निबन्ध : पर्यावरण संरक्षण र हामी

~सुवास दीपक~

सामान्य तौरमा पर्यावरणको अर्थ हामी रूख-पात, वन-जङ्गल, हावा-पानी, ओजोज होल, भूमण्डलीय तापक्रममा वृद्धि, आणविक अस्त्र-शस्त्र, ठूला-ठूला बाँधहरूको निर्माण आदिको परिभाषाभित्र निकाल्ने गर्छौं। यो अन्धाहरूले हाती छामेजस्तो हो। तर मेरो आफ्नो पर्यावरण, मेरो वरिपरिका समस्त सजीव र निर्जीव प्राणी र पदार्थहरूको उपस्थितिको मेरो समग्र जीवन, मेरो जीवन-यापन र स्वास्थ्यमाथि प्रत्यक्ष र परोक्ष, अल्पकालीन अथवा दीर्घकालीन प्रभाव पर्छ। त्यस्तै प्रकारले मेरो उपस्थितिले मेरो वरिपरिका समस्त सजीव र निर्जीव प्राणी र पदार्थहरूमाथि कति र कस्तो प्रभाव पर्छ, त्यस वास्तविक तथ्यबारे पनि हामीले अवगत हुनु जरुरी छ।

एक्काइसौं शताब्दीमा पाइला टेकिसकेको मानवले आज यहाँ आफ्ना ज्ञान र कौशलले प्रकृतिका रहस्यहरूबारे असीमित जानकारी प्राप्त गरेर ती रहस्यहरूमार्फत् आफ्नो जीवनलाई सुखमय बनाउनमा सफलता प्राप्त गरेको छ, त्यहाँ मानवले आफ्ना कतिपय भूल र अज्ञानले प्रकृतिको सनातन क्रमलाई असन्तुलित बनाइदेकोले आज मानव अस्तित्वमाथि गम्भीर सङ्कट उत्पन्न भएको छ।

पृथ्वीमाथि आज पाँच अर्बभन्दा ज्यादा मानिसहरू बसोबासो गर्छन्। जीवविज्ञानअनुसार मान्छे सृष्टिको सबभन्दा डरलाग्दो परजीवी प्राणी अर्थात् प्यारासाइट हो जसको सबभन्दा कम उपयोगिता छ। सृष्टिको सन्तुलन यति व्यवस्थित छ, यति विराट रूपमा यसको अस्तित्व एकार्कासित जुडेको छ कि कतै पनि छुँदा समस्त ब्रह्माण्ड कम्पित हुन जान्छ। कुनै पनि प्राणीको वध गर्नाले कुनै अर्को जीव-वंश आफैआफ नष्ट भएर जान्छ। सुन्दा यो एउटा शब्द-विन्यासजस्तो लाग्छ तर यो आजको युगको वैज्ञानिक सत्य हो कि जब पनि कुनै एउटा रूख ढल्छ, कतै कुनै ठाउँमा बादललाई पर खेदिएको हुन्छ, असङ्ख्य चरा-चुरुङ्गी, किरा- फटेङ्ग्राहरूका आश्रय खोसिएका हुन्छन्। एउटा पुतली समात्दा त्यो मरिहाल्छ तर त्यसको मृत्युका साथसाथै कतै कुनै फूलको फक्रिने सम्भावना सधैँ-सधैँका लागि समाप्त भइसकेको हुन्छ।

यो पृथ्वी अपार संसाधन र सम्पदाहरूको अक्षय भण्डार हो। शुरुदेखि नै मानव र अन्य प्राणी पृथ्वीमा उपलब्ध पदार्थहरूको उपभोग गर्दै आएका छन्। यी पदार्थ अर्थात् संसाधनहरूको उपभोग शुरुमा मानव तथा अन्य प्राणीहरू जीवित रहनका लागि गर्थे तर सभ्यताहरूका विकासका साथसाथै यी संसाधनहरूको अनियन्त्रित तथा अनावश्यक उपभोगले पृथ्वीमा जीवनदायी संसाधनहरूको कमी हुन गइरहेको छ।

समग्र परिप्रेक्ष्यमा हेर्दा पर्यावरण असन्तुलनका उत्तरदायी तत्वहरूमध्ये वायु प्रदूषण, ध्वनि प्रदूषण र परमाणु विखण्डन प्रदूषण हुन्। थर्मल कोलआधारित विद्युत संयन्त्रहरूबाट फ्याँकिएको फ्लाइ-ऐश, रसायनिक कीट नाशक, पोलिथिनजस्ता पदार्थहरू, जो जैविक रूपमा नष्ट हुँदैनन् र माटो, पानी आदिमा प्रतिकूल प्रभाव पार्छन्, आणविक रिएक्टरहरूबाट निकालिएका खतराजनक कचरा, इलेक्ट्रोनिक तथा माइक्रोवेभबाट विषाक्त ग्यास तथा रसायनहरू, रेडिएसन आदि वायुमण्डलमा बढ्दै गइरहेकोले पर्यावरणमा अत्यधिक असन्तुलन उत्पन्न भइरहेको छ। पर्यावरणको परिभाषामा यस्ता तत्वहरू पनि छन् जसमाथि प्राय उति ध्यान दिँइदैन। ती हुन्, नैतिक, सांस्कृतिक र समाजगत आयामहरूसित सम्बन्धित गरीबी, निरक्षरता, सार्वजनिक जीवनमा व्याप्त भ्रष्टाचार, मूल्य र जीवन-स्तरमा ह्रास, राजनीतिको अपराधीकरण, दोषपूर्ण जीवन-प्रणालीले उब्जाएका विसङ्गतिहरू, कालो धनको समानान्तर अर्थ-व्यवस्था, महिलाहरूमाथि अत्याचार, विचारधारा, धर्म र लिङ्गका नाममा पक्षपात, सामाजिक प्रतिभा विकासमा दमन, उचित वातावरणको अभाव आदि अवरोधक तत्वहरू।

