~निलिमा पुन ~
झुपडीमा बस्नु मेरो के दोष भो र?
म त्यहीँ जन्मेको थिएँ
हुनेले महल बनाए र पो
मेरो घर झुपडी देखियो
खाली खुट्टै हिँडनु मेरो के दोष भो र ?
म त्यस्तै हुर्केको थिएँ
हुनेले जुत्ता लगाए र पो
मेरो खुट्टा खाली देखियो
भोको बस्नु मेरो के दोष भो र ?
हुँदा खाएकै थिएँ
हुनेले सधै खाए र पो
मेरो पेट भोको देखियो
थोत्रो लुगा लगाउनु मेरो के दोष भो र ?
पाउँदा नयाँ नै थियो
हुनेले फेरि फेरि लगाए र पो
मेरो लुगा थोत्रो देखियो
गरिब हुनु मेरो के दोष भो र ?
म त मान्छे भएर जन्मेको थिएँ
हुनेलाई धनि भनिदिए र पो
म गरिब देखिएँ ।
अविचल शक्ति
थम्मन के.सी.
ए ! युगका फलामे पर्खाल
युवाहरू हो !
हेर तिम्रो सामु
तिम्रो घरको धुरी मात्र फाटेको छैन
तिम्रो आमाको आँचल च्यातिएको छ !
तिम्रा देशका सीमारेखाहरू
विस्तारवादले लुछी रहेको छ
सुस्ता, कालापानी, महेशपुर, लिम्पिया धुरा रोई रहेको छ
अनि फेरि
नयाँ सीमारेखाहरू सङ्घीयता बनेर
तिम्रो सुन्दर देशलाइ चिरैचिरा बनाउँदै छन्
अब उठ
नयाँ सङ्घर्षको ललकार गर्दै
देश या परदेश जहाँ भए पनि
तिमी युगको गर्बिलो शक्ति होऊ
तिमी हरेक परिवर्तनमा अडिग
र, अविचल शक्ति होउ ।
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ३२ – July 7, 2016 – २०७३ असार २२ गते, बुधबार)