~सुमित्रा न्यौपाने~
‘तिमीहरूले डेकुरेसनमा ध्यान दिनु, अतिथिहरूको ख्याल गर्नु, तिमीहरूले खानाका परिकारमा ध्यान दिनु, फलफुल लगायत अन्य चिजमा ध्यान दिनु’ फरक फरक समूहलाई निर्देशन थियो । धेरै समूहको विभाजन गरेर कामको बाँडफाँड गरेका थिए मेनेजरले । कुनै पनि कुरामा कमी नहोस् भन्ने मेरो कडा निर्देशन थियो मेनेजरलाई ।
खुबै सक्रिय बनेका थिए । आ–आफ्नो जिम्मेवारी पुरा गरे नगरेको आफै पुगेर हेर्थे उनी । अफिसमा सबै व्यस्त थिए । काम पनि सोचेजस्तै भएको थियो । अफिसको चहलपहल र रौनक देख्दा कुनै मन्त्री नै आउँदै छन् कि जस्तो लाग्थ्यो ।
बाह्रौ वार्षिक उत्सव थियो । अगाडिका वार्षिक उत्सवभन्दा हरेक कुरामा फरक थियो यसपटक । रंगीचंगी ध्वजा पताकाले रंगिएर नवदुलहीजस्तै भएको थियो मेरो अफिस । मूलगेटमा दुईवटा ठूला–ठूला तामाका उज्याला गाग्रीहरूमाथि हरिया पातहरूसँगै राता सुन्दर फूलहरू थिए । दियो, कलश, सुस्वागतम् टाँगिएका तुलहरू मुलगेटदेखि अफिससम्म र दाँया–बाँया सजाइएका विभिन्न प्रकारका सुन्दर फूलहरूले अफिस शोभायमान थियो ।
जमिनमा ओच्छ्याइएको सुन्दर मार्वल र भित्तामा झुण्डाइएका विभिन्न जातका फरक–फरक पंछीहरूले अफिसलाई खुबै मनमोहक तुल्याएका थिए । सबै कर्मचारीहरूले पदीय दायित्व निर्वाह गरेको महसुस भएको थियो मलाई । हरेक पटक बाहिरबाट मिठाईहरू ल्याएर मनाइन्थ्यो वार्षिक उत्सव ।
यसपटक भव्य कार्यक्रम गर्ने इच्छा मलाई किन जाग्यो ? पहिला पहिलाजस्तै आफूसँग सम्बन्धित एक उद्योगपतिलाई बोलाएकी थिएँ, विशेष अतिथिका रुपमा । उनी विराटनगरकी थिइन् । उनलाई यत्तिका तडक भडक देखाउनुपर्दछ भन्ने पनि केही थिएन । म आफै अलमलमा थिएँ । कर्मचारीहरूले पनि अनौठो मानिरहेको महसुस गरिरहेकी थिएँ ।
‘म्याम, यति बिघ्न खर्च आवश्यक थिएन । यसले अफिसलाई घाटा लाग्छ ।’
‘घाटा र नाफाको कुरा छैन, अर्डर अनुसार गर्नुस् ।’ मेरो कठोर निर्देशन थियो मेनेजरलाई दश दिन अगाडि । चारैतिर निमन्त्रणा कार्ड पठाइएको थियो । मिस मोनिका यस पटकको प्रमुख अतिथि । पटक पटकको फोन सम्पर्क पछि उनी आउने पक्का भएको थियो । दिनको ठिक दुई बजेसम्म सबै कुरा ठिक पारिसक्ने निर्देशन पाएका थिए कालिगढ र अन्य कर्मचारीहरूले । मेनेजरबाट विभिन्न कुराको टिपोट लिइरहेकी थिएँ म ।
अतिथिहरू आउनेक्रम जारी थियो । मेनेजरबाट सम्मानका साथ उनीहरूलाई अतिथि कक्षमा प्रवेश गराइँदै थियो । मोनिका एउटा सफल उद्योगपति थिइन् । उनीसँग मेरो उद्योगको सहकार्य पाँचौ वर्ष प्रवेश गरिसकेको थियो । फोन सम्पर्कबाट उनी र म एक अर्काका नजिकका मित्र भइसकेका थियौँ । मेरो धागोको उद्योग थियो उनको कपडाको । मेरो उद्योगबाट तयार भएको धागो सबै उनी एक्लैले खपत गर्थिन् । उनीबाट मैले धेरै सिक्नुुपर्छ भन्ने लागेको थियो । सायद यस्तै लागेर नै हुनुपर्छ मैले उनको लागि विशेष कार्यक्रमको आयोजना गरेको ।
