~अभय श्रेष्ठ~
१
तोरीको तेल लगाएर चपक्क कोरिएको कपाल, कुकुरबङ्गाराभन्दा वरका दुवैतिर हलुका अगाडि बढेका दाँतको अनौठो आकर्षण, खुइलिँदै गएको आकाशे रङको सफा बुसर्ट र नीलो पाइन्ट अनि हातमा एक भारी किताब । सुवास नामधारी यो बालकको हुलिया उसको नामसँग केही हदसम्म मिलेको मान्न सकिन्थ्यो ।
डुन्डोरको डरलाग्दो भीरमा उभिएर ऊ तल गहिरो खोलातिर हेरिरहेको थियो । मलाई देख्नेबित्तिकै उत्सुकताको भावले उसका आँखामा एकाएक उज्यालो चम्कियो । मानाँै, हराएको उसको चिठीको जबाफ आयो ।
‘अनि छ नि अंकल, इन्द्रेको परिवारलाई नगरपालिकाले अस्ति नै ५० हजार रुप्पँे दियो । वडाअध्यक्ष अंकलहरू आउनुभ’थ्यो । पछि सरखारले पनि १० लाख दियो रे,’ मेरा आँखामा आँखा नचाउँदै उसले भन्यो ।
‘ऊ मरे पनि उसको परिवारलाई त फाइदै भयो नि, हैन अंकल ?’ उसले यसरी भन्यो मानौं भर्खरै एउटा नयाँ कुरा पत्ता लागेको छ ।
म हैरान भएँ । यस्तो प्रश्नमा अब म के प्रतिक्रिया जनाऊँ !
‘ए हे, पत्रकार भ’र नि तपाईंलाई केई था’ छैन ? पत्रकारलाई त सप्पै कुरा था’ हुन्छ रेन्त ! साँच्चि, तपाईंंलाई केई था’ छैनं ?’ उसले मेरो नाकतिर औँला तेस्र्याउँदै सोध्यो ।
गाउँमा यदाकदा मात्र देखे, भेटेको, खासै बोल्लाजस्तो नलाग्ने, सामुदायिक स्कुलमा पढिरहेको करिब १० वर्षे यो केटो टेपरेकर्ड अन भएझैँ यति बोलक्कड होला भन्ने मैले कहिल्यै सोचेको थिइनँ । कुरैकुरामा ऊ आफू साक्षी भएको एउटा घटनाको वृत्तान्त सुनाउन थाल्यो जसको सम्बन्ध ऊ भीरको थाप्लामा उभिनुसँग थियो ।
२.
इन्द्रे र मो त्यो दिन तल बिर्खमान्या पसलबाट आलु, प्याज र चाउचाउ किनेर फर्किरहेको थियो । माथि सल्लाघारीको दोबाटोमा हिँडिरहँदा एक्कासि ऊ चिच्यायो । पछाडि फर्केर हेर्दा पहेँला र सेता थोप्ला भएको ठूलो वन–बिरालाजस्तो ज्यांगोले उल्लाई तानेर लग्यो । त्यल्ले इन्द्रेको छातीनेर बुसर्टमा मुखले च्यापेको थियो । उल्ले बोकेको झोला त्यहीँ खस्यो । आलु र प्याज छ्याल्लब्याल्ल हुँदै तलतिर गुड्दै गोयो । चाउचाउको प्याकेट भने त्याहीँ अडियो । अनि मोइले एक्कासि ऊ चिच्याएको सुन्यो । ‘मेरो चाउचाउ’, अन्तिमपल्ट उल्ले यति भन्न भ्यायो । उल्लाई चाउचाउ खुपै मोन पथ्र्यो । घरको मकै, भोटमास र साग त उल्लाई मोनै नपर्ने । अनि त बिरालाले त्यस्तरी घिच्याउँदा पनि उल्लाई आफ्नो ज्यानभन्दा चाउचाउको माया लागेको होला । ऊ चिच्याउँदाचिच्याउँदै बिरालाले उल्लाई भुइँमा राख्यो र घाँटीमा टोक्यो । उसको घाँटीबाट पिचकारीबाट पानीजस्तै निस्केको रगतको सिर्काले वरिपरिका बुटयान लछप्पै भयो । एकैछिनमा उसको आवाज चामचुम्म भयो । मोइले उल्लाई जोडले बोलायो, ‘इन्द्रे ! तेरो चाउचाउ मो ल्याइदिन्छु, तँ जसरी नि भागेर घरतिर जा !’ अहँ ऊ बोलेन । एकै छिनमा बिरालो र ऊ दुवै गायब भइसकेको थियो । ‘इन्द्रेलाई बिरालाले लग्यो’ भन्दै मो चिच्याउँदै रुन थाल्यो ।
एकै छिनमा चारैतिरबाट मानिसहरू ओइरियो । मोइले सबै बताइदियो । मेरो कुरा सुनेर एक जना पाको मान्छेले मोलाई हकार्यो, ‘मूर्ख बच्चो, बिरालाले पनि मान्छे लान्छ त ? चितुवा हो कि बाघै होला बरु !’
