स्रष्टा जीवनी : स्वर हराएका भजन शिरोमणी – भक्तराज

~टिका भण्डारी~

भक्तराज ईतिहास:

बि.स. २०५४ सालमा ठिमीको डबली परिवारद्वारा भजन शिरोमणि उपाधिबाट सम्मानित मानबिय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक हुन् भजन शिरोमणि भक्तराज आचार्य । बि.स. २०३० देखि २०४६ साल सम्मको सांगीतीक यात्रामा करिब ४५० वटा गीत हरु गाउनु भयो उहाँले गाउनु भयका गीत हरु मध्ये २०-२५ वटा गीत हरु बाहेक आफ्नै संगीत रहेको छ।उहाँलाई २०४६ सालमा एउटा बज्रपात आइ लाग्यो ,उहाँ माथि काठमाडौँको बौद्धमा साँगातिक हमला भयो जसको कारण उहाको टाउकोमा १०० टाँका लगाउनु परेको थियो । उहाँको त्यो चोट निको नहुदै अर्को बज्रपात आइलाग्यो ,उहाँको जिब्रोमा देखियको सानो खटीराले क्यान्सरको रुप लियो जसको कारणले २०५० मा जिब्रो काट्नु पर्यो र सुरिलो स्वर हामी बाट टाढा हुनपुग्यो।

जति चोट दिन्छौ देउ मायालु मुटु भित्र साँचेर राख्ने छु
जति आँशु दिन्छौ देउ मायालु दुई आँखाबाट झार्नेछु

यस्तै मानबिय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक हुन् भजन शिरोमणि भक्तराज आचार्य । यो उनकै कालजयी गीत हो जुन आज पनि उत्तिकै श्रोताको अनुरोधमा बज्ने गर्छ रेडियोहरुबाट । तर यस्ता कालजयी र अजम्बरी गीत गाउने ति गायक यसबेला कहाँ छन्, कसरि दिन बिताउँदैछन् भन्ने कुरा शायदै धेरैको जानकारी भन्दा बाहिर छ । उनि गुपचुप एकान्तमा छन् । उनको गायन शक्ती नै कसैले खोसेको छ, उनको अजर अमर जिब्रो नै कसैले लुछेको छ । उनले जीवनमा न कुनै गल्ति गरेकाहुन्, न अपराध, केवल राष्ट्रलाई सयौं बर्ष पुग्ने आधुनिक, भजन, स्वदेशगानहरु गाएका हुन् , त्यतिनै सफल संगीतहरु पनि गरेका हुन् । त्यसकै राप ताप सहन गर्न नसक्ने र सफलताको सिंडी उक्लिएको देख्न नचाहने समुहको शिकार बने आखिर । बिडम्बना, कुनै पापी आयो नेपाली संगीतमा जसले कालजयी र अजम्बरी भनिएको उनको जिब्रो छिनभरमा चुँडेर लग्यो । यहीकारण बि.स. २०४६ सालदेखि आजसम्म उनि ठुलो पिडामा बाँचेका छन् । त्यो बेलादेखि आजसम्म उनको पेटमा अन्न परेको छैन । दुध र फलफूलको रसको भर छ । हिजो उनको गायन शक्तिको राप ताप हुँदा संचार माध्यम र आफ्ना भनिनेहरु घर तथा स्टुडियोमा भेट्न लर्को मारिरहेका हुन्थे त्यो अवस्था पनि आज छैन । बि.स. २०३० सालदेखि बि.स. २०४६ सालसम्म केवल १५ बर्षको अन्तरालमा रेडियो नेपालमा गाएका उनका अमर गीतहरुले नै प्राण दिइरहेका छन । ति गीत संगीत प्रति अगाध आश्था राख्ने लाखौं संगीत प्रेमीहरुको माया र स्नेहले जीवन उर्जा थपिरहेको छ । नेपाली सङ्गीतका उज्ज्वल तारा उनका सुपुत्रद्वय सत्यराज, स्वरुपराज र प्राण प्यारी श्रीमती सुशिला आचार्यकै न्यानो सामिप्यता, साथ् र प्रेमले मात्र बाँचिरहेका छन् । उनै महान गायक, संगीतकार एबं भजन शिरोमणी प्रति आजको लेख समर्पित छ ।

जीवन संघर्ष :

गायक भक्तराज आचार्यको जन्म बि. स. १९९९ साल असोज १६ गते धनकुटाको कुरुले तेनुपा गाउँमा माता रेणुका आचार्य तथा पिता बलभद्र आचार्यका पुत्ररत्नका रुपमा भएको हो । उनका दुई सन्तान सत्यराज आचार्य र स्वरुपराज आचार्य हुन् । दुवै नेपाली संगीत क्षेत्रका प्रिय गायक हुन् । दुवै बैवाहिक जीवनमा प्रवेश गरिसकेका छन् । सन्तानका अभिभावक समेत भई सकेका छन् । भक्तराज श्रीमती सुशिला आचार्य समेत कुनै बेला रेडियो नेपालकी कर्मचारीका रुपमा थिइन् । भक्तराजले आफ्नो करियर निर्माणको क्रममा ईल्लाहबाद भारतबाट शास्त्रीय सङ्गीतमा ‘ संगीत प्रभाकर ‘ गरेकाछन भने यता आइए सम्मको अध्ययन समेत पुरा गरेका छन् । बि.स.२०३१ सालदेखि बि.स. २०६१ सालसम्म उनि रेडियो नेपालमा गायकको रुपमा नै लामो समय जागिरे जीवन बिताएका हुन् । यस बिचमा उनि सांगीतिक कार्यक्रमको शिलशिलामा भुटान, चीन , उत्तर कोरिया ,बर्मा, यु. ए. ई.,जर्मनी लगायतका देशमा आफ्नो गायन प्रस्तुत गरि सकेका छन् ।

