~विश्वविमोहन श्रेष्ठ~
गाडीको तीखो हर्न
मानिसको कल्याङबल्याङ
र ट्याम्पोको नमिठो
प्वाप्वा-पुँपुँका बीच
जब म बिहान ब्यूँझन्छु
मलाई थाहा हुन्छ
म शहरमा छु ।
न चराहरूको चिर्चिराहट न पँधेराको सरसराहट
न पूजा-कोठाको धुपको गन्ध
सबैबाट विमुख
मोबाइलको कर्कस अर्लाम सुनेर
जब म बिहान ब्यूँझन्छु
मलाई थाहा हुन्छ
म शहरमा छु ।
शहर
जसलाई राखेर आँखामा
सानो छँदा
म स्कुलमा अक्षरहरू पढ्थेँ
ठूलो भएपछि कसेर मुट्ठी
पाखुराहरूमा हिम्मत भरेँ
र जोडेर अनेक जोह
काँधमा एउटा झोला
छेउमा सानो खुकुरी
र हातमा घँघेरुको
बडेमाको लट्ठी टेकेर
खेल्दै बुर्कुच्ची
शहर झरेँ ।
आज फर्केर फेरि
गाउँको त्यही गोठ
त्यही कान्ला
र त्यही धुप-कुहिरो सम्झदैँ
दौड्ने गर्छु
थिचोल्दै
गाडीको त्यही तिखो हर्न
मानिसको कल्याङबल्याङ
र ट्याम्पोको नमिठो
प्वाप्वा-पुँपुँ
किनकि म शहरमा छु ।
हतार-हतार
सधैँ हतार
पानी विनाको धारो
उज्यालो विनाको बिजुली
पेट्रोल विनाको गति
भोक न भकारी
म शहरको जाममा
कतै फसेको छु ।
घरि नाराको आवाज
घरि जुलुसको गिन्ती
मोडैपिच्छे फोहोरको डङ्गुर
र छेवैबाट मर्काउँदै कम्मर
लस्किरहेको एक हूल चित्ताकर्षण
सबैलाई सहज सकार्दै
जब म नित्य-कर्मको
स्व- अग्निमा हाम फाल्छु
मलाई थाहा हुन्छ
म शहरमा छु ।
शहर
जहाँ हर रात
सपना ओथरा बस्छ र
कोरल्छ अनेक सपनाहरू
र दिनभर असङ्ख्य प्रहारहरूले
मर्माहत भएर जब फर्कन्छ
मध्यरात
बटुल्दै तिनै टुटेका
सिन्का-तिन्का र पखेटाहरू
फेरि बस्छ ओथरा
कोरल्न अनेक सपनाहरू ।
– साउथल्यान्ड अस्पताल, सोहरम, बेलायत
(स्रोत : मधुपर्क २०६८ जेठ)