~कृष्ण जोशी~
चाहे फूल
काँडाको झ्याङमा अग्ला पर्खालहरूभित्र
अर्थात् हिमालको टाकुरामा
सर्वाङ्ग फक्रिएको एउटा फूल हौ
जसलाई देखेपछि टिपुँटिपुँ लाग्छ
स्पर्शहीन थिए जबसम्म
आफूभन्दा होँचा बनाएनन् हिमालहरूलाई
शिखर टेकेर मान्छेहरूले
अनौठो प्रदेशझैँ थिए निषेधित सत्ताभित्र
ठूला महल, भवन र दरबारहरू
जबसम्म प्रवेश गरेनन् मान्छेहरूले
अग्ला सुरक्षा पर्खालहरू भत्काएर
टुलुटुलु हेरिरहेछन्
हराएका आफ्ना अतीत गौरव कथाहरूलाई
यतिबेला हिमालहरू आँसु चुहाएर
हेरिरहेछन् ठूलामहल, भवन र दरबारहरू पनि
भत्किएका सुरक्षा पर्खालभित्रका
उदास कोठाहरू, भग्नावशेषहरू
रित्ता धाराहरू रङ उडेका वैभव तस्बिरहरू
अनि स्वर्ण आसन र पलङ्गहरूमा उफ्रिरहेका
कीरा फट्याङ्ग्राहरू
फूल र पातहरू मात्र होइनन्
काँडेतार अनि सुरक्षा पर्खालहरू टेक्न सक्छन्
ढाल्न सक्छन् अवरोधका हिमालहरूलाई
बहुलाएपछि मान्छेहरूले
पगाल्न सक्छन् गलाउन सक्छन्
तिमीले उभ्याएका निषेध पर्खालहरू पनि
तिमीसम्म पुग्न आतुर मान्छेहरूको आवेगले
त्यसपछि तिमी
हिमाल रहने छैनौ जसलाई टेक्न नसकियोस्
काँडा झ्याङ रहने छैनौ स्पर्श गर्न नसकियोस्
अग्ला सुरक्षा पर्खालभित्र
आत्म प्रतीतिको एकान्त सत्ता पनि रहने छैनौ
जसलाई मन लागुञ्जेल भोग गर्न नसकियोस्
काठमाडौं, नेपाल
(स्रोत : मधुपर्क २०६७ कात्तिक)