कथा : चमेली

~अर्जुन थापा~

बेला न कुबेला परेको वर्षाले साँझलाई अरू भयंकर बनाएको छ । घरहरूका छतबाट झरेका पानीका धाराहरुले अझ कर्कस बनाएको छ साँझलाई । आज जसरी पनि सक्काउनुपर्ने थियो भोलालाई प्रोजेक्टको काम । तर यो बेमौसममा परेको पानीले गर्दा अरू थप एक दिन लम्बिएको छ । उसको आँखा अगाडि एउटा होटल देखा पर्छ । आजको रात यसै होटलमा बस्नु सिवाय अरू कुनै उपाय नै थिएन भोलासँग । ऊ दौडेर होटलभित्र छिर्छ ।

‘साउजी एउटा रुम चाहिएको थियो । आज एक रातलाई ।’ आफ्नो भिजेको लुगालाई झड्कार्दै भन्छ भोला ।

‘रुम मात्रै ?’ टुथपिकले दाँत कोट्याउँदै प्रश्न गर्छ । सायद यसै होटलको साहु हुनुपर्छ ।

‘रुमका साथै अझ वाइफाइ भए झन् उत्तम हुन्थ्यो । आज रातभरिमा काम सक्काउने थिएँ ।’ सोझो तरिकाले उत्तर दिन्छ भोला ।

‘धनगढीमा नयाँ आउनुभएको जस्तो छ तपाईं ।’ खैनीले पूरै राता भएका दाँत देखाएर हाँस्छ साहुजी ।

‘साहुजी मेरो खानाचाहिँ रुममै पठाइदिनु होला ।’ भन्दै रुमको चाबी लिएर रुमतिर लाग्छ ।

ल्यापटप र सानो ब्याग छेउकै टेबलमा राखेर सानो झ्यालमा रहेको पुरानो पर्दा उर्घाछ । बाहिर परिवेशमा एक प्रकारले वेदना फैलिएको प्रतीत हुन्छ । त्यत्तिकैमा झ्याप्प बत्ती जान्छ । एकैछिनमा धनगढी बजार अन्धकारमय हुन्छ ।

‘आज आठ बजेदेखि बाह्र बजेसम्म लोडसेडिङ हो’ भन्दै हातमा सानो मैनबत्ती बालेर भित्र छिर्छिन् ।
मैनबत्तीको धिपधिप गरिरहेको मधुरो र मलिनो प्रकाशमा पनि उनको सुन्दर अनुहार धपधप बलिरहेको हुन्छ ।

‘सर, ल म एकैछिनमा हजुरको खाना ल्याइदिन्छु । भोक लागिसक्यो होला ।’ भन्दै तुरुन्त अदृश्य हुन्छिन् ।
भोला अझै उनकै बारेमा सोच्दै हुन्छ । काम गर्ने त पक्कै होइन । साहुकै छोरी हुनुपर्छ भनेर सोच्दासोच्दै उनी फेरि टुप्लुक्क देखा पर्छिन् खाना लिएर ।

‘बाहिर पानी अझै परिराखेको छ । आज रोकिने छाँटकाँट छैन यो पानीको ।’ भन्दै बेडमा आएर बस्छिन् उनी ।

उनको शरीरको मादकतालाई हेर्दै नहेरी भोला खाना खानतिर लाग्छ । हुन त उसको मनमा अनेकौँ प्रश्नहरु दौडी नै राखेका हुन्छन् । तर पनि सोध्ने आँट गर्न सकिराखेको हुँदैन ।

बेडबाटै उनले भोलालाई हेरिराखेकी हुन्छिन् ।

कुनै कुशल मूर्तिकारले भर्खरै निर्माण गरेको अत्यन्त सुन्दर मूर्तिजस्तो देखिएकी हुन्छिन् । भोला मनमनै सोच्छ, ‘यिनी अहिले काठमाडौँमा भएको भए नेपाली नायिकाभन्दा कम हुने थिइनन् भनेर । दोष लगाउने केही कुरा नै भेट्टाइराखेको थिएन उनको रुपको भोलाले ।

‘तपाईंको नामचाहिँ के हो नि ?’ संवादको सुरुवात प्रश्नबाट गर्छ भोला ।

‘पारिजात ।’ छोटो उत्तर उनको ।

‘आहा ! जति सुन्दर तपाईं नाम पनि त्यत्तिकै सुन्दर ।’ उनलाई हेर्दै भोला भन्दै जान्छ ।

