~रजिन पनेरु~
असमान सम्बन्धमा
म तिमीलाई मुटु बन्धक राखेर
प्रेम गर्न सक्दिन
ओ ! मेरी सपनाकी राजकुमारी !
मलाई माफ गर
म तिम्रो राजकुमार दिक्पाल होइन
जो सहजै स्फटिकका खम्बा काटेर
भँमराको हत्या–तिमीलाई आफ्नो बनाउन सकूँ ?
मैले त भँमरा होइन प्रियसी
तिमीलाई पाउन मेरा बाआमा मार्नु पर्छ
पवित्र मेरा इष्टमित्र मार्नुपर्छ
बाहिर मार्नुपर्छ भित्र मार्नुपर्छ
सारा आकांक्षा मार्नुपर्छ
सक्दिन यी सारा कुर्बानी दिन
असमर्थ प्रेम
म अघोषित प्रेमी
स्वीकार गर्न सक्दिन
तिम्रो प्रेमलाई । । १
ओ ! प्रियसी !
मेरो स्पर्शहीन तिम्रो कोमल अधरभित्र
म हराउन सक्दिन भो मलाई ऐँठन नगर
विवशतामा बज्र नपार मेरो मुटु
म आकाशको तारा झार्न सक्दिन
आफ्ना बाआमा मार्न सक्दिन
ए सभ्यताकी प्यारी !
तिम्रो महलमा मेरो नुनको व्यथा हुँदैन
हुम्लाको शंकट हुँदैन
रोल्पाको रोदन हुँदैन
छाड मेरो पछ्याइ
सपनाबाट विपनामा व्यूँतियो भने
मलाई तिम्रो सभ्यताले दाम्लो बाँध्ने छ
घाँस हालेर चहुरमा नँग्याउने छ
त्यसैले मलाई असमान प्रेम गर्न छैन ।। २
असम्बोधन !
म जीजिविषा बोकेर अलिकति ….
हत्केलामा
तिम्रो संस्कृति फुलाउन सक्दिन
ओ सुनकेशरी !
त्यसरी बेस्सरी मेरो घाँटी नअँठ्याउ
मलाई दुख्छ
मैले खोले खानु छ घाँटीले बाँचुन्जेल
के गरुँ ? शहरमा जहर लत्याएपछि
मेरो रहर गुमनाम भयो
त्यसैले हाम्रो सम्बन्ध असमान भयो
ओ ! रातकी रानी !
तिमी रातमा आऊ चाँद बनेर
म देख्छु तिमीलाई छुन्न दाग लाग्छ
गोबर सोहोर्ने हातको राग लाग्छ
जति बिन्ती गरे पनि तिम्रो हुन सक्दिन
सम्बन्धहीन सम्बन्ध गरेर असमान सन्धि
भविष्यमा रुन सक्दिन । । । ३
(स्रोत : रचनाकारको ब्लगबाट सभार)