेनीबजार, म्याग्दीमा मुद्रण भएको यस कथा सङ्ग्रहमा ९०+२७ पृष्ठ तथा १२ वटा कथा समाविष्ट

 रहेका छन् भने मूल्य सहयोगस्वरूप रू.१००।– रहेको छ।

गरिब जनताको दयनीय दैनिकी, मुलुकी व्यवस्थाको अमिल्दो परिपाटी, कर्मचारीतन्त्रको कमजोर मानसिकता एवं पुरातन सामाजिक सोच, व्यवहार र संस्कारको दुरुस्त प्रतिविम्ब उतार्न सफल हुनुभएको छ कथाकार। मुलुकको सामाजिक, राजनीतिक, नैतिक आदि जीवनमा व्याप्त अव्यवस्थाहरूको अन्त्य र सुशासनको स्थापनाको मुख्य अभिष्ट छ प्रस्तुत कथा सङ्ग्रहमा। मुलुकलाई सभ्य, सुसंस्कृत, समृद्ध र विकसित देख्न चाहने ध्येयले रचित छन् पात्र, घटना र परिवेश। कथा सङ्ग्रहका प्रायश: कथामा यथार्थ सामाजिक परिघटनाहरूलाई मुख्य कथावस्तु बनाइएको छ। मान्छेको सोच र संस्कार नसुध्रे असल व्यवहारको अपेक्षा गर्न नसकिनेतर्फ इंगित गर्दै अधिकांश कथामा मानवीय मूल्यमान्यता, व्यवहार र संस्कार सुधारको पक्षमा देखिनुभएको छ कथाकार। समाजमा अग्रगामी रूपान्तरण हुन मान्छेहरूमा असल मनोभावना विकसित हुनुपर्ने गहन मनोवैज्ञानिक कथानकसमेत प्रयुक्त छ कथाहरूमा।

‘अव्यवस्था’ कथा सङ्ग्रहको पहिलोकथा ‘दुई थोपा आँसु’मा मुलुकको आन्तरिक द्वन्द्वको चपेटाबाट जोगिँदै धन कमाउन विदेशिन लागेको दलबहादुरको कारुणिक कथा छ। छिटो पासपोर्ट बनाउन बढी पैसा तिर्नुपर्ने र घुस दिनुपर्ने मुलुकी व्यवस्था स्वीकार गरेको छ दलबहादुरले। इराकमा नेपाली मारिँदा नेपालका म्यानपावर कम्पनीमा भएको तोडफोड र आगजनीमा उसको भिसा लागेको पासपोर्ट जल्दा भने मर्माहत भएको छ दलबहादुर। उसले दुई थोपा आँसु चुहाउनबाहेक केही गर्न सकेको छैन। बीसहजार तोला सुन कोसेली र एकको दुई तमसुक गरेर नरे साहुबाट ल्याएको नब्बेहजार कसरी तिर्ने भन्ने विषय दलबहादुरको निजी समस्या भएको छ। वैदेशिक रोजगारीमा निर्भर नेपाली युवाशक्तिको वर्तमान अवस्था र मनोदशा विश्लेषण गर्न सफल हुनुभएको छ कथाकार। कथामा प्रयुक्त विचार, भाषाशैली र प्रस्तुतीले पाठकको मनमस्तिष्क हल्लाइदिन्छन्। ‘दुई थोपा आँसु’ कथाका केही हरफहरू हेरौँ :-

–  ऊ जुन बाटो हिँडेर यहाँसम्म आइपुग्यो, त्यो बाटो मेटिइसक्यो, मानौँ पहिरो गयो। अगाडि बढ्न पहिरो छ, न चढ्न सक्छ, न त ‌ओर्लन। (पृष्ठ १)

–  देश दुखेको छ, देश जलेको छ, देश खाल्डोमा खसेको छ, देश दलदलमा भासिएको छ। देशसँगै देशका अवयवहरू निकम्बा, निश्चल, निस्तेज भइरहेका छन्। (पृष्ठ ३)

– साथमा भएको लोग्ने विदेश जान सहमत हुँदा पत्नीहरू हर्षित हुनुपरेको यो जमानाको नाम एक्काइसौँ शताब्दी हो। (पृष्ठ ४)

– ओरालो लागेको मृगजस्ता नेपाली युवाहरू जहाँ गए पनि खेदिएकै छन्। (पृष्ठ ८)

