कविता : अफसोच् यहाँ त….

~गिरबहादुर महतारा क्षत्री~

वीर योद्धाहरूको जीवनदानपश्चात्
क्षितिजबाट हट्न आँटेको कालो बादलको घुम्टो
फेरि पनि आकाशमा जस्ताको त्यस्तै मडारिरहेछ
रविका किरण धपक्क छोपी
नेपाली धर्तीमा भीमकाय छायाँ पो बनाएछ
अफसोच ¤ यहाँ त हात्ती आयो, हात्ती आयो, फास्स न फुस्स पो भएछ
(२)
तान्डव नृत्य हेर्दाहेर्दै थाकिसकेका हजारौँ नयनहरू
नग्न खेलहरू खेल्दाखेल्दै कापिसकेका सम्पूर्ण अवयवहरू
अश्लील गीत र सङ्गीत सुन्दासुन्दै वाक्क परेका मानसपटलमा
पैशाचिक युगको अन्त्य गरी
नयाँ ज्योतिले आलोकित गर्ने एउटा जोशिलो जाँगरमाथि
पूर्णविराम चिन्ह पो लाएछ
अफसोच ¤ यहाँ त हात्ती आयो, हात्ती आयो, फास्स न फुस्स पो भएछ
(३)
कहालीलाग्दो परिवशेभित्र निस्सासिएका आत्माहरू
मुटुभरी व्यथा बेदना च्याँपेर बाँचेका जिन्दगीहरू
फुटेका हृदय जोड्ने आकाङ्क्षासहित
स्वर्णिम जीवनको कल्पना गर्दागर्दै
फेरि पनि यहाँ त पुरानै भूत पो नाँचिरहेछ
अफसोच ¤ यहाँ त हात्ती आयो, हात्ती आयो, फास्स न फुस्स पो भएछ
(४)
बुजु्रकहरू लोकतन्त्रको जतिसुकै राप अलापे पनि
विजयी जुलुसमा फूल अविरको वर्षा गराए पनि
युगले कोल्टे फेर्न नपाई अतीतमा जस्तै
क्रुरता, कोलाहल, षडयन्त्र, चित्कार र बर्बरताले सिमा पार गरिसकेछ
मान्छे आफूले आफैलाई बिर्सन पो गएछ
अफसोच ¤ यहाँ त हात्ती आयो, हात्ती आयो, फास्स न फुस्स पो भएछ
(५)
गन्डकी, कोशीजस्तै महाकाली पनि अँध्यारोमा कन्यादान हुँदा
युगौँयुगदेखि गाडिएका सीमास्तम्भ रातारात अन्यत्रै सर्न पुग्दा
बिचरा ¤ दिमागमा खिया लागेका हाम्रा बुजु्रक मान्छेहरू
खुसीको सास फेर्दै
आरामदायी बिछ्यौनामा पल्टिरहेछन्
एउटा नयाँ सूर्यको उदय होला भन्दा त
बिगतका बाचा र प्रतिज्ञा बिर्सेर
फगत नाइके हुने रहरमा अर्कैको चाकडी पो चलिरहेछ
अफसोच ¤ यहाँ त हात्ती आयो, हात्ती आयो, फास्स न फुस्स पो भएछ

–तुषारा, प्यूठान

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३२ – June 20, 2012 – २०६९ आषाढ ०६ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.