मोनिका खुबै प्यारो नाम लाग्दथ्यो मलाई । ‘हाय म्याम’ भन्ने उनको सम्बोधनले मेरो मुटुको ढुकढुकी बढाउँथ्यो । धेरै व्यापारी साथीहरू थिए । मोनिका एक अल्लारे केटीलाई मैले बढी महत्व दिइरहेकी थिएँ व्यापारमा । हाम्रो भेट भएको थिएन । फोन सम्पर्कमा नै सीमित थियौँ यतिका वर्षसम्म ।
व्यापारिक लेनदेनमै सीमित भएकाले पारिवारिक रुपमा हामी पुरै अपरिचित थियौं । उनी विराटनगरकी थिइन् । म कोहलपुरकी । आफ्नो परिचय बिजनेसबाटै दिनुपर्छ भन्ने मेरो मान्यता थियो । व्यापारमा हामी एक अर्कामा अति विश्वासिला पात्र बनेका थियौँ । उनी व्यापार र लेनदेनको मामलामा निकै कडा थिइन् । भनेको समय र गरिएको हिसावमा खुबै सचेत थिइन् । पचास पैसाको पनि हिसाव गर्ने उनको स्वभाव हेर्दा निकै कन्जुस छन् जस्तो लाग्थ्यो । अन्य कुरामा उनी अति दयालु र स्पष्टजस्ती । सुरुका दिनमा मेरै उमेरकी सम्झेकी थिएँ उनलाई । भेट गर्नेहरूले उनको बारेमा बताउँदा म दंग परेकी थिएँ ।
उनको उमेरमा मलाई आफ्नै जीवनप्रति विश्वास थिएन । व्यापारको साेंचाइ नै थिएन । म पैतालिसकी थिएँ भने उनी करिब पच्चिसकी । छोटो उमेरमा उनले गरेको प्रगति देख्दा मलाई अचम्म लाग्थ्यो । रिस, घमण्ड, आक्रोश, अस्पष्टता उनमा थिएनन् यही भन्थे भेट्नेहरूले । लगनशीलता र मेलमिलापका साथै आत्मविश्वास उनका चारित्रिक विशेषता थिए यही भन्थे देख्नेहरूले ।
मोनिका मेरो आजको कौतुहलता । पहिलोपटक भेट हुँदै थियो । उनको प्रतीक्षामा थिएँ । भित्तामा टाँगिएको घडीलाई पटक–पटक हेर्दै । सुगन्धमय थियो वातावरण । अतिथिसभाको प्रवेशद्वारमा मेरो कोठा भएकोले आउने सबै अतिथिहरूसँग औपचारिकता निर्वाह गरिरहेकी थिएँ । हलभित्र पाहुनाहरूको खचाखच भइसकेको थियो । एकपछि अर्को गदै विशिष्ट पाहुनाहरूसँग भेट गराइरहेका थिए मेनेजरले ।
मोनिकाले तोकेको समय जति–जति नजिकिंदै थियो, उति–उति मेरो छट्पटी बढिरहेको थियो । मेरो तडक भडक अलि बढी नै थियो । यो देखेर मोनिकाले फजुल खर्च सम्झन्छिन् कि भन्ने डर पनि थियो मलाई । आफ्नै खर्चमा पनि किन मलाई मोनिकाको डर लागिरहेको थियो, सोच्न सकेकी थिइन । तोकिएको समयभन्दा ठीक आधा घण्टापछि मात्र उनी आइपुगिन् । अग्ली, गोरी, ठूलाठूला आँखा हिस्सी परेको अनुहार, टाउकोमाथि सुनौलो फ्रेमको कालो चस्मा, लामोे कालो कपाल, सुडौल हातपाखुरा साँच्चिकै कुनै परीभन्दा कम थिइनन् उनी । मलाई उनको व्यापार लाइन मात्र होइन शराीरिक आकर्षणसँग पनि लोभ लाग्यो ।
‘हाय म्याम’
‘हाय मोनिका’ मेनेजरले भेट गराएपछि हेलो हाय सुरु भयो ।
‘सरी ल, अलि ढिलो भयो ।’ मोतिजस्ता चम्किला र अनारका दानाजस्ता मिलेका दाँतहरू देखाउँदै हँसिलो अनुहारमा बोलिन् उनी ।
‘व्यापार लाइन नै यस्तो हो, अलि बेफुर्सदिलो त भइन्छ नै’ मेरो उत्तर थियो ।
‘मेम, यत्रो ठूलो पार्टी ?’