‘जीवनदान’ कथाले पनि मुलुक तथा समाजमा व्याप्त अव्यवस्थाहरूकै खेदो गरेको छ। दलालको मोलमा बेचिएर विदेशमा दास बन्न जानुपर्ने संस्कृति विकास भइरहेकोप्रति कटाक्ष छ यस कथामा। विनोदले अष्ट्रेलियामा केही कमाएर नेपालमा घडेरी किन्ने, घर बनाउने, खेत जोड्ने गरे पनि घर आउँदा जन्मदिने बाबुको मुख देख्न पाउँदैन। बिरामी परेपछि बाबुलाई गाउँबाट बेनीसम्म झारिए पनि नेपाल बन्दले कुनै सवारीसाधन नचल्दा पोखरासम्म लान पनि नसकी परलोक भएको हुन्छ बाबुको। काका र गाउँलेहरूको सल्लाह र सहयोगमा एम्बुलेन्स खरिद गर्न सम्भव भए पनि एउटा अपेक्षाले चिमोट्छ पाठकलाई– बन्दमा पनि एम्बुलेन्स गुड्न पाए मान्छेको अकाल मृत्यु कम हुनेथियो। विनोदले आफ्नो बाबुको मृत्यु भए पनि अरू जीवित बाबुहरूलाई सेवा पुर्‍याउन एम्बुलेन्स किनेको कथानक प्रस्तुत गरेर सामाजिक संस्कार सुधारको पक्षमा उभिनुभएको छ कथाकार।

‘उद्‍घाटन’ कथाले समाजमा जरा गाडेको पुरातन सोचलाई विस्थापित गर्दै नयाँ सोच, शैली, संस्कार र व्यवहार स्थापित गर्नुपर्ने सन्देश दिएको छ। निरङ्‍कुश व्यवस्था, व्यक्तिवादी सोच र स्वार्थपरक दृष्टिकोण राखेर संस्थामा हाबी भएका सभापतिको अधिकारलाई कार्यसमितिको अधिकारक्षेत्रभित्र ल्याई सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने, संस्थाको कार्यक्षेत्र विस्तार गरी खानेपानी, बाटोघाटो, स्वास्थ्य आदि सेवाले जनताको मन जित्ने जस्ता युग–अपेक्षित काम समेटिएको छ यस कथामा। मुलुकले नवीन राज्यव्यवस्थामा पाइला टेके पनि अव्यवस्था पालेर स्वार्थसिद्ध गर्नलागिरहने राजनेताहरूलाई दह्रो झापड हानेको छ यस कथाले। महेन्द्रनाथ शर्माजस्ता सामन्तहरूको बिसर्जन आजको आवश्यकता रहेको कुरा यस कथाको मुख्य सन्देश हो।

‘नयाँ बाटो’ कथाले अबलम्बन गरेको बाटो हरेक नेपाली जनताले अपेक्षा गरेको युगपथजस्तो छ। असत्तीहरूले अबाटो खनेर अबाटै हिँडेजस्तो छैन यो बाटो। कथाको मान्यता छ– खेताला, पशुपालक सबैलाई पायक पर्ने र सुविधा हुनेखालको हुनुपर्छ नयाँ बाटो। समाजलाई पुरातन बाटो हिँडाएर फाइदा लिन उद्दत पुरातनवादी र नयाँ बाटो बन्ने आशा देखाएर बाटो भत्काइरहने अगुवा भनाउँदाहरूले जनतालाई अल्मलाइरहेकोतर्फ सङ्केत गर्नुभएको छ कथाकारले। सुनतस्कर, ठेकेदार, कर्मचारी, शिक्षा व्यापारी, गै.स.स.कारी, हतियारधारी आदि सबैले समाजमा ठूलो योगदान गरेको भनी भाषण फलाके पनि जनता मान्न तयार छैनन्। बरू केही गर्न नसकेको यथार्थ नढाँटी भन्ने मुलुकका सच्चा नागरिकलाई नेता मान्न तयार छन् जनता। मुलुक निर्माणको बाटोमा हिँड्ने प्रबल चाहना छ कथाकारको पनि। कथा सङ्ग्रहका अब्बल कथामध्ये पर्ने ‘नयाँ बाटो’ कथाका केही हरफहरू यहाँ उधृत गरिएको छ :-