भक्तराज सानै उमेर देखि गीत गाउने गर्दथे कुनै राम्रो रचना भेटे भने त्यसमा धुन हालेर गीत बनाएर गाउने समेत गर्दथे । तर उनको मन भित्र न गायक बन्ने सपना थ्यो न त संगीतकार नै । जीवन संघर्ष गर्ने क्रममा भक्तराज भारतको डुवर्स पुगे । त्यहाँ सांचिकै जीवन संघर्ष गरे उनले आफु र परिवार पाल्नका लागि । उनि स्थानीय स्टेजहरुमा गीत गाउँथे । यतिकैमा एक कार्यक्रममा नेपालबाट कार्यक्रम गर्न गएका माणिकरत्न जस्ता दिग्गज गायकको आँखामा पर्छन उनि । माणिकले त्यस्तो आवाज भएको गायक त्यो भन्दा अघि कहिलै काठमाडौँ बाहिरको भ्रमणमा देखे भेटेका थिएनन् । भक्तराजको आवाज सुन्ने बित्तिकै उनले सिधै दायाँ बायाँ नगरी काठमाडौँ आउन निम्तो दिए । आफ्नो आवाजको बारेमा खुलेर नेपाली संगीतका कुनै दिग्गज कलाकारले प्रसंशा संगै काठमाडौँ नै आउने निम्तो गरेपछि भक्तराजमा पनि आत्मविश्वास र साहस जुट्यो उनि काठमाडौँ आएर रेडियो नेपालमा स्वर परिक्षा दिए सफलता प्राप्त गरे । बि.स.२०३० सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगीतामा संगीतकार अम्बर गुरुङ्गको रचना संगीतमा गाएको ‘होसियार’ बोलको गीतबाट यिनले प्रथम उत्कृष्ट गायकको पुरस्कार पाए पछि नै यिनको जीवनले कोल्टे फेर्यो । त्यसपछिका दिनमा आफ्नो गायन कला, प्रतिभा, क्षमता, अध्ययन र अभ्यासलाई स्तरोन्नति गर्दै यी अजर श्रष्टाले आफ्नो सांगीतिक जीवनको १५ बर्षको अवधि मै ४५० जति गीत गाए । उनको गायन ख्यातिकै कारण आचार्य नामक एक स्तरीय नेपाली चलचित्र समेत निर्माण भइ प्रदर्शन भै सकेको छ जसले धेरैको मन लुट्य़ो । उनकै जेष्ठ पुत्र सत्यराजले पिता भक्तराजको जीवन अभिनय गरेर धेरैको मन छोए ।

आनीबानी र सांगीतिक स्वभाव :

गायक भक्तराज आचार्य एक अत्यन्त सफल र कालजयी संगीतकार पनि हुन् । उनले संगीत गरेका गीतहरु आम संगीतप्रेमी श्रोतामाझ लोकप्रिय छन् । रेडियो नेपालको श्रोता अनुरोध र फ़र्माईसी गीति कार्यक्रममा सयौं पटक श्रोताले रोजाइमा सुन्ने गरेका छन् । कतिपय संगीतका नवोदित प्रशिक्षार्थीहरुले तिनै गीत गाएर स्वर परिक्षा दिने गरेका छन् । आफ्ना गीतहरु प्राय सबै आफै संगीत गर्ने, त्यसको संगीत संयोजन पनि गर्ने , बाद्यबादकहरुलाई गीतको ईन्टरल्युट, प्रिल्युट र काउन्टर म्युजिक अनुसारका सुहाउँदिला धुनहरु सिर्जना गर्ने , गीतमा प्रयोग हुने कर्ड्सबारे गहन हेक्का राख्ने , सुरताल, लय, मिठास र पकडमा गहिरोगरी ध्यान पुरयाउने गर्दथे उनि । उनको संगीत श्रवण शक्ती यस्तो थ्यो कि २४ वटा बाद्ययन्त्र बजिरहेको स्टुडियोमा उनि मग्न भएर गीत गाईरहेका हुन्थे । त्यसमा कुनै बाद्यबादकले सानु मात्र नोट तलमाथि गरेमा, छुटेमा, या बेसुर बजाएमा तुरुन्त गाउन रोक्थे र फलानोले नोट मिस गरयो भन्थे । अर्थात उनि मन मस्तिष्क र श्रवण शक्ती एकैपटक परिचालित गर्थे । यो क्षमता सबै गायकमा हुँदैन । सामान्यतया गीत गाउनेले स्वर ताल लय मिठास मै ध्यान दिन्छन । उनका कुनै गीतमा आधुनिकता कुनै गीतमा शास्त्रियता र कुनै गीतमा दुबैको फ्युजन र कुनै गीतमा नयाँ प्रयोग उनका सांगीतिक बिषेशता हुन् । उनि प्राय रेडियो नेपालमा स्वराभ्यास गरिरहेका भेटिन्थे स्टुडियोमा । उनको स्वभिमानी प्रबृत्तिलाई कसै कसैले अभिमानसंग पनि जोडथे तर यथार्थमा उनि संगीतमा कुनै किसिमको सम्झौता नगर्ने श्रष्टा पक्कै हुन् । उनि ७ सुर अलंकार गरेर मात्र गायन हुँ भन्नेहरुलाई गायक नै ठान्दैननथे , गायकले १२ वटै सुरमा अलंकार गरेर देखाउनु पर्छ भन्ने गर्थे । उनि संगीतका १२ वटै सुरमा आरोह अवरोह र आलंकारिक टेक्निकहरु प्रस्तुत गरेर समेत आफ्नो गायकी प्रस्तुत गर्थे । उनि पाइन्ट, सर्ट, टोपीमा सजिएर साईकलमा रेडियो नेपाल आउने गर्थे । त्यसो,त नेपाली संगीतका हस्तीहरु प्राय सबै साइकलमै रेडियो नेपाल आउने गर्थे त्यसबेला । उनि साधारण भएर पनि केहि आनीबानीमा क्लिष्ट थिए । प्रष्ट , निर्भिक ,शालीन र शिष्ट बोलि व्यवहार थ्यो उनको । सधैं स्टुडियो साधनामा रमाउने उनि । सत्य स्वरुपका अनुसार पहिले पहिले उनि घरमा पनि दैनिक ४ देखि ६ घण्टा नित्य रियाजमा नै दिन बिताउँने गर्थे भक्तराज । उनको संगीतमा एकांकी पन या एकोहोरो प्रवृत्ती मात्र सुनिन्न थ्यो, गीतको कम्पोजिसनमा बिबिधता , गायन प्रतुती र गायकीमा बिबिधता , गीतका बीच बिचका साना तर महत्वपुर्ण धुन निर्माणमा बिबिधता , टोनिक कर्ड्सको प्रयोजनमा बिबिधता , रेन्जमा बिबिधता , र रागमा आधारित गीतको बुनोट र संरचना आधार निर्माणमा समेत बिबिधता प्रस्तुत गर्न उनि सफल र माहिर थिए । यसलाई संगीतमा असाधारण प्रतिभा मानिन्छ जो भक्तराजको सफलताको राज थ्यो ।

