~एकादेशको गगनराज~
विद्यार्थीहरू मख्ख पर्छन्, दङ्ग पर्छन्
खुशी हुन्छन्
किनकि,
उनीहरू कनिकुथी कविता लेख्छन्
विद्यार्थीहरू कविता लेख्नलाई
टाउको कन्याउँछन्
कपाल खेलाउँछन्
दाँया हेर्छन्
बाँया हेर्छन्
झ्याल बाहिर हेर्छन्
ढोकातिर हेर्छन्
निधारमा हात राख्छन्
कलमको निब टोक्छन्
शीर्षक पढ्छन्
साथीको कापीमा हेर्छन्
नङ् टोक्छन् र सोच्छन्
अनि,
विद्यार्थीहरू कनिकुथी कविता लेख्छन् ।
एक लाइन लेख्छन्
ओठ टोकेर दलिन हेर्छन्
आँखा चिम्लिएर फेरि सोच्छन्
एक लाइन लेख्छन्
पढ्छन् पटकपटक
आफैँ दङ्ग पर्छन्
जीव्रो निकालेर शिक्षकको मुहारमा हेर्छन्
र, मुसुक्क हाँस्छन् ।
छेवैमा भएको किताब पल्टाउँछन्
हरफ–हरफ हेर्छन्
शब्दार्थहरू पढ्छन्
अभ्यासहरू हेर्छन्
नयाँ–नयाँ शब्दहरू खोज्छन्
किताब बन्द गर्छन्
झोक्रिएर बस्छन् एकछिन्
एउटा शब्द लेख्छन्
फेरि मेट्छन्
हाई काढ्छन्
आँखा मिच्छन्
खुट्टो हल्लाउँदै निधारमा हात राख्छन्
हात हेर्दै, औँला खेलाउँदै
विद्यार्थीहरू कनिकुथी कविता लेख्छन् ।
एकादेशको गगनराज
गजलशिविर, राजधानी