कुनै पनि राष्ट्रको समग्र पर्यावरणमाथि बाह्य तत्वहरूको प्रभाव पर्छ – जसरी राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डतामाथि आइपर्ने खतरा, ठूला राष्ट्रहरूले लगाएका आर्थिक, व्यापारिक र तकनीकी प्रतिबन्ध, स्वायत्त निर्णय लिने क्षमतामाथि खतरा तथा बढ्दो आतङ्कवादजस्ता समस्याहरू पनि पर्यावरण असन्तुलनमा सहायक सिद्ध भइरहेका छन्। प्रकृतिका कार्यकलापमा हस्तक्षेप बढ्दै गइरहेको छ। वेद, पुराण, बौद्ध, जैन शास्त्रहरूमा समस्त जड-चेतन प्राणीहरूसित, सृष्टिको प्रत्येक प्राणीसित सम्मानको भावना राख्ने सिद्धान्तहरूको उल्लेख पाइन्छ। प्राकृतिक संसाधनहरूको उपभोग पोषणका लागि हुनुपर्छ, शोषणका लागि होइन. रूख-पात, उद्भिद्, जीव-जन्तुको सुरक्षाबिना पर्यावरणको कुरा व्यर्थ छ। उपभोग र पर्यावरणमाझ एउटा सार्थक सन्तुलनको आज हामीले पुनर्रचना गर्ने समय आएको छ। बितेको शताब्दीको आठौं दशकमा प्रथमपल्ट अन्तराष्ट्रिय स्तरमा पर्यावरण र पारिस्थितिकीको विघटनमाथि चिन्ता व्यक्त गरियो। 1982-मा संयुक्त राष्ट्र मानव पर्यावरण सम्मेलनमा पर्यावरणीय चुनौतीहरू र प्राकृतिक संसाधन प्रबन्धनका बारेमा विचार गरियो। विश्व पर्यावरण र विकास आयोगले 1987-मा अवर कमन फ्युचर शीर्षकमा एउटा रिपार्ट जारी गरेको थियो जसमा स्थायी विकासका सिद्धान्तहरूलाई लागु गर्ने अपील गरियो. 1989-मा ग्रुप अफ् सेभन राष्ट्रहरूको सहयोगले विश्व मौसम विज्ञान संगठन र संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमले संयुक्त रूपमा जलवायु परिवर्तनका बारेमा एउटा अन्तर्सरकारी समितिको गठन गऱ्यो। 1990-मा यस समितिको प्रथम रिपोर्टमा 21 औं शताब्दीको अन्तसम्म विश्वमा जलवायु परिवर्तनका सामाजिक र आर्थिक परिणामहरूका विभाषिकाको वर्णन गरिएको छ। परिणामस्वरूप 1992-मा रियो दि जेनेरियोमा पृथ्वी र विकासका बारेमा संयुक्त राष्ट्र सम्मेलन डाकियो जसमा 180 राष्ट्रहरूले भाग लिएका थिए। 21 औं शताब्दीमा विश्व समस्याहरूको सामना गर्न रियो घोषणा, विचारणीय विषय जलवायु परिवर्तनमाथि ढाँचागत सम्मेलन, जैव विविधता र वन घोषणाजस्ता ऐतिहासिक दस्तावेजहरूमाथि हस्ताक्षर गरिए।

भारत सरकारले पर्यावरण संरक्षणको दिशामा कैंयन् कानुनहरू बनाए तापनि यस दिशामा जनसाधारणमा बढी जागरुकता उत्पन्न गर्ने काम हुनसकेको छैन। यद्यपि मिडिया र जनसाधारणद्वारा तत्सम्बन्धी विषयहरूको उठान गरी ध्यान आकर्षित गरिएको परिणामस्वरूप देशका विभिन्न भागहरूमा कतिपय कोर्ट-कचहरीमा प्रदूषणसम्बन्धी जनहित याचिकाहरू दर्ता भइरहेछन्। प्रदूषणविरोधी अभियानलाई सफल बनाउन सरकारी नियम र कानुनहरूका अतिरिक्त जनसहभागिता पनि आवश्यक हुन्छ। संसाधन संरक्षण र संसाधनहरूको न्यूनतम उपभोगबाट प्रदूषणमा कमी मात्र हुँदैन तर उत्पादकतामा पनि सुधार हुन्छ भन्ने कुरा प्रमाणित भएको छ। पर्यावरण संरक्षणसित उत्पादकताको अवधारणा पनि यही हो।

(स्रोत : रचनाकार डट कम)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.