भजन शिरोमणी भक्तराज :

भजन शिरोमणि भक्तराज आचार्य नेपाली संगीतप्रेमी श्रोताजनबाट अभिनन्दित एबं सम्मानित व्यक्तित्व हुन् । गायक आचार्यलाई बि.स. २०५४ सालमा ठिमीको डबली परिवारद्वारा भजन शिरोमणि उपाधिबाट सम्मानित गरिएको हो । यो सम्मान त्यसै प्राप्त भएको हैन उनले आधुनिक तथा भक्ती संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर हो । उनले रेडियो नेपालमा प्रारम्भिक दिनहरु देखिनै भक्ती संगीतको रेकर्डमा बिशेष ध्यान् पुर्याएका हुन् जसको परिणाम नै उनका राम्रा भजनहरु रेकर्ड हुन सकेका हुन् र त्यसले स्रोताको मन मुटु र हृदयमा गहिरो गरि छाप बसाएका छन् । आउ न आउ कृष्ण ( चेतनदेब ), दुर्गे देउ भक्तिदेउ मलाई ( खेमराज केशबशरण ), तन मन बचनले ( पुरुषोत्तम सापकोटा ), राम यहीं छन् ( राममणि रिसाल ), श्रीराम प्रभुको ( ठाकुरप्रसाद लुइंटेल ), दुर्गे तिमी नै ( रुद्रराज आचार्य ), सजल सजल यो ( राममणी रिसाल ), हामी भुलेछौँ ( राममणि रिसाल ), जब मानव हरि (खेमराज केशवशरण ), ईश्वर प्रभु नै ( रुद्रराज शर्मा ), भगवान दर्शन कसरी ( खेमराज केशवशरण ), भवसागरमा डुबी ( रुद्रराज आचार्य ), हे नाथ प्रभु ( भैरबनाथ रिमाल ) आदि उनका चर्चित भजनहरु हुन् प्रारम्भिक र मध्य चरणका उनले सांगीतिक जीवनको उत्तरार्धमा गाएका भजनहरु झनै लोकप्रिय र मन मनमा बसेका छन् भक्तिसंगीत प्रेमीहरुको । एकदिन मैले प्रभुसंग सोधें (लक्षमण लोहनी ), मैले प्रभुको दर्शन (पुरुषोत्तम सापकोटा ), या देबी सर्बभुतेशु ( पुरुषोत्तम सापकोटा ), हे कृष्ण आउ (माधवराज शर्मा ), निषदिन प्रभु (अमृत श्रेष्ठ ), सब निदाए ( कन्चन पुडासैनी ), अनन्तदेखि बगी ), प्रेम प्रभुको ( राममणि रिसाल ), यो जीवनलाई ( कोइलीदेबी ), व्यर्थै जीवन बित्यो ), लौन अब ( केशब लोहनी ) ,दुर्गे भवानी ( ठाकुरप्रसाद लुईंटेल) ,कति लिन्छौ परिक्षा ,( श्यामदाश वैष्णव ), न धन त्यागेर ( राममान तृषित ) लगायतका भजनहरु उनले गाएका भक्ति संगीतमा लोकप्रिय छन् । उनले गाएका ९० % भजनमा आफै संगीत भरेकाछन् भने बाँकी संगीतकार नातिकाजी, दिब्य खालिङ्ग, हुतराज शर्मा, शिवशंकर, कृष्णनारायण, गणेशप्रसाद , हरिबहादुर , फत्तेमान , कृष्णमान , रत्नमान , प्रेमदासप्रकाशले संगीत गरेका छन् । अहिले पनि उनका भजनहरु रेडियो नेपाल लगायतका रेडियो माध्यमहरुबाट हरेक बिहान गुन्जन्छन ।