‘हो मोनिका, यो हाम्रो बाह्रौ वार्षिकोत्सव हो । हाम्रो यस कार्यक्रममा स्वागत छ ।’
‘धन्यवाद मेम ।’
सबैसँग परिचय गराएँ मैले मोनिकाको । उनको शारीरिक आर्कषण र व्यवहार देखेर सबै दंग थिए । म जति प्रसन्न थिएँ उनको आगमनमा, त्यति नै प्रसन्नता चाहन्थें, उनीभित्र पनि । प्रमुख अतिथिको रुपमा मोनिका उपस्थित भएपछि हाम्रो कार्यक्रम औपचारिकतातिर लाग्यो ।
मेनेजरले हाम्रो अफिसको तर्फबाट अतिथिहरूलाई स्वागत गर्दै हाम्रो उद्योगको आगामी कार्यक्रममा सहयोग गर्न आग्रह गरे । प्रमुख अतिथिको मन्तव्य दिइन् मोनिकाले । अब हामी जलपानतिर सरिक भयौँ । अतिथिहरू आ–आफ्ना घरतर्फ लागे । मोनिकाले निकै कोशिस गर्दा पनि जान दिइनँ मैले । उनीसँग एकरात सँगै बस्न मन लाग्यो मलाई । आफ्नो केही जोड नचलेपछि मेरो कुरामा सहमत हुन बाध्य भइन् मोनिका । हामी दु्ईजनासँगै बस्ने भयौँ ।
‘मेम, खै त हजुरका अन्य परिवार ?’ घरमा कोही नदेखेपछि सोधेकी थिइन् उनले । काम गर्ने चन्द्रा भान्सामा थिइन् । मेरो भन्ने कोही थिएन ।
‘को छ र मेरो ?’ सहज उत्तरमा असहज भएकी थिइन् मोनिका ।
‘हो मोनिका एक जना काम गर्ने बाहेक म एक्लै छु ।’ मोनिका मेरो अतीत कोट्याउन चाहन्थिन् । मोनिकाले मेरो विगत नसोधुन् भन्ने चाहन्थें म ।
‘मैले बिहे गरेकी छैन । मेरा बुबाआमा अर्कै घरमा हुनुहुन्छ दाइ भाउजुसँग । यो घर मैले आफैँ बनाएकी र एक्लै बसेकी ।’
झनै असहज हुँदै थिइन् मोनिका । यो सबै भन्नुपर्दा मलाई पीडा भइरहेको थियो । छाती पोलेको थियो । मुटु चर्केको थियो । एक्लोपनको महसुस भएको थियो मलाई ।
‘मेम किन बिहे नगर्नुभएको ?’