–  असत्तीहरू बाटो खन्यौँ भन्छन्, अबाटो खन्छन्। त्यतिमात्र हो र? अबाटो हिँड्छन्, अबाटोलाई नै बाटो भनिदिन्छन्। (पृष्ठ २४)

–  यो गाउँ नै यस्तै छ, यहाँ बाढीले बनाएको खोल्सालाई बाटो भनेर हिँडिन्छ, पहिराले बनाएको पुलमा तरेर जीविका गरिन्छ। परनिर्भरताको पनि सारो हद नाघेको उदाहरण छ यहाँ। (पृष्ठ २५)

– नागरिक हाम्रो नेता होऊ। नयाँ बाटो तिमीले बनाऊ। (पृष्ठ ३१)

कथा सङ्ग्रहको पाँचौँ तथा शीर्षक कथासमेत हो– ‘अव्यवस्थाको अर्थी’। सभ्य समाजको बाधक हो अव्यवस्था। व्यवस्था, सभ्यता र संस्कार लत्याएर अव्यवस्था, भ्रष्टाचार र कुशासनको सहाराले भए पनि वैभवशाली हुनुपरेको छ मान्छेलाई यहाँ। केही गर्न नसके पनि ठूलो पदमा रहेर ठूलोबडो गनिने होड छ। अरूलाई धम्क्याएर, जोताएर, दलेर आफूले जितेको अनुभूत गरिरहेको छ मान्छे। केही नलागे हेराइले होच्याएर भए पनि ठालुमा दरिएको छ मान्छे। यस्तै अव्यवस्था र असभ्यताका धारिला, विषाक्त र आक्रान्त नजरको प्रहारबाट प्रताडित हुनुहुन्छ कथाकार पनि। आखिर एकदिन अव्यवस्था सडकमा मृत फेला पर्छ। त्यसको दाहसंस्कार गरेर अनगिन्ति हाँसोसँग हाँस्नुहुन्छ कथाकार। कथा पढ्दा मुलुक बिगारेर फाइदा लिन पल्केको अव्यवस्थाको कुनैदिन मलामी जान पाउने कुरामा आशावादी बन्दछन् पाठक। ठाडो शिर गरेर हिँड्न नदिई टाउको लुकाउनुपर्ने मूल्यमान्यता र व्यवहार नत्यागी मुलुक समृद्ध बन्न कहाँ सक्ला र? मुलुक समृद्ध नबनी मुलुकबासी समुन्नत कसरी बन्लान् र? यस्तै मुलुकको पेचिलो विषयको परिप्रेक्षमा सान्दर्भिक रहेको छ कथा– ‘अव्यवस्थाको अर्थी’ ।

‘छोरीलाई अंश’ कथामा अधिकारलाई सतहीरूपमा खोज्न नहुने तर्क छ कथाकारको। माइतीको सम्पत्तिमा आँखा लगाएकी शारदालाई एकातिर उसको लोग्ने र छोराको समेत समर्थन रहँदैन भने अर्कोतिर अदालतले फैसला गरे पनि निर्धन माइतीले अंश दिन नसकेको यथार्थ छ। छोराछोरीबीचको विभेद कायमै रहेको वर्तमान समाजमा वर्षौँपहिले विवाह भएर गइसकेकी चेलीले अंश मागेको कथावस्तु केही खट्कनसक्छ पाठकलाई।

‘राशीफल’ कथाले कामभन्दा चाकडीमा तल्लीन भ्रष्ट कर्मचारीको पोल खोल्न सफल भएको छ। माथिका कर्मचारीलाई पाउर चढाउने अनि सुविधा आफूमात्र लिएर समकक्षी र तलका कर्मचारीलाई दबाउने निमित्त कार्यालय प्रमुख अनिलको मनोदशा विश्लेषण गर्दै प्रक्रियामुखी वर्तमान सरकारी सेवाको कमजोर पक्ष उदाङ्गो पार्नुभएको छ कथाकारले।

