कविता : देश यस्तै चलिरहेछ

~शिशिर शर्मा~

यहाँ देश समस्याको दलदलमा गैरहेछ
गरिब जनता अत्याचार सहिरहेछ
जनता गरिब हुँदै गैरहेछ
नेताहरूकै सर्वेसर्वा भैरहेछ

यहाँ जनता दुःखको गीत गाइरहेछ
गरिब च्यातिएको लुगा लाइरहेछ
महङ्गी र भोलिवाद मौलाइरहेछ
तर नेताले मोजमस्ती पाइरहेछ

यहाँ भ्रष्टाचार र अपराध लुकिरहेछ
भ्रष्ट नेता झुटो आश्वासन भुकिरहेछ
नेपाली राष्ट्रियता र देशप्रेम सुकिरहेछ
देशको स्वाभिमान विदेशीसामु झुकिरहेछ

यहाँ जातीय भेदभाव र महिला हिंसा बढिरहेछ
सडक छेउमा फोहोर सजिरहेछ
विकृतिको जरा समाजमा गडिरहेछ
तर नेता कुर्सीका लागि लडिरहेछ

यहाँ गरिब शोषकबाट पिसिइरहेछ
जनता नेताहरूसँस रिसिइरहेछ
खाद्यमा अखाद्य पदार्थ मिसिइरहेछ
असहाय जनता हिस्सिइरहेछ

यहाँ अपराधी र नेता हात मिलाइरहेछ
गरिब आफ्नै दुःख सिलाइरहेछ
देशद्रोही नेता विदेशीलाई ढोगिरहेछ
अनि राज्यको सम्पत्तिमा सुख भोगिरहेछ

यहाँ गरिबको थाप्लोमा ऋण परिरहेछ
पश्चिमा संस्कृति समाजमा सरिरहेछ
जनता उपचार नपाई मरिरहेछ
तर नेता विदेश भ्रमण गरिरहेछ

यहाँ विकृति र विसङ्गति फैलिरहेछ
बाग्मती र विष्णुमति मैलिरहेछ
जनताको मगजमा झुटो सपना फलिरहेछ
देश यस्तै चलिरहेछ, यस्तै चलिरहेछ

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३७ – Aug. 7, 2013 – २०७० साउन २३ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.