चाउचाउका दुई पोका अझै त्यहीँ थिए । सँगै प्लास्टिकको रातो झोला थियो । मोइले उसको चाउचाउ त्यही झोलामा हाल्यो अनि देब्रे हातमा झुन्डयायो । अलिकति माथिपट्टि भुर्इँ र धसिङ्गारेको पातमा रगतको सिर्का देख्यो । त्योभन्दा माथि मिचेको उन्युघारीमा उसको रगत पोतेको देख्यो । त्योभन्दा उत्तर–पूर्वपट्टि बाघ र ऊ गायब भ’को दिशातिर मोइले देखाइदियो । मानिसहरू सिट्टी बजाउँदै, ताली पड्काउँदै हाउट हाउट भन्दै उल्लाई खोज्दै हिँ्ड्यो । एकै छिनमा पुलिसहरू आयो । सेना पनि आइपुग्यो । गाउँलेहरू बन्दुक बोकेका सेनाको पछाडि लागेर हिँड्न थाल्यो । पुलिसहरू त्याहीँ घेरा दिएर बस्यो । सेनाले बालबालिका, महिला र बूढाबूढीलाई माथि जंगलतिर जान रोक लगायो । बलिया केटाहरू र मोलाई मात्र तिनको पछिपछि हिँड्नू भन्यो ।
एकै छिनमा अँध्यारो भयो । सबैले हात हातमा टर्च ले’थ्यो । टर्च नहुनेले पनि मोबाइलको टर्च बाल्या’ थ्यो । इन्द्रेको बाबु केही बोल्न सकिरहेको थिएन । सुँक्कसुँक्क गर्दै नाक बजाइरको थ्यो । जंगलको शिरदेखि पुछारसम्म र पुछारदेखि शिरसम्म चारैतिर धुइँपत्ताल खोज्दा पनि कतै पत्तो लागेन । रातिको ११ बजिसकेको थियो ।
अब जंगलभन्दा अलिमाथि खुला ठाउँमा चारैतिर खोज्न थालियो । जंगल सकेर जाँदा सानो चौर आयो । त्यसमाथि एउटा कान्लो र त्यसमाथि ठूल्लो चौर थियो । चौरको बीचतिर कालो केही चीजजस्तो देखियो । सेनाले टर्च लगाएर हेर्यो । अघि इन्द्रेलाई लाने त्यही बाघ मोइले देख्यो । त्यसका आँखाहरू टललल्ल बलिरहेको थियो । सेनाले सबैलाई सतर्क रहनू भन्यो । ‘चितुवा नै रहेछ, गाउँघरमा चितुवालाई नै सबै जना बाघ भन्छन्,’ सेनाको हाकिमले भन्यो, ‘खबरदार, गोली नहान्नू ।’ अझ नजिक जाँदा देखियो, त्यो आफ्नो सिकारको मासु लुछिरहेको थियो । सेनाहरू हाउट भनेर कुर्लियो । बाघले टेर्दै टेरेन । त्यसपछि हाकिमले आकाशतिर फर्काएर बन्दुक पड्कायो । बाघ अलि हच्कियो । दोस्रोपल्ट पड्काएपछि त्यो सिकार घिच्याउँदै भाग्न खोज्यो । सेना दौडेर त्यता लागेपछि सिकार छाडेर बाघ लस्किँदै तल पाखातिर ओर्लियो ।
बाघले इन्द्रेको छाती प्वाल पारेर मुटु, कलेजो र देब्रे खुट्टा खाइसकेको र’च । उसको आन्द्राभुँडी असरल्ल परेर बाहिर निस्केको थ्यो । घाँटीमा गहिरो प्वाल थ्यो । इन्द्रे मुख आँ गरिर’को थ्यो । यस्तो लाग्थ्यो, बोल्दाबोल्दै उसको प्राण उडेको थ्यो । इन्द्रेको आप्पो (बाउ) छिनमै लास समातेर क्वाँक्वाँ रुयो । उसको बाबु त्यसरी रुएको मोइले कहिल्यै दिखेको