कविता : एउटा कलम

~हिरारत्न श्रीशा~

अधिकार प्रयोग गर्दै
भोका नांगा मजदुर निमुखाहरुको
अन्जुलीमा सान्तवनाले भर्दै
एउटा आसा बनेर
निसंकोच, नरोकी
सबैको भाषा बनेर
यथार्थको चित्रण गर्दै
निरन्तर लेख्दथ्यो
एउटा कलम

डर धम्कीको वास्ता नगरी
आफ्नो कर्तव्यलाई निरन्तरता दिंदै
कसैको जालमा नपरी
पर्दा पछाडि लुकेका
खलनायकहरु
जनताले थुकेका
नालायकहरु
आफैसँग झुकेका
बलात्कारी, अत्याचारी
अनि घुसखोरीहरुका
काला कर्तुतहरु
जनताको माझ पर्दाफास गर्दै
निरन्तर लेख्दथ्यो
एउटा कलम

धेरै थियो उसले लेख्नु
तर अचानक
समाज र देशको भलो नचाहनेहरुलाई
असह्य भयो देख्नु
लेख्दा लेख्दै जनताका बोलीलाई
विचरा, मसी नसकिंदै
माटोको अधुरो कथालाई छाडेर
चर्किएर चारैतिर
करोडौं जनताको
आँखा र आवाजको उपमा पाएको
मेचीदेखि कालीको दैनिकीमा धाएको
भाँचेर माटोमा गाडेर छाडियो
जनताको पक्षमा
निरन्तर लेख्ने
एउटा कलमलाई

(माओवादीद्वारा बर्बर यातना दिएर जिउँदै खाल्टोमा पुरी मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको सम्झनामा)

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १७ – March 06, 2013 – २०६९ फागुन २३ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.