‘सोच्ने फुर्सद नै भएन ।’
‘व्यापारलाई नै सबैथोक सम्झनु ठिक हैनजस्तो लाग्छ मलाई त’ प्रतिक्रिया दिएकी थिइन् मोनिकाले । म अतीत कोट्याउन चाहन्नथें, उनी खोतल्न चाहन्थिन् । हामी दुवैका चाहनाविपरीत देखिन थालेका थिए ।
‘व्यापारलाई निहुँ बनाउनु ठिक होइन मेम ।’ मेरो कमजोरी पत्ता लगाइसकेकी थिइन् उनले । बुढाबुढीले जस्तै सम्झाउँदै थिइन् । उमेरको आधारमा मैले सम्झाउनुपर्ने थियो उनलाई तर त्यसो भएन ।
‘आफ्नो जिन्दगीभन्दा नजिक व्यापार हुनै सक्दैन । भविष्यदेखि पन्छिएर सुख प्राप्त गर्न सकिदैंन । भोलि पछुतो हुन सक्छ । आखिर एक्लो र सन्यासी जीवन बाँच्नेलाई उद्योगधन्दाको के काम ?’ अलि कडा हुँदै थिइन् ।
म चुपचाप उनका कुराहरू सुनिरहेकी थिएँ । ‘आफ्नो कोही नभएपछि कसका लागि मिहिनेत र परिश्रम गर्ने ? किन अनावश्यक टेन्सन लिने ? एक्लो शरीरलाई त सानोतिनो नोकरी गरे पनि त भइहाल्छ नि ।’ भन्दै थिइन् मोनिका ।
‘आफू सुहाउँदो कोही भेट्नु भएन ?’ सायद म एक्लो बसेको मोनिकालाई पटक्कै मन परेको थिएन ।
‘त्यसो पनि हुन सक्छ र नहुन पनि । यसलाई नखोतल्नु भएकै राम्रो । म अतीतमा फर्कन चाहन्न । भविष्य मात्र मेरो लक्ष्य हो ।’ धेरै बोल्न चाहन्थें तर यति मात्र भनें मन दह्रो पारेर ।
‘मेम सरी ल मैले हजुरको चित्त दुखाएछु क्यारे ।’
‘हैन हैन, ठीकै छ । बरु आफ्नो बताउनुस् न, दिनचर्या कसरी बितेका छन् ? विवाह गर्ने सोच कहिले, कसरी र कस्तो गर्नुभएको छ ?’ एकै पटक धेरै प्रश्न सोधें मैले ।
‘मेम, म परिवारको आर्दश छोरी बन्न चाहन्छु । हजुरबुबा र हजुरआमाको सफल नातिनी बनेर देखाउनु छ मलाई । मेरो नैतिकता र वीरतामाथि गर्व होस् । नातिनी हुर्काएर ठीकै गर्याैं भन्ने होस् उहाँहरूलाई ।’ भावुक बन्दै गै’रहेकी थिइन् मोनिका । उनी हजुरबुबा र हजुरआमाबाट हुर्काइएकी केटी रहिछिन् भन्ने बुझ्न मलाई त्यत्ति कठिन भएन । ‘मेरो वास्तविकता बेग्लै खालको छ ।
म मेरा आफन्त र नजिककालाई इतिहास बताउन दकस मान्दिन । मेरो माया सानैमा लुटिएको थियो ।’ आफ्नो इतिहास कोट्याउँदै थिइन् मोनिका, एक पछि अर्को गर्दै । हाम्रो सम्बन्ध व्यापारिक थियो । पारिवारिक जानकारी लिनु र दिनु पर्ने जरुरी थिएन । तर हामी एकले अर्कोलाई खोतलिरहेका थियाैं ।
‘आमाको माया सानैमा पाउन सकिन मैले । म दश वर्षको हुँदा बुवाले दोस्रो बिहे गर्नुभयो । हजुरआमाको प्यारले हुर्किएकी मलाई सौतेनी आमाले पनि उत्तिकै माया दिइन् । हाम्रो घर खै कता गाउँमा थियो रे । बुबाले त्यो ठाउँको बारेमा कहिले नसोध्नु भनेपछि कसैसँग सोधिन् मैले । अहिले एउटा भाइ छ । ऊ मलाई असाध्यै माया गर्दछ । चारैतिरबाट माया पाएकी छु,, जन्म दिने आमाबाट बाहेक । सबैले मलाई केही बनेर देखाउनुपर्छ भन्छन् । सानो पसलबाट म उद्योगपति बनिसकेकी छु । मेरा सबै परिवार मबाट धेरै खुसी छन् । मलाई मिल्काइएकी भन्नेहरू मदेखि चकित छन् । मोनिकाले इतिहास बताउँदै थिइन् ।