गीतकार ,संगीतकारहरु बिच भक्तराज :

गायक भक्तराज आचार्यले आफ्नो गायन करियरको प्रारम्भिक दिनहरुमा गीतकार किरण खरेल, रुद्रराज आचार्य, पुरुषोत्तम सापकोटा, गोपाल योञ्जन, उत्तम नेपाली, देव बज्राचार्य, द्वारिका आचार्य, मिठा पराजुली, उत्तम श्रेष्ठ, रत्नशमशेर थापा, बिष्णुप्रसाद घायल , दिब्य खालिङ्ग ,माधवमणीराज भण्डारी , ईश्वरबल्लभ , बिदुर खंडकाका गीतहरु गाएका छन् । यी मध्ये उनि आफैले अब भन्नलाई, मलाई प्यार , यो साथ् नछूटोस, हजार आँखा हेर्ने, बिहानीको शितल , सारा सबै आशा , प्रिय तिम्रो , जति भाग्यमा , तस्बिर उनको , माया मेरी साँझ बनि , मेरो दिल लिएर र मायालु तिमीलाई बोलका गीतहरुमा आफैले संगीत भरेका हुन् । सुरुवातिचरणका गीत, तिम्रा सुखहरु गीतकार ( किरण खरेल) , मलाई भेट्न ( उत्तम श्रेष्ठ ), ढल्कीरहेछ जुनको ( रत्नशमशेर थापा ) तिन गीतहरुमा शिवशंकरले संगीत दिएका हुन् भने ‘मेरो छेउ कोमल’ गोपाल योञ्जनको शब्द संगीत हो । ‘मैले रुने र तिमी हाँसिदेउ’ दुई गीतहरु नेपालका प्रशिद्ध एकर्डीयनबादक समेत रहेका मदन परियारले संगीत गरेका हुन् भने ‘जस्तो तिमी अजर ‘कल्पना मेरो’ दुई गीतहरु दिब्य खालिङले रचना तथा संगीत गरेका हुन् । यसैगरी ‘कल्पना मेरो’ ( माधवमणीराज भण्डारी ) मा मदन दीपबिम र ‘झरी सके आँशु’ (रुद्रराज आचार्य ) मा गायन हस्ती फत्तेमानको संगीत रहेको छ । यी गीतहरुले गायक भक्तराज आचार्यलाई नेपाली संगीतको क्षेत्रमा कालजयी गायककोरुपमा स्थापित गरायो । चर्चा परिचर्चा दिलायो । नेपाली संगीतमा एक अब्बल गायकको प्रवेश भएको अनुभुती दिलाउन सफल रह्यो ।

बि.स. २०३४ सालदेखि २०४० सालसम्म मुलत रेडियो नेपालमा रेकर्ड भएका गीतहरु मध्ये उनकै संगीतमा सजिएका “कथा मेरो अतितको, सबै बेहोशी नशा पिएर , एउटा बिरह ,भुल्ने सकिन त्यो , यो कथा सुरु ,सिम्रिकले धोईएको , तिम्रो मनमा , यतीसम्म प्रिती , आँखाका आँशु , सागर छ गह भित्र , मुटु जलिरहेछ उनको सांगीतिक जीवनकै कोशेढुंगा साबित भएका गीत संगीतहरु हुन् । यी गीतहरुले उनलाई कालजयी एवं अमर श्रष्टाकारुपमा स्थापित गरेको छ । यसताका उनले अन्य प्रशिद्ध संगीतकारहरु शम्भुजित बास्कोटा , शिवशंकर , प्रकाश गुरुङ , सरोज कार्थक , बुलु मुकारुङ् ,नोर्बु छिरिङ्को संगीतमा पनि आधुनिक गीत रेकर्ड गरेका छन् भने आफ्नै संगीतमा भजन र स्वदेशगान पनि रेकर्ड गरेका छन् । त्यसबेला उनले गीतकार किशोरप्रसाद शर्मा , सुबाषचन्द्र ढुंगेल, रबि प्राञ्जल , बिरेन्द्र पाठक , प्रदीप उपाध्याय , राम कुँवर , बालकृष्ण सजीव , भुषण खरेल , रबिन्द्र के.सी., ईश्वर बल्लभ , पुरुषोत्तम सापकोटा , मोतीराम भट्ट , परशुराम भट्ट , धनेन्द्र बिमल, अमृत श्रेष्ठ, दिनेश अधिकारी , सरोज कार्थक ,बिनोद ढकाल , हरिभक्त कटवाल , सरोज कार्थक , भिमनिधी तिवारीका रचनाहरु गाएका छन् । यसताका अन्य प्रसिद्ध संगीतकारहरुद्वारा संगीत भएका चर्चित गीतहरु पनि गाए उनले । ति गीतहरु – जीवन भन्नु त घात छ ( रचना: दिनेश अधिकारी, संगीत : नर्बु छिरिङ् ), सपनीमा आज मैले ( स्व. हरिभक्त कटवाल, संगीत : बुलु मुकारुङ ), आँखामा केहि ( रचना : धनेन्द्र बिमल ,संगीत : शिलाबहादुर मोक्तान ), मायाको परिवेश ( रचना : भुषण खरेल , संगीत : प्रकाश गुरुङ्ग ), हिंड्दा हिड्दै ( रचना : प्रदीप उपाध्याय, संगीत : शम्भुजीत बास्कोटा ), बिश्वाशघात ( रचना : राम कुँवर, संगीत : चित्र शिकारु ), दुई मुटुको माया ( रचना : बालकृष्ण सजीव, संगीत : शिवशंकर ), कहीं कतै हराएँ ( रचना संगीत सरोज कार्थक ) रहेका छन् । मुटु जलिरहेछ, जति चोट, हजार सपनाहरुको, जीवन भन्नु त घात छ , प्रिय तिम्रो, सबै बेहोसी नशा, सागर छ गह भित्र , ,जहाँ छन् बुद्धका आँखा, मायाँ मेरी साँझ बनि, हजार आँखा हेर्ने, किन फेरी माया सम्झी (चलचित्र भाग्य रेखा ), आदि उनका अजम्बरी आधुनिक गीतहरु हुन् जसले उनको स्वरको गहिराई र संगीतको पहिचान बोकेको छ । कुनै भर्खरै बामे सर्दै गरेको नोवोदित गायक होस् या सङ्गीतका उस्तादहरु हुन् तिनका स्वराभ्यास गर्ने गीत प्राय उनकै सङ्गीतका हुन्छन अहिले पनि । किनकि उनलाई नेपाली सङ्गीतका नयाँ पुस्ता स्वर – ब्याकरण कै रुपमा मान्ने गर्दछन ।