‘कति खुसी देखिनुहुन्छ तपाईं । मलाई पनि सिकाइदिनु न तपाईं जस्तै खुसी हुनलाई ।’

‘आँप बाहिर जति सफा र राम्रो देखिने भए पनि काटेर भित्र हेर्दा किरा परेको हुन सक्छ । त्यसलाई काटेर नहेरीसम्म थाहा हुँदैन । त्यस्तै तपाईंले मेरो अनुहारबाट जे अनुमान लगाउनुभयो त्यो म नहुन पनि सक्छु ।’ मलिनो अनुहार पार्दै भनिन् उनले ।

‘ल कुरा धेरै भयो । एक रातको एक हजार हो मेरो । चार सय साहुलाई पनि दिनुपर्छ । इच्छा छ भने सुरु गर्नुप¥यो ।’ ऊतिर हेर्दै भनिन् ।

कहिलेकाहीँ जे सोचिराखेको हुन्छ ठिक त्यसको विपरीत भइदिन्छ परिस्थिति । हो, अहिले भोलालाई पनि त्यही भइराखेको छ । अब भोलालाई उनको शरीरसँग खेल्नलाई भन्दा पनि उनका बारेमा जान्न बढी आतुर भइराखेको थियो ।

‘हुन्छ म तिमीलाई एक हजार मात्र नभएर दुई हजार दिन्छु । तर तिमीले मैले भनेको कुरा गर्नुपर्छ ।’ भोला अब खुलेर भन्छ ।

‘हुन्छ सर, तपाईंले भनेको कुरा बुझिसकेँ । तपाईंलाई पूर्ण सन्तुष्टि पारिकनै पैसा लिउँला नि !’ उनी हाँसिदिन्छिन् ।

‘तिमीले मेरो कुरा नबुझी अर्के सोच्यौ । म तिम्रो शरीरलाई छुँदैछुन्न । मलाई मात्र तिम्रो बारेमा सबै कुरा भन्नुपर्छ विगतदेखि यो पेसामा आउँदा सम्मको ।’ सिरियस भएर भोलाले भन्छ ।

‘मेरो बारेमा जानेर के गर्नुहुन्छ सर । धेरै कहालीलाग्दा छन् मेरा विगत ।’

‘म जन्मेको केही दिनमै बाबु बितेछन् । थाहा पाउने भएदेखि सौतेनी बाबुसँगै थिए । दश वर्षको हुँदा आमा काममा गएका बेलामा मलाई बलात्कार गरे उनै सौतेनी बाबुले । यो क्रम जारी रह्यो । हदै भएपछि घर छाडेर मामाघर गएँ । सौतेनी बाबुको कुकर्म सबै बताए । मामाले त्यस घरमा जानु पर्दैन भन्नुभयो र त्यहीँ मामाघरमै बसेर पढ्न थालेँ । पन्ध्र वर्षको थिएँ होला । बजार घुमाउन लान्छु भनेर होटेलमै लगेर मामाले पनि बलात्कार गरे । जसलाई भगवान्को दर्जा दिएको थिएँ । त्यसैबाट फेरि पनि पटकपटक बलात्कार हुन पुगेँ । त्यसपछि मामाघरबाट भागेर यहाँ धनगढी गाउँकी दिदीको घरमा आएर बसेँ । के थाहा म अभागिनीको जहाँ गए पनि सधैँ दुःख नै लेखिएको रहेछ भन्ने । दिदी पनि यही देहव्यापारमा लागेकी रहेछिन् । बिस्तारै बिस्तारै मलाई पनि उनले यही पेशामा ल्याइन् । अब मैले चाहेर पनि यस दलदलबाट निस्कन सक्दिनँ । उन्नाइस वर्षकी भएँ सबैले चमेली भनेर चिन्छन् मलाई ।’ उनको आँखामा छचल्किएको आँसु प्रस्ट देखिराखेको थियो ।

चमेलीको पीडा सुन्दासुन्दै भोलामा एक प्रकारको विद्रोह जाग्छ । अनि एउटा अठोट गर्छ कि जसरी हुन्छ चमेलीलाई यस नर्कबाट निकालेर एउटा स्वतन्त्र वातावरणमा खुल्ला भएर बाँच्न दिने ।

