~पूर्णिमा प्रतिबिम्ब~
आफू
राजधानीमा बसेर
छानीछानी
पाठ्यक्रम
भित्र-बाहिरका
पढिरहँदा मलाई
ती
दुर्गम गाउँका बालबालिकाहरूको याद आउँछ ।
जो सरकारले निःशुल्क दिने भनेको
पुस्तकको बाटो हेरेर
शैक्षिक वर्षको अन्तिमसम्म पनि
टोलाई रहन्छन् ।
उनिहरूको आवश्यकतालाई
सरकारले
पढ्यो कि पढेन ?
कि पढ्न चाहेन ?
या त,
पढे पनि बुझ्न सकेन ?
भोलि देशको अभिभारा
बोक्ने काँधमा
बल थपिदिनुको साटो,
बेर्थै अनेक सपना सजाएर
किन गलाउँछौ उनिहरूलाई ?
मोबाइलमा ‘मुहार पुस्तक’ पढेर
ठूल्ठूला आदर्श छाट्ने
बालबालिकाहरूको निम्ति काम गर्न शहर बस्ने
विद्वान् महोदय
तपाईंले निःशुल्क शिक्षा दिएको
‘स्टाटस’ लेख्दैमा
सबै बालबालिकाले शिक्षा पाएका छन् र ?
आफूलाई विद्वान ठान्नुहुन्छ भने
एकपटक
त्यो मोटर बाटो पर्खेर बसेको
दुर्गम गाउँ गएर,
पढेर ठूलो मान्छे बन्ने
लक्ष्य लिएका निर्दोष बालकहरूको
आशाका मसीले छापिएको
‘मुहार पुस्तक’ पढ्नुहोस् ।
-कास्की, हाल : काठमाडौँ