सफल संगीतकारका रुपमा भक्तराज :

यस कालखण्डमा रेकर्ड भएका उनीद्वारा संगीतबद्ध तथा अन्य प्रसिद्ध संगीतकारहरुका संगीतमा सजिएका उनका आवाजहरु अमर र अजर प्रकृती छन् । त्यसबेलाको स्वर्णिम युगको समेत प्रतिनिधित्व गर्छन ति गीतहरुले । यसैगरी बि.स. २०३५ सालदेखि बि.स. २०४२ सालसम्म रेडियो नेपालमा रेकर्ड भएका उनका गीतहरु सुन्दा जो कोहीलाई लाग्छ – गायनमा जत्तिकै ससक्त हुन् भक्तराज संगीतकारका रुपमा पनि । उनका संगीत एक पछि अर्को लोकप्रिय बनेका छन् यस समयमा पनि । केहि शास्त्रीयता, केहि आधुनिकता अनि केहि मौलिकपन यिनको बिशेषता नै रह्यो संगीतमा । त्यसताका उनले आफ्नै संगीतमा गाएका गीतहरु – ‘मेरो गीतहरु’ ( रचना पनि आफ्नै ), मैले काँडाहरुसंग ( द्वारिकानाथ खनाल ), कोही नगरोस प्रेम ( बिरेन्द्र पाठक ), आफ्नो भन्नु ( उत्तम श्रेष्ठ ), झरना तिमी नझरी ), (आफ्नै रचना समेत), मेरो साधनाको ( पुरुषोत्तम सापकोटा ), मलाई जीवन चाहिन्छ (नकुलकाजि), पिर्न पो थाल्यो ( दिनकर प्रधान ), यो जोवन तिम्रै हो ( रविराज भण्डारी ), नेपाल हाम्रो रखबारी (उपेन्द्रराज प्रेमी ),जहां रहेनी ( रुद्रराज आचार्य ) ले नेपाली संगीतको क्षेत्रमा बेग्लै स्वाद सन्तुष्टी र मानक समेत निर्माण गर्यो । गीती भावमा शुद्धता, शब्दोच्चारणमा शुद्धता, सुर, ताल, लय, गमक, मिड,मुर्छना, मुर्की र मिठासमा बलियो पकड र प्रस्तुतीमा बिशेष दखलसहितको प्रभाव सिर्जना गर्न गायक भक्तराज आचार्य जति सफल रहे त्यतिनै उनका गीतहरु बेग्लै परिस्कारका साथ् आम श्रोतामाझ सफल रहे । त्यसताका गायक भक्तराज आचार्यले संगीत प्रबिण नरराज ढकाल, अम्बर गुरुङ , बिष्णुप्रसाद घायल , किरण खरेल , रत्नसमशेर थापा , कन्चन पुडासैनि , निरबिक्रम प्यासी , विश्वबल्लभ , बुद्धबिर लामा , द्वारिकानाथ घायल , बिरेन्द्र पाठक , नकुल काजी , दिनकर प्रधान , रविराज भण्डारी , केशव प्रधान , उपेन्द्रराज प्रेमीका शब्दहरुमा आफ्ना ससक्त आधुनिक सुगम गीतहरु रेकर्ड गरेका छन् ।
गायक आचार्यका आवाजमा राष्ट्रियभावका स्वदेशगानहरु समेत निकै लोकप्रिय छन् नेपाली संगीतमा । जहाँ छन् बुद्धका आँखा ( डा. बमबहादुर जिताली, संगीत : गायक स्वयम् ), जन्मेका हामी नेपाली ( निरबिक्रम प्यासी ,सुमनकुमार नेपाली ), हामी देशको लागि (रचना : विश्व बल्लभ ,संगीत : शिवशंकर ), नेपाल हाम्रो रखबारी (रचना : उपेन्द्रराज प्रेमी, संगीत : गायक आफै ), जहाँ रहेनी ( रचना : रुद्रराज आचार्य ,संगीत : गायक आफै ), होशियार यसबखत ( रचना ,संगीत- अम्बर गुरुङ ) उनका चर्चित स्वदेशगानहरु हुन् । राष्ट्रभक्तिको भाव जगाउन नेपाली संगीतमा यी स्वदेशगानहरु सफल देखिएका छन् ।