थिएन । त्यो सुनेर मोलाई पनि एक्कासि रुन आयो । मो पनि छाती पिटीपिटी रुयो । भोलिपल्ट गाउँमा बाघले बच्चा खाएको भोनेर साराले हल्लीखल्ली गर्यो । हस्पतालमा चिरेको उसको लास गाउँ ल्यायो र सर्जिमिनपछि मानेदोभानमा गाडयो । बेलुकीपख मोइले इन्द्रेका घरमै गएर उसको आप्पोलाई चाउचाउको झोला थमाइदियो । लाटाले केरा हेरेझैँ हेरिरहयो, बल्ल आप्पोले झोला समायो र फेरि ट्वाल्ल परिरहयो । एकै छिनमा क्वाँक्वाँ रुयो ।
त्यसपछि प्रत्येक दिन बेलुकीपख हाम्रो गाउँमा बाघ गर्जन थाल्यो । मान्छेको मासु खाएर बाघ पल्किन्छ भन्थ्यो, हो र’छ । अनि त साँझ पर्नेबित्तिकै गाउँका सबै जना ढोका थुनेर बस्न थाल्यो ।
इन्द्रेलाई बाघले खाएको तेह्रौँ दिन वडाअध्यक्ष र वडा कार्यालयका अंकलहरू आउनुभो । सानोतिनो भाषण गर्नुभो । गरिब र दु:खीलाई सघाउने कुरा सुनाउनुभो । त्यसपछि नगरपालिकाका तर्फबाट राहतस्वरूप एक लाख रुप्पेँ हस्तान्तरण गर्नुभो । १० लाख रुप्पेँ दिन सरखारलाई सिफारिस गरिसकेको पनि सुनाउनुभो ।
भुइँचालाले हाम्रो पनि घर भत्केको थ्यो । जस्ताको पाताले बारेको बंकरजस्तो गोलो सानो छाप्रामा हाम्रो बास थियो । गाउँलेहरू सोप्पै जना यस्तै छाप्रोमा बसिर’को थ्यो । एक दिन गाउँभरि हल्ला चल्यो, सरखारबाट इन्द्रेको आप्पोले दस लाख रुप्पेँ पनि पायो रे । त्यसको केही दिनमै उसको घर बनाउने सामान आउन थाल्यो । अनि केही दिनमै जग खन्न सुरु गर्यो ।
यो कुरो सुनेपछि दिनैजसो आसु (सानीआमा) आप्पोलाई किचकिच गर्न थाल्यो । आसु आप्पोलाई दिनैजसो भनिरन्थ्यो, ‘एउटा घर बनाउन नसक्ने नामर्दले यत्रो खान स्वास्नी ल्याइस् ? फलान्थोक गर्न बच्चा जन्माइस् ? अब हामी सप्पोईलाई घाँटी थिचेर मार्दे ज्यानमारा !’ आसुले आप्पोलाई टाटिटिक्न दिएन । आप्पो र आसुको सधैँ रडाको पर्न थाल्यो । आसुको कुरो पनि एक मनले ठीकै थियो । आप्पोले गाउँले दलालको कुरो मानेर घरअगाडिको पाखोबारी तल्सिङे चोरलाई फिरीबराबर बेचिदियो । त्यो पैसा भट्टीमा खोयाबिर्के खा’को र अरू के के ऋण तिरेर त्यसै सकायो ।
उता, घर भत्के पनि सरखारले भूकम्पपीडितको लिस्टमा हाम्रो आप्पोको नामै निकालेन । नाम ननिकालेपछि ढेवा (पैसा) पनि दिएन । नगरपालिकाको वडा आफिसमा काम गर्ने गाउँकै दिदी र इन्जिनियर आएर भत्केको घरको फुटो फेरि खिचेर लग्यो । फेरि पनि नामै निकालेन । ठूल्ठूला बिल्डिङ चोख्खै हुने र गोठ मात्रै भत्केका मान्छे जति सप्पैको नाम निकाल्यो । तिनेर्लाई सरखारले पैसा पनि दियो । आप्पोको