लघुकथा : सरकारी चिठी

~हरिप्रसाद भण्डारी~

”अड्डाबाट सरकारी चिठी आएको छ, हिँड्नोस् रे छिटै । तपाईंबाहेक अरू कसैलाई बुझाउन मिल्दैन भनेका छन् हुलाकीले ।” मेलाबाट घरमा अर्नी बनाउन गएकी छोरी तुरून्तै फर्केर आई र भनी ।

छोरीको कुरा सुनेपछि सन्तबहादुर आत्तिए । उनको मुटुको गति बढ्दै गयो र उनी चिसो जमिनमा थचक्क बसे । केटीको कुरा सुनेपछि त्यहाँ उपस्थित अरूहरूले पनि मुखामुख गरे । सबैका अनुहारमा जिज्ञासा मडारिएको देखिन्थ्यो ।

सन्तबहादुरले आफू सत्र वर्षको लक्काजवान हुँदा अड्डाबाट आएको त्यस्तै एउटा चिठी सम्झिए, जसमा भूमिसुधार कार्यक्रम अन्तर्गतको वचत समयमा नबुझाए वापत उनलाई कानुन बमोजिम कारवाही हुनसक्ने धम्की थियो । चिठीसँगै भूमिसुधार कार्यालयको बसनी पनि आएका थियो र घरै थर्कने गरी उनलाई हकारेको थियो । पछि गाउँकै जिम्मालबाको सहयोग र सल्लाहमा केही दस्तुरी बुझाएपछि बल्लबल्ल मुक्ति मिलेको थियो ।

अर्को चिठी आउँदा उनी दुई सन्तानका बाबु भइसकेका थिए । उनलाई विपक्षी बनाई गाउँकै एकजना व्यक्तिले हालेको मुद्दाको सिलसिलामा प्रतिवादी लगाउन उनलाई आदेश गरिएको थियो । चार मुरी धान फल्ने बिरौटो खेत सकिएपछि बल्ल उनले उक्त मुद्दाबाट छुटकारा पाएका थिए ।

तेश्रो पटक उनका घरमा आएको सरकारी चिठी मालपोत कार्यालयबाट आएको जग्गा दर्ता गर्ने सम्बन्धी जानाकारी पत्र थियो । नापीको बेला दर्ता हुन छुटेको घरबारी जग्गा दर्ता गर्ने सिलसिलामा आएको उक्त पत्रले आफ्नो जग्गाको दुईतिहाई मोल असुलेर बल्ल शान्त भएको थियो ।

चुनावको बेला गाउँमा भएको दुई पक्षका बीचको विवादमा उनलाईसमेत मुछेर हालेको सार्वजनिक अपराध मुद्दामा ‘पत्र प्राप्त भएको मितिले सात दिनभित्र हाजिर हुन आउनुहोला नत्र…..’ भन्ने ब्यहोराको पत्र उनको घरमा आएको चौथो सरकारी पत्र थियो । उक्त पत्रले उनलाई अनाहकमा सात दिन प्रहरी ठानाको चिसो कोठामा थुनाएको थियो ।

एउटा भैसी पाल्ने विचारले कृषि विकास बैंकसँग लिएको रीण समयमा तिर्न नसक्दा त्यसको चक्रवर्ती ब्याज र साँवा हिसाब गर्दा पाँच गुना बढी भएको र असार मसान्तभित्र साँवा र ब्याज चुक्ता नगरेमा धितो राखेको पाखोबारी लिलाम हुने ब्यहोराको पत्र उनका जीवनको अर्को सरकारी चिठी थियो । उक्त पत्रले तीन महिना आटो खान पुग्ने पाखो बारीलाई कहिल्यै विशेक नहुने गरी घाइते बनाएर गएको थियो ।

यी सबै घटनाहरू सम्झदा उनको मन खिन्न हुँदै गइरहेको थियो । अहिलेसम्म जति पनि सरकारी चिठी आएका थिए, ती कुनै पनि उनको पक्षमा थिएनन् । हरेक चिठीले सानो–ठूलो हानी पु¥याएरै गएका थिए ।

‘अहिले फेरि के विपती आइलाग्यो हँ !’ उनले मनमनै सोचे । सोच्दैजाँदा उनको मुटु पिरो भयो । मकैका बोटको आडलागेर बसेका थिए, मकैलाई समेत नुहाएर जमीनमा पल्टिए । ‘ए के भयो हँ ?’ अरूले यसो भन्दै नजिकै गएर उठाउन खोज्दा उनी बेहोस भइसकेका थिए ।

+ + + + +

आँगनमा रहेको तुलसीका मठनिर उनलाई सुताइएको थियो । घरका परिवार र छिमेकीहरू वरिपरि बसेर विलाप गरिरहेका थिए । जान्ने बुझ्नेहरू औषधिमुलो पनि गर्दै थिए । त्यस्तैमा उनले पिलिक्क आँखा उघारे र वरिपरि हेरे । उनको होस खुलेको देखेर सबैजना खुसी देखिए । वैद्यबाजे नजिकै बसेका थिए, अनुहार हसिलो पार्दै सोधे— “कस्तो छ ?”

सन्तबहादुर केही बेर घोरिए र चर्को स्वरमा बोले— “ऊ चिठी, सरकारी चिठी !”

त्यसपछि उनी पूर्ववत आँखा चिम्लिए र बेहोस भए ।

अस्ताउन लागेको सूर्यले पारि हिमालयमा पहेँला किरण छर्दै थियो ।

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.