उपलब्धि :

गायक भक्तराज आचार्यले संख्यात्मक भन्दा गुणात्मक कृति निर्माणमा जोड दिएका छन् । धेरै गरेर पछुताउनु भन्दा थोरै स्तरिय गरेर गौरब गर्नु जाती हुन्छ भन्ने भक्तराजले म्युजिक नेपालबाट समर्पण भाग १ र २ प्रकाशित गरेका छन् जुन गीतहरुले म्युजिक नेपालको सेल्स रेकर्डमा पनि राम्रो स्थान बनाएका छन् । यस्तै ‘हजार सपनाहरुको’ सिडी एल्बम पनि उत्तिकै श्रोताको रोजाईमा रहेको उनको चर्चित एल्बम हो । यसपछि उनले भजन संग्रह ‘समर्पण’ प्रकाशीत गरे । भक्ती संगीतमा यस एल्बमको उत्तिकै योगदान छ । त्यसो त उनका मूल कृती भनेकै रेडियो नेपालमा लाईभरुपमा रेकर्ड भएका गीत संगीतहरु हुन् जुन बि.स. २०३० सालदेखि बि.स. २०४६ सालसम्म उनले अनवरतरुपमा रेडियो नेपालमा रेकर्ड गरे । भजन, आधुनिक गीत, स्वदेशगान, बालगीत, चलचित्रको पार्श्व गायन गरि ४५१ भन्दा बढी गीतहरु उनले रेकर्ड गरेका छन् । यिनै अजर अमर र कालजयी कृतिको परिणाम नै आज पनि उनि नेपाली सांगीतिक आकाशमा उज्ज्वल दीप बनेर चम्किरहेका हुन् । उनका यी ४५१ कालजयी कृतिहरुमा ४२५ वटामा उनि आफैले संगीत समेत गरेका छन् । यहीकारण आफ्ना कृति आफै गाएर लोकप्रिय बन्ने श्रष्टाहरुमा अम्बर गुरुङ्ग, नारायणगोपाल, गोपाल योञ्जन, बच्चु कैलाशसंगै यिनको नाम पनि अग्रिम पंतिमा आउने गर्दछ नेपाली संगीतमा । त्यसो त भक्तराज एक सफल गीतकार पनि हुन् । उनीद्वारा रचित गीतहरु यस लेखमै समाविष्ट भईसकेका छन् । यस बिचमा उनले म्युजिक नेपालबाटै गीती क्यासेट, ‘भक्तराज आचार्यका आधुनिक गीतहरु’ सिडी तथा क्यासेटका रुपमा ‘जहाँ छन् बुद्धका आँखा’, भजन संग्रह क्यासेट सिडी ‘भगवान’समेत प्रकाशित गरेका छन् । आज पनि भक्ती संगीतमा यी भजनहरुको लोकप्रियता उतिकै छ ।