‘म तिमीलाई यस नरकबाट निकाल्छु । तिमी मेरो विश्वास गर्छौ भने भोलि म बिहानै काठमाडाँै जाँदैछु, तिमी पनि मसँगै हिँड । म तिमीलाई मान्छे बनाउँछु । मलाई थाहा छ तिमी आफ्नै मान्छेहरूबाट पटकपटक ठगिएका छौ । अझ पुरुषहरुबाट । तर, अन्तिम पटक मेरो विश्वास गर । हुन्छ भने म तिमीलाई भोलि बिहान आठ बजे बसपार्कमा कुरिरहन्छु ।’ आग्रह गर्छ भोला ।

***********

‘जन्मदिनको शुभकामना अनिता र साथमा तिम्रो न्यू मुभीको कन्ट्रयाक्ट एमाउन्ट पन्ध्र लाख !’ भोला अनिताको बेडको छेउमा गएर बस्छ ।

कोठामा आत्मीय लाग्ने सुवास छरिन्छ । मैनबत्ती बालेर अनितालाई केक काट्न लगाउँछ र ऊ आफू जन्मदिनको गीत गुनगुनाउन थाल्छ ।

केकको आधी टुक्रा भोलालाई खुवाएर उनले भोलालाई जोडले समाती आँखा उठाएर भोलाको आँखामा अड्याइ, मानौँ अनिता भोलालाई उनको आँखामा छरिएको भाव पढ्न आग्रह गर्दैछिन् ।

‘आज म फेमस एक्टर भएको छु । मेरो एक झलक पाउन मान्छेहरू बाटोमा भिड लाग्छन् । आज म करोडको घरमा बस्नेदेखि करोडको गाडी चढ्छु । मेरो ठुलाठुला सेलीब्रेटीहरुसँग उठबस हुन्छ । तर आज म जे भएको छु त्यो सब हजुरको देन हो । म एउटा देहव्यापारमा लागेकी केटीलाई त्यस नरकबाट उठाएर यो स्थानसम्म ल्याउने मात्र हजुर हो भोला । आज हजुर मेरो श्रीमान् मात्र नभएर भगवान् पनि हो । हजुर जस्तो श्रीमान् मैले यस जुनीमा मात्र नभएर प्रत्येक जुनीमा हजुर नै पाऊँ ।’ भन्दै भोलाको खुट्टा ढोक्छिन् ।
‘त्यस्तो केही होइन । मात्र मैले तिमीलाई सही बाटो देखाएको मात्र हुँ । बाँकी सब तिम्रो आफ्नै हार्ड वर्क र लकले गर्दा हो । अर्को कुरा तिमी जस्तो श्रीमती पाउनु पनि म आफूलाई भाग्यमानी सम्झन्छु नि !’ भन्दै अनिताको निधारमा माया गर्छ ।

‘हेल्लो म्याडम, आज बेलुका हजुरको बर्थडे पार्टी राखेका छौँ होटल हायातमा । सबै भिभिआइपी आउनुहुन्छ । त्यही हजुरलाई अवगत गराउन भनेर बिहानै डिस्टर्ब गरेको ।’ फोनमा कसैले भन्छ ।

‘सरी भोला हजुरलाई भन्नै भुलेछु । आज बेलुका पार्टी छ मेरा जन्मदिनको । सो प्लिज मेरो लुगाहरु मिलाइदिइ राख्नु । म दिउँसो आएर फ्रेस भएर जान्छु ।’ भन्दै हतार हतार डान्स क्लासको लागि निक्लिन्छिन् अनिता ।

बिचरा भोलाले कत्रो सरप्राइज दिन्छु भनेर धुलिखेलमा रुम बुक गरेको थियो । अनिताको बर्थडे सेलिब्रेसन गर्ने भनेर !

ऊ खुरुखुरु अनिताको बेलुकाको लागि लुगा आइरन गर्नतिर लाग्छ ।

**************

चमेलीबाट अनिता बनाएर धनगढीबाट काठमाडौँ ल्याएको थियो भोलाले । अनिताको चाहना अनुरूप पढाइदिएर । इन्डियामा एक्टिङ कोर्स गराएर एउटा सफल नायिका बनाउँदासम्म उसको घरखेत समेत बैँकमा राख्नु तथा सबै परिवारको विरुद्धमा आफ्नो जीवनसाथी बनाएको थियो भोलाले । अनिताको इच्छा र उनको सफल भविष्यको लागि भोलाले अनेकौँ दुःखकष्ट सहेर पनि आज अनितालाई सफल बनाउन पाउँदा ऊ धेरै खुसी छ ।

