कविता : गणतन्त्र

~बाबुराम आचार्य ‘विकल्प’~

गणतन्त्र तिमी के गर्दैछौ ?
कस्ता छौ, आजकल कता छौ ?
तिमी जन्मिएको पनि धेरै भएछ ।
तिम्रो अनुहार हेर्न भनी
तिम्रा शुभेच्छुकहरू प्रतिक्षित छन् ।
आँखाका नानीहरू घुमाउदै यत्रतत्र सर्वत्र
नियालिरहेछन् दृष्टान्तहरू ।
तिमी भने कता हो कता ?
लुकिछिपी बसीराछौ जस्तो छ ।
आफु जन्मेको जन्मभूमि बिर्सी
नयाँ नयाँ संसारमा दौडिदै छौ रे ।
उनकै मिष्ठान्नमा मुख मिठ्याउँदै डकार्दै छौ रे ।
थाहा छ गणतन्त्र तिमीलाई जन्म दिंदा
तिमी तिम्री आमाको पाठेघरमा विकसित हुँदै गर्दा
एभोर्सनका इन्जेक्सन दिन खोज्नेहरू
तिम्री आमालाई सुडेनी बनेर मार्न खोज्नहरू नै
तिम्रा धराले र हेरौले बनेका छन् ।
तिनको चाप्लुसी मीठो कुरामा
तिमी फुरुक्क भएका छौ ।
तिमीलाई के थाहा ?
कसैले भनेको भए पो थाहा हुन्छ ।
भन्ने जमर्को त गरेकै हुन एक दुईले
तर तिनका मुखमा चुक्कुल ठोक्दै
नरपिचासहरूले अत्याचारै गरे ।
लुट्नैसम्म लुटे ढुकुटी देशको
रित्याउनैसम्म रित्याए संस्कृति
खोक्र्‍याउनेसम्म खोक्र्‍याए
गणतन्त्र तिमीलाई ।
घोक्र्‍याउनसम्म घोक्र्‍याए
बिर सपुतहरूलाई
गणतन्त्र तिमी भने रित्तिइ रहयौ
लुटिईरहयौ खोक्रिरहयौ
लठिइरहयौ, घोक्रिइरहयौ सत्ताको उन्मादमा
त्यही उन्मादले आज अस्तित्वको खोजीमा
भौतारिरहेछौ सडक र गल्लीहरूमा

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ९ – Jan. 14, 2015 – २०७१ पौष ३० गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.