भजन शिरोमणी भक्तराज आचार्यले नेपाली संगीतको क्षेत्रमा अतुलनीय योगदान पुरयाएवापत जीवनमा महत्वपुर्ण पुरस्कार प्राप्त गरेका छन् । निरन्तर गायन यात्राका क्रममा या गायनमा अवस्थ र असक्त भए पछिका दिनमा समेत उनले उत्तिकै दर्शक, श्रोता एबं संगीत प्रेमीहरुका माया, ममता र स्नेह प्राप्त गरेका छन् । उनको जीवनमा सम्मान र पुरस्कारको क्रमलाई जोड्दा बि.स. २०३० सालदेखिकै ईतिहास तर्फ फेरी पनि फर्किनु पर्ने हुन्छ । जीवनमा पहिलो पटक रेडियो नेपालको प्राङ्गडमा काभ्रोको रुख मुन्तिर निर्मित भब्य सभ्य स्टेजमा उनि रेडियो नेपालद्वारा आयोजित देशब्यापी राष्ट्रिय गीत प्रतियोगीतामा अम्बर गुरुङ्गको रचना संगीतमा स्वदेशगान गाईरहेका थिए – हसियार यसबखत … उनको बेजोड प्रस्तुतिको कारण नै निर्णायक मण्डलीले उनैलाई प्रथम पुरस्कार दिलायो । रेडियो नेपाल प्रवेशको ढोका बलियै गरि उघ्रियो उनको जीवनमा । त्यसपछिका दिनमा उनले कहिलै पछि फर्केर हेर्न परेन । त्यसबेला सबैले एउटा बेजोड आवाज नयाँ पन र नयाँ तागतको साथमा नेपाली संगीतमा प्रवेश गरेको अनुभूति गरेका थिए । आखिर त्यो गलत साबित भएन त्यसपछिका हरेक पल त्यस भनाईलाई साबित गर्दै नै गए उनि । बि.स २०४१ सालमा त उनले रत्नरेकर्डिङ्ग संस्थानद्वारा आयोजित ‘शुभकामना साँझ प्रतियोगीतामा’ गायनमा प्रथम स्थान नै प्राप्त गरे फेरी । अब भने उनि राज्यको आँखामा पनि पर्न थाले, बि.स. २०४८ सालमा उनले ‘प्रबल गोरखा दक्षिणबाहु’ पनि प्राप्त गरे । प्रसिद्ध गीतकार छिन्नलताको नाउँमा स्थापित ‘छिन्नलता गीत पुरस्कार’ पनि प्राप्त गरे बि.स. २०५१ सालमा । जब उनको जीवनमा ठुलो बज्रपात पर्यो, जव उनि माथि अकर्मन्यढंगबाट आक्रमण भयो जसको परिणाम अत्यन्त पीडादायक जीवन व्यतित गर्न बाद्य बनाईयो, यस्तोबेला पनि उनलाई सम्मान, आदर , अभिनन्दन र लाईफ टाईम अचिभमेन्ट अवार्ड दिन चाहने संघ संस्थाहरुको कुनै कमि रहेन । एक पछि अर्को सम्मान र पुरस्कार जनस्तरबाट समेत प्राप्त गर्दै गए उनि । बि.स. २०५४ सालमा नै उनले ठिमीको डबली परिवारद्वारा नेपाली संगीतमा अनवरतरुपमा अढाई दशकदेखि पुर्याउंदै आएको अतुलनिय र अमुल्य योगदानका साथै भक्तीसंगीतमा कायम गरेको नयाँ सांगीतिक रेकर्ड र योगदानको उच्च मुल्यांकन गर्दै उनलाई ‘ भजन शिरोमणी’ को उपाधी प्रदान गरियो । त्यसोत बि.स. २०५४ सालमै भक्तराजलाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ समेत प्रदान गरियो । बि.स. २०५५ सालमा राष्ट्रिय व्यक्तित्व घोषित भए उनि भने बि. स. २०५७ सालमा ‘सुविख्यात त्रिसक्ती पट्ट’ प्रदान गरियो । बि.स. २०५८ सालमा ‘बिरेन्द्र ऐस्वर्य पदक’, बी.स. २०६१ मा ‘भक्तिसुधा सम्मान’, बि.स. २०६१ सालमै ‘न्युयोर्क कलामंच अवार्ड’, बि.स. २०६४ सालमा ‘ईमेज लाईफटायम एचिभमेन्ट अवार्ड’ , बि.स. २०६५ सालमा ‘हिट्स एमएम लाइफटायम एचिभमेन्ट अवार्ड’, बि.स. २०६६ सालमा ‘भिमविराग संगीत सम्मान’ र त्यसपछि उनले ‘सानमेगल लाइफ टाईम एचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन् । यस पश्चात पनि केहि उल्लेखनीय पुरस्कारहरु उनले प्राप्त गरेका छन् । यी सबै जीवनका बहुमुल्य पुरस्कारसंगै भजन शिरोमणि भक्तराज आचार्यले सबैभन्दा ठुलो सम्मान र अभिनन्दन सिंगो नेपाल धर्ती र नेपाल आमाको न्यानो र चोखो आशिर्बाद अनि लाखौं लाख नेपाली जनताको सम्मान र गहिरो माया – प्रेम प्राप्त गरेका छन् ।

पिताका सम्बन्धमा छोरा सत्य- स्वरुप :

गायक पिता भक्तराजको मार्गदर्शन पहिल्यांउँदै सुपुत्र द्वय सत्यराज स्वरुपराज नेपाली संगीतको क्षेत्रमा उधाहरणीय गायकका रुपमा चम्किरहेका छन् । पिताका प्रति उनीहरुमा जति गहिरो जिम्मेवारी छ, पिताको बर्तमान अवस्था प्रति त्यतिनै गहिरो चिन्ता पनि छ उनीहरुमा । आफ्नो बुवाको अवस्था प्रति निकै मार्मिक प्रतिक्रिया दिंदै उनीहरु भन्छन ” एउटा खुल्ला जंगलमा निसंकोच र निस्फिक्री गर्जिरहेको सिंह यतिबेला साँघुरो चिडियाखानामा कैद भएर बसेको छ, आवाज समेत निकाल्न नसक्ने अवस्थामा पुगेको छ, तर उ सिंह त सिंह नै हो कहिलै स्याल हुन सक्दैन, बुवा हामीलाई संगीतबारे बिचार मन्थन हुँदा भनिरहनु हुन्थ्यो संगीत र मेरो सम्बन्ध पानि र माछा जस्तै छ भनेर ,अब कल्पना गर्नुस पानी बिना माछा कसरि बाँचेको होला ? ” यस भनाई बाटै पुष्टी हुन्छ कि उनीहरुमा आफ्ना पिता प्रतिको प्रेम, आश्था र श्रद्धाभाव ज्यादै उच्च छ ।

मेरो बिचारमा :