कुराकानी जारी थियो । धेरै कुराहरू सुनेँ मोनिकाको । एकपछि अर्को गर्दै । उनका सबै कुराहरूले मलाई छोएका थिए ।
‘जन्मै नदिनु थियो । जन्म दिएपछि किन मिल्काइन् मेरी आमाले ? यही प्रश्न पटक–पटक आइरहन्छ मनमा ।’ यति बेला भने मोनिकाका आँखामा आँसु भरिएका थिए । आँसु पुछ्दै भन्दै थिइन् ‘उनले मलाई मिल्काएर खै के पाइन् ? म भन्न सक्दिन तर मेरो मनमा काँडो बिझाएर गइन् । सबैले माया गर्छन् मलाई । तर मेरो अन्तर्मनले आमाको माया खोजिरहन्छ । आमाले गरेको घात मेरो मुटुमा गडेको छ, जसले मलाई पीडा दिने गर्छ । कहिलेकाँही खुबै घृणा लाग्छ । मेरी आमा र मेरी आमाजस्ता पतीत अधर्मी आइमाईहरूप्रति । खुबै आक्रोसमा थिइन् उनी यतिबेला । उनकी आमाले ठूलै पाप गरेजस्तो लाग्यो मलाई । म केही बोलेकी थिइन । सुन्ने र आँसुमा आँसु खसालेर आफन्त बनिरहेकी थिएँ उनको ।
‘म आफ्नै खुटामा उभिएकी छु र पनि असन्तुष्ट छु । मलाई मिल्काएर हिड्ने मेरी आमा भनाउँदीलाई मेरो प्रगति देखाउन चाहन्छु । तर मेरी आमाको बारेमा कोही केही बताउँदैनन् । व्यापारमा तपाइँ र म उस्तै भए पनि उमेरले मेरी आमा झैं लाग्यो । आफन्त सम्झेर सुनाएँ कहानीहरू । यी सबै सुनाउनु ठीक थियो या थिएन ? जे होस् माइन्ड नर्गनु ल ।’ यति धेरै कुरा हुन्छन् भन्ने मैले सोचेकी पनि थिइन् । खानपिनपछि पनि धेरै बेर गन्थन गर्यौं हामीले । रसिला आँखा पुच्छ्दै व्याग खोलेर फोटा निकालिन् ।
‘यी मेम धेरै पुरानो मेरी आमा सहितको फोटो । जुन फोटो सधैं मसँग रहिरहन्छ ।’ फोटा मेरा हातमा थमाइन् उन्ले । फोटोमा नजर पर्नासाथ म भिरबाट खसेजस्तै भएँ । चिटचिट पसिना आउन थाले । म आत्तिएँ । छट्पटाएँ । भित्र–भित्रै पग्लेर आँखाको बाटो हुँदै बाहिर निस्कन थालें । धेरै बेर हेर्न सकिन मैले त्यो फोटोलाई ।
मुस्किलले समालिएँ । फोटो तुरुन्तै थमाइदिएँ उनैलाई । मोनिका अझै कुरा गर्न चाहन्थिन् । थकान बढी भएको बाहना बनाई सुत्ने तयारी गर्न थाले । अब मोनिकालाई सोध्नुपर्ने केही थिएन । नसोचेकै भएको थियो यो घटना । हामी दुवै फरक–फरक बेडमा सुत्यौँ । कोठामा मधुरो प्रकाश थियो । मोनिका निदाइसकेकी थिइन् । मेरो आँखामा निद्रा थिएन । मेरो अतीतले मलाई जिस्काइरहेको थियो । एकपछि अर्को गर्दै पुराना बिम्बहरू अाँखा वरिपरि नाँच्न थालेका थिए ।
म धनी परिवारकी थिएँ । शारीरिक चञ्चलता आवश्यकताभन्दा बढी थियो । परिवारकी एक्ली छोरी भएकाले मलाई अपुग भन्ने केही थिएन । बुबा, आमा, दाइ र म मात्र थियौ परिवारमा । बुबाआमा दुवै कर्मचारी हुुनुहुन्थ्यो, फरक–फरक ठाउँमा । हामी दुवैलाई अभिभावकत्वको अभाव थियो । मेरो जिद्दी स्वभावले दाइलाई अमुक बनाउँथ्यो । आफ्नो जिउडाल, केशराशी, मुखाकृति र धनसम्पतिमा मलाई निकै घमण्ड थियो ।