नाम निस्केको भए ५० हजार रुप्पे पाउँथ्यो । त्यो पैसोले जग खनेर काम सुरु गर्दा सरखारबाट अरू पैसा पनि पाउँथ्यो । बनाइसकेपछि तीन लाखै पाउँथ्यो रे । त्यसो भ’को भए आप्पोको यो दशा देख्नुपर्दैनथ्यो होला । सरखारका मान्छेसँग बाझ्न नसकेको भनेर फेरि आसुले आप्पोको टाउको खान थाल्यो । आसु यसरी अनेक कुरा निकालेर कलह मच्चाउँथ्यो । अनि आप्पो पनि रिसले आसुलाई दुईचार लात्ती दन्काएर हिँडिदिन्थ्यो । अनि त आसु कोकोहोलो मच्चाइहाल्थ्यो । उसको लोग्नेको रिस मोमाथि पोख्थ्यो । ‘मोर्न नसक्या छेराउटी’ भनेर मोलाई ढुंग्राले मोर्नेगरी डँडाल्नोमा हिर्काउँथ्यो । आप्पो कहिलेकाहीँ त दुईचार दिनै आउँदैनथ्यो । जब आउँथ्यो, आसु काखको सानो आले (भाइ) लाई पिटेर, भुइँमा पछारेर बबाल मच्चाउँथ्यो । अगाडि पर्यो कि मोलाई हिर्काउँथ्यो । यो अशान्तिले मो वाक्कदिक्क भयो । आप्पो आजित भएर खुइया गर्दै कोदाली बोकेर बारीतिर जान्थ्यो ।
भूकम्पपीडितको लिस्टमा पहिले इन्द्रेको आप्पोको पनि नाम निकालेको थिएन । इन्द्रेलाई बाघले खाएपछि निकाल्यो त ! सरखारबाट उल्ले पचास हजार र पछि डेढ लाख पनि पायु रे । घर बनिसकेपछि अर्को एक लाख पनि पाउँछ रे । ओहो, हाम्रो आप्पोको नाम मात्रै कता हराइदे’को होलान् !
एक दिन आप्पोलाई मोइले साउतीको स्वरमा भन्यो, ‘धन्ना नमान्नोस् आप्पो, मो एउटा उपाय गर्छु ।’
एक छिन अवाक् भएर आप्पोले मोलाई अनौठा आँखाले हेरिरहयो । अलिकति हाँस्यो पनि । ‘के उपाय गर्छस् ?’ बल्ल आप्पोको बोली फुटयो ।
‘आसु (सानीआमा) सधैँ तपाईंंलाई किचकिच गरिरन्छ नि, हो त्यसकै उपाय भनेको ?’
‘तेरी आमा नखसेको भए यो दिन देख्नुपर्दैनथ्यो होला । उल्ले मोलाई कत्ति ढाडस दिन्थ्यो ! मो यसोरी खोयाबिर्के पनि खाँदैनथ्यो । तेरो आसु सारै छुच्चो छ, के गर्छस् बाबु ? घर भनेको त्यसै बन्छ र ? ढेवा चाहिएन ?’
‘त्यही त भनेको नि ! मो त्यही उपाय गर्छु भनेको नि !’
आप्पो फेरि हाँस्यो । ‘हैन, के उपाय गर्छस् तँ प्युसाले ?’
‘हेरिराख्नुस् न, प्युसा भनेर नहेप्नुस्, मो केही न केहीचाहिँ गर्छु । तर, ऐल्यै भन्दिनँ ।’
‘लौ भइहाल्यो, तँ राम्ररी पढेर ठूलो मान्छे भएस्, जागिर खाएस् । मोइले जस्तो छयाङ र खोयाबिर्के तन्काउनी बानी नगरेस् । अनि घर बनाउलास् । अबो यही एउटा आशा त बाँकी छ नि ! हेर् है, पढ्नचाहिँ नछाडेस् बाबु, तोइले जसरी नि धेरै पढ्नुपर्छ । कुलको र गाउँकै इज्जत राख्नुपर्छ । राम्ररी पढिस् भने मोइले जस्तो दु:ख तोइले भोग्नुपर्दैन, बुझिस् त ?’
