कविता : मुक्ति

~किशोर दहाल~

मिस्टर माइन्ड मेनेजर !
मलाई मुक्त गर-
माकुरे जालोहरूबाट
म तिम्रा भ्रमको खेतीबाट
छुट्कारा चाहन्छु !
म पढ्न चाहन्छु-
तिमीले जस्तै ठूल्ठूला पुस्तकहरू
आइएनजीओका रिपोर्टहरू
नयाँ अनुसन्धानका निष्कर्षहरू
विदेशी दुतावासका ‘क्लु प्वाइन्ट’हरू
म यथार्थ जान्न चाहन्छु-
कसरी हिँडाइरहेछौ मलाई बर्षौदेखि उहीँ बाटो
कसरी मलाई एकोहोर्याईरह्यौ यतिञ्जेल
म ब्युझिन चाहन्छु

मलाई बोल्नेछु अब
तिम्रा टिभीहरूमा
मलाई लेख्नेछु अब
तिम्रा पत्रिकाहरूमा
मिस्टर माइन्ड मेनेजर !
म बोल्न चाहन्छु-
आफ्नै आवाजमा
म लेख्न चाहन्छु-
आफ्नै बान्कीहरूमा
म गाउन चाहन्छु-
आफ्नै गीत
मेरो भूगोल जाँच्दै नजाँची
भाषा-धर्म सोध्दै नसोधी
हातका ठेला पढ्दै नपढी
किताबका ठेलीमात्र पल्टाएर
मेरो ठेक्का लिन बन्द गर अबदेखि
मिस्टर माइन्ड मेनेजर !
आफ्नै लयमा
म सुनाउन चाहन्छु-
यो संसारलाई नयाँ संगीत
तिमी बर्षौदेखि बोलिरहेछौ एकोहोरो
तर, मेरो भाषामा बोलेनौ
गाइरहेछौ सधैं
तर, मेरो गीत गाएनौ
नाचिरहेछौ हरबखत
तर, मेरो तालमा नाचेनौ
मिस्टर माइन्ड मेनेजर !
म आफ्नै आँखाले संसार नियाल्न चाहन्छु
मिस्टर माइन्ड म्यानेजर !
नस्ट गर्नेछु अब तिम्रा बैचारिक पर्खालहरू
म संसारलाई देखाउन चाहन्छु-
मेरो अनुहार !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.