बि.स. २०४३ सालमा रेडियो नेपाल प्रवेश गर्दाताका देखि नै मैले उनलाई एक सबल, सफल र विलक्षण प्रतिभा भएका जाज्वल्यमान गायकको रुपमा राम्ररी चिन्ने अवसर पाएँ । त्यसपछि नै रेडियो नेपालमा रेकर्ड भएका उनका लोकप्रिय गीतहरुमा मेन्डोलिन बाद्यबादनमा साथ् दिने क्रममा उनको अद्वितीय गायन कलासंग साक्षात्कार हुने अवसर पाएको छु । मलाइ सम्झना छ, जहाँ छन् बुद्धका आँखा , माया मेरी सांझ बनी , माया तिम्लाई कै भन्न मन लाग्छ , जीवन भन्नु त घात छ लगायत ४ दर्जन गीतहरुमा मेन्डोलिन धुनहरु सजाएको छु । ति धुनहरु आजपनि उनका कालजयी आवाजहरु संगै भुन्भुनाउन्दै गुन्जन्छन गीतमा । उनी गायनमा असक्त र अस्वश्थ भएपछि नारायणगडमा दिनेश सुब्बा लगायत हामीले ‘भक्तराज आचार्य बिबिध सांस्कृतिक कार्यक्रम’ गरेको पनि सम्झी रहेको छु । भारतको सिलिगुरीमा ‘भक्तराज आचार्य – नारायणगोपाल’ स्वर्णिम सन्ध्यामा स्टेजमा उनका गीतमा मेन्डोलिनमा साथ् दिएको छु जहाँ नारायणगोपाल जस्ता लोकप्रिय गायकले १० वटा गीत गाउँदा उनले १० वटा आफ्ना अजम्बरी गीत गाइसके पछि केहि बंगाली दर्शकहरुको अनुरोधमा २ वटा हिन्दि गजल समेत गाएर छुट्टै क्षमता प्रदर्शन गरेको पनि सम्झन्छु । तर अन्तिम गीत ‘माया मेरी सांझ बनि’ गाउँदा गाउँदै डुवर्समा आफ्नी प्राण प्यारी आमाको निधन भएको खबर प्राप्त भएको थ्यो अनौठो संयोग पनि सम्झन्छु र सोहि स्टेजमै उनले बजाउंदै गरेको हार्मोनियममा आँशु खसालेका थिए । उनि संगै दर्शकहरुले पनि आशु खसाल्न बाध्य भएको त्यो पल , स्थिति भावविह्वल बनेको त्यो क्षण पनि सम्झन्छु । दर्शकको तर्फबाट एक मिनेट मौनधारण समेत गरी श्रद्धाञ्जली अर्पण गरिएको त्यो क्षण । हामी संगीतकार भुपेन्द्र रायमाझी, टीका भण्डारी, शिशिर क्षेत्री र गायिका लोचन भट्टराईसंगै नारायणगोपालले शिर झुकाएर श्रद्धा सम्मान अर्पण गरेको त्यो मर्मश्पर्शी पल सम्झी रहेको छु । कार्यक्रम अघि पछि त्यहाँ उनि प्रति फिदा ऊनका शुभचिन्तकहरुको पागलपन देखेको छु । स्वरको जादुले मानिसको मुटु हल्लाएको पनि अनुभूत गरेको छु । रेडियो नेपालमा लामो समय संगत गर्ने अवसर पनि पाएको छु । समग्रमा भन्नु पर्दा भजन शिरोमणी भक्तराज आचार्यलाई संगीत शिरोमणी उपाधि नै राज्यले दीनु पर्दछ भन्ने मलाई लाग्छ किनकि उनी ‘लिभिङ्ग लिजेण्ड’ का रुपमा नेपाली संगीतमा छन् । जो संग शास्त्रिय-आधुनिक गायन कला छ र जो संग संगीतका १२ वटै नोट प्रयोग गरेर जादुगरी गायन प्रस्तुत गर्ने क्षमता छ, जो संग स्वर – माधुरीको महत्ता फराकिलो छ, जो संग स्वरको गुञ्जन, कम्पन र मार्मिकताको अति सुन्दर संयोजन छ , जो संग शब्द उच्चारणमा बिसिष्टता र सुस्पष्टता छ, जो संग गायन मात्र हैन उत्तिकै संगीतको बिबिधता पनि छ , जो आधुनिक संगीतमा जति लोकप्रिय छन् उत्तिकै स्वदेशगान , भजन गायन र अन्यमा पनि लोकप्रिय र सुप्रसिद्ध छन् , जो संग कर्ड्स कम्पोजिसनमा बिशेष दखल छ , जो संग सुन्यबाट उठेर शिखर चुमेको जीवन संघर्षको कथा छ, वास्तवमा नेपाली संगीतले यस्ता स्वर्णिम र कालजयी व्यक्तित्व पाउन धेरै वर्ष लाग्ने छ तर त्यस्ता गायक आज जिब्रो काटिएर पिढा र छटपटी मा बाँच्नु परेको छ , यो बिडम्बना उनको मात्र हैन , सिंगो नेपाल र नेपाली संगीतको पनि हो । गायक भक्तराजलाई जसले शारीरिकरुपमा यो अवस्थामा ल्याइपुर्यायो ति भने इतिहासबाट कैले नउठ्ने गरि नामेट भैसकेका छन् , जसले उनको आवाज चाहेको थिएनन, भक्तकै स्वर र सुरले रेटिएर मर्नेछन तर उनि अझै हज्जार बर्ष बाच्ने छन् यसैगरी । आखिर उनका २ पुत्र सत्य – स्वरुपले पनि गर्विलोढंगबाट पिताको बिंडो थामेकै छन् , अझ नयाँ ईतिहास रच्ने सुरमा छन् उनीहरु । असंख्य सङ्गीत प्रेमीहरुको रोजाइमा छन् देश बिदेशमा पनि । जय होस् भक्तराज दाई तपाईंको गर्बिलो जीवन ईतिहासको ।

This entry was posted in स्रष्टा जीवनी and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.