~सञ्जाल शर्मा~
गरिबका स्याले झुप्रा
चिसो चुलो बल्दैन रे
गुन्द्रक र सिस्नो विना
कुनै छाक टर्दैन रे
निमुखाका गाथा सुन्दा
तिम्रो मन पोल्दैन रे ।
महल र चिल्ला कार
सोच्न पनि टाढै रहे
बहुमत जनता गरिबीले
भोकै प्यासै मरिरहे
धेरै पढ्यौ ज्ञानी बन्यौं
किन कुरा बुझिनौ त
सामाजिक दायित्वलाई
कत्ति किन हेरिनौं त
कसले बाँड्यो सपना सारा
जान्छु भन्छेऊ विदेशतिर
शिक्षा क्षेत्र बेचिने भो
युके अनि जापानतिर
सजिव ज्ञान लिनुपथ्र्यो
मुक्तगामी भाव सँग
दृष्टिकोणलाई उच्च राख्दै
सिद्धान्त र व्यवहारसँग
रमाउनु पथ्र्यो तिमी
क्रान्तिको विगुल फुक्दा
सामन्तको नास गर्ने
क्रान्तिको बन्दुक बोक्दा
अजम्बरी कोही छैन
मृत्युसँग के को डर
एउटै बाटो हिंड्थ्यौं हामी
भाग्छौ किन परपर
विजयको सिन्दुर पैरी
आत्मियता जोड्नु पर्छ
बुर्जुवाको समाजसँग
अनि नाता तोड्नुपर्छ
देशमा राँको सल्काउने रे
वर्गदुश्मन पल्काउने रे
जनता सारा लडाएर
जातीय द्वन्द्व चर्काउने रे
सुन्दा यस्ता कुराहरू
तिमी छाती जल्नुपर्छ
आँशु बग्ने आँखाबाट
आक्रोशहरू बग्नुपर्छ
बाचा पूरा नगरेमा
महान कहाँ बनिन्छ र
साम्राज्यका प्रशिक्षण
त्यसै कहाँ तोडिन्छ र
गरिबको सुख चैन
एकादेशको कथा भयो
शोषितको श्रममाथि
सामन्तको राज भयो
त्यसैले त,
जुरमुराउन पर्छ हामी
अनकन्टार बस्तीबाट
मुक्त हुनुपर्छ हामी
सामन्तको जालोबाट
मुक्ति युद्ध चर्काऔं अब
जनवादी क्रान्तिको
नारा जुलुस धन्काऔं अब
स्वतन्त्रता र समानताको
आउ अब उद्घोष गरौं
नयाँ महासमरको
सामन्तको साम्राज्यलाई
ध्वस्त पार्ने अठोट गरौं
क्रान्तिपथमा अघि बढौं
क्रान्तिको दुत बनी
माक्र्स अनि लेनिनको
सच्चा अनुयायी बनी ।
– बाग्लुङ
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३३ – Jun. 27, 2012 – २०६९ आषाढ १३ गते, बुधबार)