~सुविन हाछेथु~
भाग्यको रेखा कोर्न पाए हुन्थ्यो,
शब्दको मर्म बुझ्न पाए हुन्थ्यो
खोलाको तीरमा बसी खुट्टा चोपेर,
कलकल बग्ने गीत सुन्न पाए हुन्थ्यो ।
पूर्णेमा जूनको लालिमा हेर्दै,
आकाशमा टिल्पिलाउँदो तारा गन्दै
झरिरहेको शीत निधारमा थापेर,
आँखाको पानी छोप्न पाए हुन्थ्यो ।।
सपनीको ओतमा आफूलाई लुकाउँदै,
कल्पनाको पहराले बाटो छेक्दै
रहेका पललाई भखारीमा राखेर,
मीठो भविष्य केलाउन पाए हुन्थ्यो ।
तिम्रो हात समाई अघि बढ्दै,
हरेक तगारोसंग जुझ्दै लड्दै
तिम्रो मुहारमा खुशीका मुस्कान छरेर,
जीन्दगीको यात्रा तर्न पाए हुन्थ्यो ।।
– सुविन हाछेथु