कविता : ब्रुनाइबाट आमा आएपछि

~बिमल गुरुङ~bimal-gurung

निस्कृय भित्ताहरु
ब्याख्यान सुन्न आमा अगाडि आए
भित्ताको
कलेजो, मृगौला र मुटुहरुमा
शब्दका बम्फकहरु हानीन्
भित्ताका काँधहरु समाएरा हल्लाइन् जोड जोडले
मासु काट्ने अचानोमा राखेर
भित्ताका निन्द्राहरु चोक्टै-चोक्टा पारिन् ।

एउटा भित्तालाई
तुरुन्तै
पहाड पठाउने निर्णय गरिन्
एउटा भित्तालाई
निकट भबिष्यमा
बीरगञ्ज पठाउने फैसला सुनाइन्/निर्णय सुनाइन् ।

भोलिदेखि
भित्ताहरु काममा जुट्न थाले

आमासंगै भित्ताहरु
सिमेण्ट भुईं, सफा गर्न थाले
भुईंमा
डेक्ची र बाल्टिनका बाल्टीन
पानी खन्याउन थाले
पानीलाई कपडाले सम्याउन थाले ।

एउटा भित्ता
घरबाट निस्केर
फोहरमैला जलाउन लाग्यो
तल करेसाबारीमा
हरिशचन्द्र भएर ।

आमा आएपछि
भित्ताहरु खट्न लागे
आ-आफ्नो कार्यक्षेत्रमा ।

एउटा भित्ता
चर्पि सफा गर्दैछ
एउटा भित्ता
झिरझिरेमा
रबरको पुरानो चप्पल
दबाईको पुरानो सिसि
र, झिक्राझिक्रीहरु हालेर
तल घुर्‍यानमा लादैछ
झिरझिरेमा हालेर ।

एउटा भित्ता
घण्टीको सन्तुलनका लागि
पलेटी मारेर
खोसेलाको बिंडा बनाउँदैछ
एउटा भित्ता
कुचोले काठ पतिङ्गार फ्याँक्दैछ ।

आमा आएपछि
भित्ताहरु खट्न लागे
आ-आफ्नो कार्यक्षेत्रमा ।

आमा आएपछि
सबैका सामु
काम आयो आमासंगै ।

घर सफाई चलिरहेछ अझै
आमा आएपछि
भोलि पनि छ
पर्सि पनि छ
घर सफाई चलिरहेछ ।

(०४६/९/२)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.