~भुवन निस्तेज~
जुन छातीमा घाऊ हुन्नथ्यो फालीले
त्यै भो घायल ऐले फूलको लालीले
निर्धो पक्षी काँ गै बस्ने होला खै
छेवैमा किन आइस् भन्छ डालीले
फुलबारीमा थुङ्गा-थुङ्गा बाझ्दैछन्
कुन मौसममा बिऊ रोप्यो मालीले
बेघरको पीडा के हो बुझ्दैछु म
‘घरवाला’ बन् भन्दैछे घरवालीले
आलो पालो सबको पालो आउँछ नै
मायाको ठाऊँ ली रा’छ गालीले
यात्री थाके बस्ने यौटै चौतारी
तेरो मेरो गर्दैन द्यौरालीले
कस्तो खेती गर्दैछौ ‘निस्तेज’ तिमी
घर भर्छु भन्छौ अक्षरको बालीले ।
निस्तेज धनगढ़ी
(स्रोत : साहित्य सभा)