साथीहरूले ‘कति राम्री छ’ भनेपछि त मलाई त्यस दिनको खुराक नै पुगिहाल्थ्यो । अरुको सुन्दरतासँग आफ्नो सुन्दरता दाँज्न खुबै मन पर्दथ्यो । पढाइमा पनि म कमजोर थिइन । केटासाथी बनाउन रुचाउने मेरो स्वभाव थियो । आठ कक्षा पढ्दापढ्दै ममा जवानी चढ्न थालिसकेको थियो । सायद त्यसैले मैले निमालसँग सुटुक्क मन मुटु साटी सकेकी थिएँ । अन्धो प्यार चढेको थियो मलाई । यसै भन्न मन लाग्छ अहिले ।
निमाल स्कुलले विद्यार्थी थिएनन् । उनको सानो पसल थियो । पसलमा आउने जाने क्रममा निमालकी आफ्नी बनिसकेकी थिएँ म । गुपचुप रुपको यौनसम्बन्धले खुबै लठ्याएको थियो मलाई । कहिलेकाँही घरमा आउने बुबाआमालाई सजिलै छल्न सक्थेँ । मैले बुवाआमाको विश्वास अलि बढी नै जितेकी थिएँ दाइलेभन्दा । रंगीन संसारमा रमाउँदै टेस्ट परीक्षासम्म पुगें । टेस्ट पनि पास भएँ । मैले निमालको प्यार आफ्नो शरीरमा जतनसँँग राखिसकेकी थिएँ । एसएलसी पूर्व निमालसँग वैवाहिक जीवनमा बाँधिन पुगेँ ।
त्यसबेला निमाल नै सबैथोक थिए मेरा लागि । पढाइलाई महत्व दिइन् मैले । परीक्षा दिन खुबै कर गर्दा पनि मानिन । मेरो यो चाला बुबाआमालाई पटक्कै मन परेको थिएन । कमजोर आर्थिक स्थिति भएको निमालसँग छोरीले सुख पाउन सक्दिन भनेर मलाई फर्काउने कोशिस गरे उनीहरूले । म निमालको नासो लिएर माइत बस्न सक्दैनथें र चाहान्नथँे पनि । मलाई निमालको साथ नै प्यारो लागेको थियो बुबाआमाको भन्दा ।
निमाल मलाई असाध्यै माया गर्दथे । सुरुसुरुमा मेरा फर्माइसहरूमा आनाकानी थिएन । नानी छुटे पनि बानी छुट्दैन भनेझैं निमालसँग गएपछि मेरो खर्चालु स्वभावलाई नियन्त्रण गर्नु पर्दथ्यो तर त्यसो भएन । सीमित आम्दानीमा घर खर्च चलाउन निमाललाई असाध्यै कठिन भइरहेको थियो । दिन प्रतिदिन मेरा फर्माइसहरू पूरा हुन छोड्दै थिए । यसो गर्नु निमालको बाध्यता थियो । मलाई कुनै मतलब थिएन यतातिर ।
‘मोहिनी तिमी मेरो परिवारमा कसरी रमाउन सक्छ्यौ ? म तिमीलाई कसरी खुसी र सुखी राखुँ ? मेरो प्यारलाई नै तिमी ठूलो सम्पति ठान है ।’ खुबै लाचार भएर भन्थे निमाल कार्कीले । १० महिना पुग नपुगमा सुन्दर छोरीलाई जन्म दिएँ मैले । कलिलो उमेरमै आमा भएँ म । मोहिनी र निमाल कार्कीका अगाडिका अक्षर मिलाएर छोरीको नाम जुराएका थियौँ हामीले ‘मोनिका’ ।
मोनिका तिनै छोरी थिइन् जुन आज मेरो साथमा छिन् । म मेरो अतीतमा अल्झिरहेकी थिएँ । हाम्रो परिवार बढेको थियो । तर व्यापार घटेको थियो । खानेहरू सासु–ससुरा र हामी तीनजना थियाैं । कमाउने निमाल एक्लै । जहाँ अभाव त्यहाँ कलह, भनेझैँ अब हाम्रो परिवारमा कलहको बीजारोपण भइसकेको थियो । निमाल मलाई धेरै सम्झाउने कोशिस गर्दथे । म मेरो माइतीको ध्वाँस देखाएर सासु–ससुरा र निमाललाई दुःख दिने गर्दथेँ ।
