कविता : म सुन्दर फूल हुँ

~क्रान्ति पराजुली~kranti-parajuli

फूल
म सुन्दर फूल हुँ
म फुल्दा मात्र सुवास छर्न सक्छु
त्यसैले त फुलिरहन चाहान्छु मुस्कुराउँदै
तर आमा
किन गिद्दे नजर लगाउँछन् राक्षसहरु
जुन झैँ छु भन्छन् तर किन दिदैनन् चम्किरहन
म ठ्याक्कै परी जस्तै छु रे
उसले भनेको
तर
तर, उ पनि त सुघिरहेछ मेरो वासनालाई
टिप्न चाहान्छ मेरो अस्तित्वलाई
म हाँसिरहन चाहान्छु आमा
त्यसैले कहिले काँडाको बीचमा फूल्छु
कहिले हिलोको बीचमा
कहिले भिर र पाखामा
आमा म बाटोको छेउमा मुस्कुराइरहेकी थिएँ
एक दिन त ठिटाहरुले मलाई तथानाम भने
आहा यसको जवानी,
आहा यसको बारुरी कम्मर,
आहा यसको छाति
“यसलाईचाहिँ च्यात्न पाए क्या मज्जा आउथ्यो यार”
हो त्यही दिन म सबभन्दा दुखी भएँ
फूल भएकोमा
आमा मलाई फूल हुनु छैन अब
ऊ तारिफका तारिफ गरिरहन्छ मेरो सुन्दरताको
उसलाई के थाह म सुन्दर भइरहन
सधै आहा… भइरहन
कति संघर्षशील छु
कुदृष्टि लगाउने थुप्रै छन्
निमेष मै मलाई चुड्न खोज्ने थुप्रै छन्
त्रासै त्रासमा वित्छ आमा मेरो जीवन
छामी हेर्नु त एक पटक मेरो मुटुलाई ढुङ्गाले थिचेको छ आमा
म डराइडराइ हाँसेकी छु
मेरो सुन्दरतामा लोभिएर
व्वाँसाहरुले नलुछुन्
मेरो अस्तित्व नमेटाउन्
आमा मलाई यति सुन्दर किन बनायौ
म सधैँ, डर, त्रास र भयमा बाँच्न चाहान्न
बरु
म त एकदमै दह्रो ढुंगा हुन चाहान्छु आमा
च्यातिनुको पीडा
फ्याकिनुको पीडा
चुडिनुको पीडा
झर्नुको पीडा अनि तल पर्नुको पीडा
मलाई मात्र थाह छ आमा
मेरो अस्तित्व एकैछिनमा लोप बनाउँछ ऊ
अनि भन्छ म हाँस्दा राम्री देखिन्छु
उसलाई के थाह उसले निमोठ्दा म ओइलाउछु
जब चुड्छ उसले रातमा अनि रक्सीको मातमा
खस्छु म भुइँमा मृतवस्थामा
आमा अध्यारो सधैँ कायम रहन सक्दैन
आज बिहानै म मान्छे भएकी छु
बरु ऊ पो आज फुलिरहेको छ गजक्क
सुन्दर फूल भएर
ऊ मलाई आकर्षित गर्न मगमग बास्ना आउने अत्तर
जिउभरी छर्किरहेको छ
अनुहारलाई चम्किलो पार्न
ब्राण्डेड क्रिम लगाउँदैछ
ऊ त सुन्दरतामा निखार ल्याउन
हेण्डसम पार्लरमा घण्टौँ बिताउँदैछ
वाक्स, फेसियल, र……गराउँदैछ
आह…उसको चौडा छाति
आह…उसको सुरिलो जिउ
आह…उसको कम्मर मुन्तिर उफ्रिरहने छुचुन्द्रो
आमा उ आफ्नो अस्मीता जोगाउन चाहान्छ रे
त्यसैले उ कहिले हिलोमा, कहिले पाखामा र कहिले
काँडाको बीचमा फुल्दैछ रे
एकदिन त उसले शिर निहुराएर
मेरा पाउ ढोग्न थाल्यो
कहाँ ढोग्नु मात्र
पाउको पानी खान लाग्दै थियो
मैले उसको आँखामा आँखा जुधाएर भनेँ
तिमी र म त एउटै रथका दुई पाङ्ग्रा
उ सरमाउदै भित्र पस्यो
आह उसको सर्मिलो अनुहार
सम्झिरहन्छु म
रातमा अनि रक्सीको मातमा ।।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.