जनमतअनुरूप शासन व्यवस्था सञ्चालन गर्न अपनाइने निर्वाचन नै धाँधलीपूर्ण हुने गरेको तथा जनताले आफ्नो शासन आफैले सञ्चालन गर्न र टाउको उठाउनसमेत नपाएको नेपाली राजनीतिको यथार्थ प्रस्तुत भएको छ– ‘निष्पक्ष मतदान’ कथामा। मतदान प्रतिनिधिहरू लखेटिने, फरक आस्थाका मतदाताले मतदान गर्न नपाउने, एउटा मतदाताको मत अर्कै मतदाताले हाल्ने, मतदानका बेला पैसा र आश्वासनको खोलो बगाउने प्रवृत्तिको चिरफार गरिएको छ यस कथामा। जसरी पनि जितेर जानेहरूले गरेका कामले निर्वाचनको असली अनुहार देखाइदिएको यथार्थ चित्रित छ कथामा। पार्टीको एजेन्ट बन्दै हरेक चुनावमा होमिएको प्रतिबद्ध कार्यकर्ता जगतले समेत निर्वाचन भइसकेपछि बल्ल थाहा पाउँछ– ऊ एजेन्ट खटिएको लामाबगरको बुथ त कब्जा पो भएको रहेछ। निर्वाचनका बेला कार्यकर्ताहरू एकापसमा मर्छन् मार्छन् तर जित्नेहरूले जनता बिर्सेर निर्धक्क रजाइँ गर्दछन् भन्ने वास्तविकता पनि प्रस्तुत गरिएको छ यस कथामा।

प्रस्तावनालेखन’ औसत कथा हो। प्रस्तावना लेख्ने र अध्ययन गरी सिफारिससमेत गर्ने एउटै कर्मचारी भएको छोटो कथानक र संवादभित्र उनिएको यस कथाले बौद्धिक वर्गमा गनिएका अब्बल कर्मचारीहरूको चासो र चिन्ता छर्लङ्ग पारिदिएको छ।

‘जनताको संविधान : विज्ञानको नियम’ कथामा संविधानसभा निर्वाचनको प्रचारशैली, उम्मेदवारको मत माग्ने तौरतरिका र मुलुकको राजनीतिक संस्कार केलाउने प्रयास गरिएको छ। लोकतान्त्रिक परिपाटीको मुख्य आधार निर्वाचनका मतपत्र, मतदाता शिक्षा, नागरिक सचेतना आदि विषयलाई कथाले कोट्याएको छ। निर्वाचनका समयमा उस्तै मूल्यमान्यता र सिद्धान्त भएका राजनीतिक दलहरूबीच मारामार हुनेगरेको तर अमिल्दो मूल्यमान्यता र सिद्धान्त भएका दलहरूबीच भने गठबन्धन हुनेगरेको विषयलाई नेगेटिभ र पोजेटिभ ध्रुवबीच आकर्षण हुने चुम्बकीय नियमसँग जोडेर व्यङ्ग्य गरिएको छ। मतदाताले मत दिन सिन्को भाँची औँलाले नापेर निर्णय लिनुपरेको कथानकले समेत वर्तमान राजनीतिक संस्कारमा सुधारको अपेक्षा छर्लङ्गिन्छ। नेपालका राजनीतिक दलहरू निर्वाचन जित्न र सत्तामा पुग्न सफल रहे पनि जनतालाई सुविधा दिने काममा सफल हुन नसकेको सत्यउपरसमेत कथाको व्यङ्ग्य सार्थक देखिन्छ।

‘राज्यविप्लव’ कथाले द्वन्द्वकालीन घटना, पात्र र परिवेश हुबहु उतार्न सफल भएको छ। तल्लो तहको सरकारी कर्मचारी विजयमाथि विद्रोही पक्षबाट सरकारलाई सुराकी गरेको र सरकारी पक्षबाट आतङ्ककारीलाई खुराकी गरेको आरोप लागेको छ। निर्वाहको जागिर खाइरहेकाहरूले जागिर बचाउन कहिले विद्रोहीले तोकेको लेबी चन्दा बुझाउनुपरेको छ भने कहिले आतङ्ककारीलाई सहयोग गरेको आरोपमा राज्य पक्षबाट कारबाही भोग्न बाध्य हुनुपरेको छ। समयमै लेबी चन्दा नबुझाएकोमा विजयलाई राज्यविप्लवको अभियोग लगाएर बीसहजार धरौटीसहित एकहप्ताभित्र उपस्थित हुन एरिया इन्चार्जले पत्र काटेको छ भने विद्रोहीलाई धरौटी बुझाएका विजयका साथीहरू रमेश, कृष्ण र विमललाई आतङ्ककारीलाई मद्दत गरेर राज्यविप्लव गरेको आरोपमा पुलिसले पक्डेको छ। साँच्चै सुराकी र खुराकी गरेकाहरू ढुक्कले छाती फुलाएर हिँडे पनि तल्लो तहका कर्मचारी सबैतिरबाट हेपिएको, चेपिएको, पेलिएको र निचोरिएको यथार्थ चित्रित छ कथामा। नागरिकको राज्यप्रतिको कर्तव्य के हो र राज्यविप्लव के हो भन्ने विषयमा द्विविधा हुनुपरेको नागरिकको मनोदशा राम्ररी केलाइएको छ कथामा।

