~भूपेन्द्र अधिकारी~
तिम्रा सुनौला हिजहरू
तिम्रा मात्रै भएर बाँचेका वर्तमानहरू
आज हुन सकेनन्
तिमी आफैले
आफ्नै पैतालाले कुल्चिएर
तिम्रो वर्तमानको
निर्मम हत्या गऱ्यौ
तिम्रा सबै आजहरू
नदीको बगरै – बगर लम्तन्न लम्पसार भएर
आकाशको बाक्लो चिसो च्यादर ओढेर
निर्धक्क निदाए
तिम्रा सबै आशा बोकेका आजहरू
सल्लाघारीमा भस्मे फाँडेर
हाँगा – हाँगामा नानीका थाङ्ना भोटाहरू
लहरै सुकाएर
तिम्रो वर्तमान बेपत्ता भयो
तिम्रो वर्तमान भविष्य खोज्दै
त्यतै कतै निस्सासिएर/मुर्छित भएर
दानमा पाएको औशधीका
दुइ दाना गोलीहरूमा निको भयो
तिम्रा राता कौडे भालेहरूले
सधैं झैं तिम्रो आगनमा
बिहानी बोलाएन
तल्लाघरे माइलाको आगनमा
थुप्रै – थुप्रै फुलबट्टे चल्ला चर्दथे माउसित
तिम्रो घरको दलानमा भाले पोथी गौंथलीले
यस वर्ष गुँड़ लगाएन
खलेगरामा तिम्रा दाहानले सधैँ
काँधमा बोकिल्याएको धानका बिटाहरू
यस वर्ष खई कुनुउ देखा परेन
माथिल्लो घरको राई बुढाले
हाम्रो पनि उज्यालो भोलि ल्याइदिनू है भनेको
मलाई हिजैजस्तो लाग्छ
तर तिनका हिजहरू आज भएनन्
तिम्रा वर्तमानहरू भविष्य बनिएनन्
मुर्दा सुत्यो तिम्रा इच्छा – आकाङ्क्षाहरू
तिमी तिमीहरू मिलेर
आ – आफ्ना मरेका हिजहरूका
सधैँ उठेर मलामी गयौ
अनि साँझ फेरि मर्न लागेको
भोलिको अर्धमृत शरीर रुँघेर
लाम लाग्यौ
दक्षिण बग्ने नदीको बगरै – बगर
adhikari.ddn@gmail.com, mobile 09807273741
मई 2011
(स्रोत : रचनाकार डट कम)