‘बुझ्यो आप्पो !’
इन्द्रेलाई बाघले खाएपछि गाउँलेहरू त्यो बाटो हिँड्नै छाडेको थियो । गाउँलेहरू त्यही बाघ बिमन्डेर हिँडिरहेको कुरा गथ्र्यो । त्यसपछि मो सधैँजसो स्कुल छुटेर आउँदा त्यही बाटो हिँड्न थाल्यो । अँध्यारो हुन्जेल पनि मो त्याहीँ बस्थ्यो । मोलाई खोज्न आउने कोही थिएन । पसल जाँदा पनि त्यही बाटो हिँड्थ्यो । मो ढुक्कले त्याहीँ बस्थ्यो । अनि थकित भएर घर फर्कन्थ्यो । मो त्यो बाटो जति हिँडे पनि, जति बसे पनि त्यो बाघ कहिल्यै आएन । त्यसपछि मो बाघले इन्द्रेलाई घिच्याउँदै लगेको बाटोतिर हिँड्न थाल्यो । उल्लाई बाघले खाइर’को ठाउँमा पनि कति बस्यो ! अहँ, बाघले मोलाई पत्याउँदै पत्याएन । यो जंगल र त्यो जंगल त बाघको केटी फकाउन आउने, चिया खान जाने ठाउँ त हो नि भनेर मो यता जंगलमा पनि राति अबेरसम्म बस्न थाल्यो । अहँ, बाघ यता पनि आउँदै आएन । मोलाई अहिले लागिरहन्छ, इन्द्रेको साटो बाघले मोलाई किन खाएन ? आखिर हामी सोँगै हिँडिरहेको त थियो नि ! अनि मोलाई नछोई उल्लाई मात्र किन खायो ? सायद मो यो दुनियाँकै सबैभन्दा अभागी बच्चो थियो ।
३.
यो सानो बालकको कथा सुनेर मलाई एक्कासि म उभिएको जमिन भासिएझैँ लाग्यो । अझ, त्यसपछि उसले जे भन्यो, त्यो सुनेर त मेरो सासै रोकिएलाजस्तो भयो ।
‘आसुलाई इन्द्रेको बाबुले जस्तै घर नबनाई भ’को छैन । आप्पोलाई कमाको पैसो छयाङ र खोयाबिर्के तान्दैमा ठिक्क छ । मोलाई जसरी नि दस लाख रुप्पेँ आसुको हातमा थमाउनु छ । अनि भूकम्पपीडितको लिस्टामा आप्पोको नाम निकाल्नु छ । तर, बाघले मोलाई खाँदैन जस्तो छ अंकल । मो थाकिसक्यो । वाक्कोदिक्को भइसक्यो । यो कुरा कसोईलाई नभन्नुहोला, तपैंलाई मात्र भन्छु । त्यसपछि नै मो भीरपाखा चहार्दै हिँड्न थालेको । तर, एउटा कुरा मोलाई था’ भएन, भीरबाट खसेर बच्चा मोर्यो भने सरखारले दस लाख रुप्पेँ दिन्छ कि दिँदोइन ?’
यस्तो मर्मभेदी प्रश्नमा म के जवाफ दिऊँ ? अकास्मात्, मेरा आँखाबाट बरर्र आँसुको झरी बर्सियो । बल्लबल्ल आँसु रोकेरे मैले उसका आँखामा हेरेँ जसमा मेरो देशको भविष्य झल्किरहेको थियो । मलाई लाग्यो, एउटा बालकको भेषमा मेरो देश मसँग आत्महत्याको मूल्य सोधिरहेछ ।
हरे, मेरो देशलाई म कसरी आत्महत्याबाट जोगाऊँ ?
avaya.writes@gmail.com
प्रकाशित : मंसिर १, २०७५ ०९:३८
(स्रोत : कान्तिपुर-कोसेली)