‘पुरस्कार’ कथामा देशको एउटा इमान्दार सिपाही बलबहादुर कर्मक्षेत्रमा खिया लागेको फलामजस्तै खिइँदै गएर ‘हस् साप्’ को आज्ञाकारिता अलाप्ने यन्त्र बन्नपुगेको छ। जीवनका पाठशालामा सिकेका आदर्श बिर्सी उपल्लो पदिकले झुटो बोलेर साक्षी राख्दा हो भन्नुपर्ने उसको बाध्यता भएको छ। पुर्खाले जीवन खर्चेर आर्जेका अनुभव र उपदेश पालना नगरी कमाण्डरको आदर गर्नु उसको कर्तव्य बनेको छ। झुटो बोलेको, अरूलाई दु:ख दिएको, बित्थामा अर्काको ज्यान लिएको, बलत्कारको संरक्षक र मतियार बनेको एवं हाकिमलाई रिपोर्ट गरेर सघाएको बदलामा बलबहादुर पदोन्नतिबाट पुरस्कृत हुनसक्यो। खराब राष्ट्रसेवक पुरस्कृत भएको ‘पुरस्कार’ कथाको कथावस्तुले पुरस्कार दिने र पुरस्कृत हुनेहरूको चरित्र उदाङ्गो पारिदिएको छ।

समाजको मुटुको खील बनेका अव्यवस्था, बेथिति, विसङ्गति, विकृति, बेइमानी, जवाफहीनता, कुशासन र भ्रष्टाचारलाई राम्ररी औँल्याउन सफल हुनुभएको छ कथाकार दामोदर रिजाल ‘घताने’। अधिकांश कथाको कथानक छोटो भए पनि सामाजिक भोगाइको सजीव चित्रण उतारिएकोले गहन लाग्दछन् कथाहरू। कथाहरूको कथावस्तु सरल भए तापनि पात्रको मनोविज्ञानको चिरफार गर्दै गहनभाव प्रस्तुत गर्न सफल हुनुभएको छ कथाकार। हरेक कथा जीवनपद्दतिको खोजी गर्ने दर्शन र आदर्शयुक्त उद्देश्यबाट प्रेरित लाग्दछन्। देशको यथार्थ परिवेशमा टेकेर समग्र जीवन पद्दतिउपर मडारिएको कालो अन्धकार मास्न चाहनुहुन्छ कथाकार। धेरैजसो कथामा मुलुकका अव्यवस्थाप्रति मन अमिलो बनाउँदै मुलुक कहिले बन्ला भनेर आफैसँग सोध्नपुग्दछन् पाठक। कथाहरू सहरिया परिवेशमा उनिए तापनि इमान्दार, सोझासिधा गाउँले पात्रहरूको पनि उपस्थिति छ कथामा। कथा सङ्ग्रहमा प्रयुक्त भाषाशैली र प्रस्तुतिले पाठकको मन छुन्छ। नवीन विम्ब, प्रतीक, उपमा आदिको प्रयोगले कथाहरू उत्कृष्ट बन्नपुगेका छन्। पात्रहरूको मनछुने सम्वादको समेत प्राचुर्यता छ कथामा। हरेक कथाले अव्यवस्थाको अन्त्य गरी सुशासन स्थापना गर्दै पद्दतिबद्ध समाज स्थापना गर्ने स्पष्ट उद्देश्य र दृढ अठोट लिएकोले कथाहरूको विषयवस्तु समयसापेक्ष, सान्दर्भिक र सार्थक सावित भएको छ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.