निमालले रक्सीलाई साथी बनाउन थालेका थिए । वैवाहिक जीवनमा बाँधिएको दुई वर्ष पुग्दानपुग्दै हामी टाढा भैसकेका थियौँ । मैले निमाललाई घृणा गर्न थालिसकेकी थिएँ । निमालसँग बस्न नसक्ने निश्चित भएपछि छोरी बोकेर बुवाआमाको शरणमा पुगेँ । त्यति बेला म एक्ली थिइन । मेरो साथमा थिइन् सानी छोरी । बुबाआमा छोरी त्याग्न भन्नुहुन्थ्यो । कहिल्यै नफर्किने गरी आउन भन्नुहुन्थ्यो । मलाई छोरी त्याग्न सजिलो थिएन । बुवाआमाको कुराले दोधारमा परेकी थिएँ । घरपरिवारको कुनै माया थिएन । आमा हुनुको नाताले मोनिकाको मात्र माया लागेको थियो मलाई ।
‘यो सबै पापको उपज हो । छोरी तेरी मात्र होइन, त्यस जँड्याहकी पनि हो । छोरी लिएर बसिस् भने जीवनभर त्यही जँड्याहाको शरणमा पर्नुपर्छ । यदि यो पापको डल्लो त्यही छोडिस् भने हामी तँलाई सकेजति गर्नेछौ ।’ के नै भनेनन् र मेरा बाआमाले । म अलमलमा परें । छोरी छोडौं या जीवनभर मरेको जिन्दगी बाचौँ ? निमालले मलाई सुख र खुसी दिन नसक्ने निश्चित भइसकेको थियो । मनभरि माया भएर पनि मोनिकालाई घरमा छोडेर पुन म माइत बस्न थाले । सुरुमा छोरीको मायाले सताउँथ्यो तर बुवाआमाको अगाडि व्यक्त गर्न सक्दिनथेँ । छोरीको मायालाई आत्मभरी साँचेर एसएलसी दिई पास भएँ । आईकम, बिबिएस गर्दै स्नातकोत्तर पास गर्दै आज प्रतिष्ठित व्यापारी भएकी छु ।
यो मेरो बुवाआमाको लगानी हो । मेरो पसिना र मिहिनेतको कमाइ पनि । त्यही छोरी जसलाई घरमा छोडेकी थिएँ एक कलंकित आमा बनेर । आज उनैले मलाई सफलताको पाठ पढाउन थालिरहेकेकी छिन् । उनीसँग प्रतिस्पर्धामा उत्रन मलाई निकै धौ–धौ परिरहेको छ । उनले मलाई चिनेकी छैनन् । म उनको नामबाट पहिले नै आकर्षित भएकी थिएँ । उनी मस्त निद्रामा थिइन् । मेरो आँखामा पटक्कै निद्रा थिएन । एकैछिनमा सयौं कुरा सम्झेकी थिँए मैले विगत, वर्तमान र भविष्यका ।
मैले घर नत्यागेको भए निमालले रक्सी त्याग्ने थिएनन् । उनको होस खुलेको हुनुपर्छ पछिमात्र । लगनशीलताको पाठ उनैले सिकाएको हुनुपर्छ मोनिकालाई । मैले स्नातकोत्तर गरेर व्यापारको दुनियाँमा सफल हुँदै जानु र अर्कोतिर छोरी साहसी र लगनशील उद्योगपति हुनु दुवै मेरा लागि अति खुसीका कुरा थिए । मैले जन्माएकी छोरीको यति ठूलो प्रगति ! कल्पना समेत गरेकी थिइन । गर्व लागिरहेको थियो छोरीप्रति । आफूप्रति भने पूर्ण रुपले सन्तुष्ट बन्न सकिरहेकी थिइन । ग्लानी भइरहेको थियो ।