एउटा सफल नायिका हुन अविवाहित हुनपर्छ भनेर अझैसम्म समाज र यो फिल्मी क्षेत्रमा भोला अनिताको श्रीमान् नभएर उनकै सेक्रेटरी बनेर बसेको छ भोला त्यो पनि अनिताकै अनुरोधमा । मिडियामा तथा पत्रपत्रिकामा अनिताको अरू हिरोहरूसँगको अफेयरका बारेमा अनेकौँ कुरा छापिराख्दा पनि भोलालाई आफ्नो अनिताप्रति पूर्ण विश्वास थियो । लेटनाइट, सुटिङको लागि कैयौँ दिन काठमाडाँै बाहिर जानुपर्दा पनि भोलाले कहिल्यै शंका गरेन अनितालाई ।

पार्टीहरूमा जाँदा होस् वा कुनै मिडियामा इन्टरभ्यू दिँदा भोलालाई एउटा इमान्दार सेक्रेटरीको रुपमा परिचय गराउँथिन् अनिताले । पार्टीबाट घर फर्कँदा ड्रिङ्क बढी भएर हिँड्न नसक्दा पनि भोलाले सहारा दिएर घर ल्याउँथ्यो । भोला आफू कहिल्यै रक्सी नखाने भए तापनि कहिल्यै विरोध गरेन अनितालाई ।

‘हेल्लो भोला मेरो लुगा रेडी छ हैन ? म बाटोमा छु । मलाई अल्रेडी लेट भइसकेको छ’ भन्दै फोनमा भन्छिन् ।

‘भोला आज म कस्ती देखिएकी छु । हजुरले तयार पारिदिएको लुगा लगाएर म जहाँ पनि जान्छु । त्यो काम मेरो सधैँ सफल भएको हुन्छ ।’ खुसी भएर ऐना अगाडि मेकअप गर्दै भन्छिन् ।

‘ल राम्रोसँग खाना खाएर आफ्नो केयर गर्नु । मलाई आउन कति टाइम लाग्छ थाहा छैन । मलाई वेट गर्नुपर्दैन ।’ अनिता गाडीको ढोका लगाउँदै भन्छिन् ।

भोला हात हल्लाइराखेको हुन्छ टाढा पुगुन्जेलसम्म अनितालाई ।

अनिताको अनुहारमा खुसी देख्नलाई जेजस्तो त्याग गर्न पनि भोला सधैँ तयार हुन्छ । थाहा छैन किन यति बिघ्न माया गर्छ अनितालाई भोला ।

बिस्तारै बाहिर पानी पर्न सुरु गर्छ । भोलालाई पढ्ने मन नहुँदानहुँदै पनि आँखाहरु किताबका पानामा लगेर अड्कायो उसले । चियाको चुस्की लिँदै समयलाई छोट्याउन थाल्छ । बाहिर बिस्तारै रात पर्न सुरु गर्दैछ । झरीले निकालेको एक प्रकारको धुन बोकेर रात भोला बसेको सेटिङ रुममा छिर्छ ।

आज अनिताको बर्थडे पार्टीको लाइफ प्रोग्राम दिँदैछ टिभीमा । भोला घडी हेर्दै हतारहतार टिभी अन गर्छ । सबैका माझ घेरिएकी अनितालाई देख्न पाउँदा ऊ आफैँ दंग पर्छ । त्यत्तिकैमा एक जना व्यक्ति स्टेजमा चढ्ेर एनाउन्स गर्छ ।

‘आज मिस अनिताको बर्थडे पार्टी सँगै अर्को एउटा ठुलो सरप्राइजको पर्दाफास हुँदैछ । सबैको मनमा लागेको खुलदुली आज मेटिँदैछ । आज मिस अनिता र मिस्टर अनुप आजबाट सधैँका लागि एक हुँदै हुनुहुन्छ । हाम्रो फेमस नायकनायिकालाई सधैँ फिल्ममा मात्र जोडी भएको देख्ने हामी अब रियलमा पनि कपलको रुपमा देख्न पाउनेछौँ ।’ भन्दा सबैजना ताली पिट्छन् ।

नायक अनुपले र नायिका अनिताले एकअर्कालाई रिङ लगाइदिन्छन् ।

भोला त्यो सब टिभीमा लाइभ हेरिराखेको हुन्छ । परिस्थितिले निर्माण गरेको यात्रामा फेरि आज ऊ ….. ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.