आफैले जन्माएकी छोरीलाई छोरी भन्न सकिरहेकी थिइन । ‘मेरी आमा भनाउँदी कलंकित आइमाईलाई घृणा गर्दछु । मलाई जन्मै दिनुहुँदैनथ्यो । जन्म दिएपछि किन त्यागी होलिन् मेरी आमाले…?’ आदि सम्झँदै थिएँ । उनको नजरमा घृणित आमा थिएँ म । मप्रति उनी सकारात्मक होलिन् भन्ने पटक्कै लागेन । म जवानी छँदाको फोटो र मोनिकाको हालको अनुहार मिल्दोजुल्दो थियो । सोह्र, सत्र वर्षको उमेरमा नै म आमा बनिसकेकी थिएँ । ‘मिल्दो वर नपाएर बिहे गर्नुभएन ?’ भन्ने मोनिकाको प्रश्नमा सहमति जनाइसकेकी थिएँ । आफूलाई कन्या सावित गर्न खोजिरहेकी थिएँ छोरीकै अगाडि । मोनिकालाई के थाहा, आफैलाई त्यागेकी कलंकित आमा यही हो भनेर ।
‘लेखेको पाइन्छ देखेको पाइन्न’ भन्छन् बुढापाकाहरू । होजस्तो लाग्दैछ मलाई पनि । भविष्य बनाउन घर त्यागेकी थिएँ । दाइको बिहेपछि सधैंसँगै बसिरहन मन लागेन् । छोडिदिएँ माइतीघर । बस्नको लागि राम्रो घर बनाएकी थिएँ । एक्लो घरले चयन दिएको थिएन । आज भव्य पाटीको आयोजना गरी छोरीलाई भित्राएकी थिएँ अन्जानमा । यो सबै दैवको खेल हुनुपर्छ । नारी नभएको घरको जति महत्व हुँदैन त्यति पुरुष नभएको घरको पनि । मैले बुझिसकेकी थिएँ । छोरीलाई अन्जानमै भए पनि भित्राएकी थिएँ । श्रीमान् भित्राउन पाउँछु जस्तो लागेको छैन । अर्को बिहे गरेर घरजम गरेको कुरा मोनिकाको मुखबाट सुनिसकेकी थिएँ ।
निमालप्रति घृणा होइन माया पलाउन थालिसकेको थियो । निमाल मेरा पहिलो र अन्तिम पे्रमी थिए । उनलाई छोडेर अर्को विवाह गर्ने सोचमा कहिल्यै गइन् म । निमाललाई मैले मेरो सारा यौवन घोप्टाएकी थिएँ । यो सबै बिर्सन चाहन्नथेँ म अर्को बिहे गरेर । ‘अतीत सम्झेर झोक्राउनु हुँदैन भविष्य हेर्नुपर्छ’ भन्ने भनाइले मलाई यहाँसम्म ल्याएको थियो । त्यसैले ‘अतीत नकोट्याऊ’ भनेकी थिएँ मोनिकालाई ।
तर मेरो अतीत झनै बल्झिन थालेको छ यतिबेला । चाहेर पनि बिर्सन सकिरहेकी छैन । मोनिकाले मलाई निकै सम्मान गर्थिन् । व्यापारको सिलसिलामा सल्लाह गर्थिन् । उनको नजरमा मेरो इज्जत सम्मानित थियो । मलाई निकै अप्ठ्यारो महसुस भइरहेको छ । आफ्नै रगतलाई मैले आफ्नो भन्न सकिरहेकी छैन । छोरी भनेर सम्बोधन गर्ने अाँट ममा छैन ।
उनी निदाइरहेकी छन् । म छट्पटाइरहेकी छु । बाहिर चराचुरुंगीहरूले उज्यालो हुन लागेको संकेत गर्दै थिए । कुखुराहरू बासेको आवाज कानमा परिरहेको थियो । सूर्यको प्रभातकालीन किरणसँगै उनी उठ्ने छिन् । घर जाने तयारी गर्ने छिन्, यो निश्चित प्रायः थियो । ‘यो पनि तिम्रै घर हो छोरी’ भन्ने ममा अाँट थिएन । मलाई मेरो अन्तिम सहारा मोनिका नै हुन् भन्न मन लागेको छ । मोनिका यो स्वीकार्न तयार हुन्छिन् वा हुँदिनन्, असमञ्जसमा छु । उनी निदाइरहेकी छिन्, एकै तालमा एकै सुरमा । आँखा उनको अनुहारबाट टाढा जान मानेका छैनन् । हेरिरहेकी छु धित मर्ने गरी, अतीत र भविष्यको दोसाँधमा बसेर । निरन्तर निरन्तर…।
(स्रोत : समाचार दैनिक डट कम)