~नव सापकोटा~
पूर्वोत्तर भारतमा नेपाली भाषा संस्कृतिको कुटुरोसहित नेपालीहरूको आगमन सन् १८२६ को इष्ट इण्डिया कम्पनी र असमको आहोम राजबीच सम्पादित सन्धिकाल र यसको छेउछाउको अवधिमा भएको मानिन्छ। नेपालीहरूले रीतिथिति, गीत–सङ्गीत, संस्कार–संस्कृति, उखानतुक्का, धर्मसँगैे एउटा विकसित भाषासमेत लिएर आए। पुराणकालमै पूर्वोत्तर आएका नेपालीहरू यहीँको रीतिथिति र बोली/भाषामा रंगिएर रैथाने भए भने पछि आउने नेपालीहरूले आफ्नो भाषा–संस्कृतिलाई बचाउँदै मातृभाषामा साहित्य–सिर्जना गर्न थाले।
पूर्वोत्तर भारतका नेपाल साहित्यका जनक अङ्ग्रेज फौजका पल्टने लेसनायक तुलचन आले हुन्, जसले मणिपुरको धावामा वीरतापूर्वक लडेर मणिपुरलाई अङ्ग्रेज हुकुमतका अधीनमा ल्याएपछि लोकछन्दमा ‘मणिपुरको लडाइँको सवाई’ (सन् १८९३) छापेर यस भेगमा नेपाली साहित्यको बीजारोपण गरे। लगत्तै धनवीर भण्डारीले ‘अब्बर पहाडको सवाई’ र ‘शिलाङको भुइँचालोको सवाई’, आत्मराम मगरले ‘नागहिलको सवाई’ तथा कृष्णबहादुर उदासले ‘असमको भुइँचालोको सवाई’ रचे, नेपाली जातिको ठेट ‘सवाई’ छन्दमा।
११३ वर्षे अवधिको यस भेगको नेपाली साहित्यको ढुकुटी बाहिरबाट हेर्दा प्रस्ट नदेखिए पनि गहिरिएर नियाल्दा असमिया भाषामा शिक्षा आर्जन गरेर पनि नेपाली साहित्य–सिर्जना गर्ने प्रतिभाहरूको योगदान नगण्य कदापि छैन।
यस भेगबाट जन्मेका नेपाली साहित्यका विशिष्ट कृतिहरूमा लीलबहादुर क्षत्रीको पहिलो उपन्यास ‘बसाइँ’ (१९५७) हो, जो नेपाली साहित्यमा सर्वाधिक छापिने ग्रन्थहरूमध्येमै पर्छ र यसले यो भेगकै नेपालीहरूलाई गौरवान्वित पारेको छ। यो भेगमा प्रकाशित अरु उल्लेखनीय कृतिहरू हुन्– हरिनारायण विद्याभूषणको ‘गीतमाला’, महानन्द सापकोटाको ‘मनलहरी’, जगन्नाथ गुरागाइँको ‘गुणरत्नमाला’, पद्मप्रसाद ढुङ्गानाको ‘रामायण सप्तरत्न’ (१९४१), हरिभक्त कटुवालको ‘भित्री मान्छे बोल्न खोज्छ’ (१९६०) र ‘यो जिन्दगी खै के जिन्दगी’ (१९७२), दिलबहादुर नेवारको ‘विचारमा डुबेको मान्छे’ (निबन्ध–१९७७), पुष्पलाल उपाध्यायको ‘उषा मञ्जरी’ (१९८८ मा साहित्य अकादमी पुरस्कार प्राप्त), लीलबहादुर क्षत्रीको ‘अतृप्त’ (उपन्यास १९६८) र ‘ब्रम्हपुत्रका छेउछाउ’ (१९८७ साहित्य अकादमी पुरस्कार प्राप्त), विष्णुलाल उपाध्यायको ‘आसामे नेपालीहरू’ (निबन्ध १९७०), गोपीनारायण प्रधानको ‘साइकल आइरहेछ’ (कविता १९७५), पुरुषोत्तम उपाध्यायको ‘भारतीय नेपालीहरू’ (निबन्ध १९७८), नव सापकोटाको ‘युकलिप्टस आउने पिँढीलाई आशीर्वाद’ (कविता १९८०) र ‘काव्यान्तर’ (१९९६)।
यसैगरी, युद्धवीर राणाको ‘चिहान नपाएका तक्माहरू’ (लामो कविता १९८१) र ‘मानव यात्रा’ (निबन्ध), अविनाश श्रेष्ठको ‘संवेदना ओ संवेदना’ (कविता १९८१) र ‘परेवा सेता काला’ (कविता १९८४), चन्द्रेश्वर दुवेको ‘तेस्रो आयामको शव परीक्षा’ (समीक्षा १९८१) र ‘नेपाली साहित्य एक सर्वेक्षण’ (समीक्षा १९८१), के.बी. नेपालीको ‘प्लेटफर्म’ (खण्डकाव्य १९८२), भविलाल लामिछानेका ‘अनागत’ (कविता १९८३) र ‘शब्द हुन् यी मेरा’ (कविता १९९६), अनिरुद्ध गौतमका ‘चश्माभित्रका घायल आँखाहरू’ (कविता १९८३) र ‘अज्ञात शब्दका पछिपछि’ (कविता १९८६), पदम क्षेत्रीको ‘आदिम सडक’ (कविता १९८५) र ‘तुराका नेपाली’ (निबन्ध १९९३), डा. भीमकान्त उपाध्यायको ‘सर्सती पढ्दा’ (समालोचना १९८५), दुर्गा घिमिरेको ‘समिधा’ (निबन्ध १९८५) र ‘शतभिषा’ (कविता १९९३), गुनु घर्ती ‘बैरागी’को ‘प्रायश्चित्त’ (उपन्यास १९८९), श्यामराज जैसीको ‘आसाममा नेपालीहरूको ऐतिहासिक पृष्ठभूमि’ (ऐतिहासिक प्रबन्ध १९९०), खड्गबहादुर कौशिकको ‘औँसीका रातः पूर्णिमाका रात’ (कविता १९९२), डा. लक्ष्मी पराजुलीको ‘उत्तर पूर्वाञ्चल भारतीय नेपाली समाज र साहित्य’ (१९९५) यस भेगका अरु उल्लेखनीय कृतिहरू हुन्।
पुष्पधर शर्माको ‘हाम्रो धुकधुकीः जराहरू’ (कविता १९९६), अर्जुन निरौलाको ‘शिशिरको बतास’ (उपन्यास १९७१) र ‘घाम डुबेपछि’
(उपन्यास १९७७), विक्रमवीर थापाको ‘टिष्टादेखि सतलजसम्म’ (उपन्यास) र ‘बीसौं शताब्दीकी मोनालिसा’ (कथा), मुक्ति उपाध्याय बरालको ‘अनन्त यात्रा’ (नाटक १९९८), गीता उपाध्यायको ‘आमा म फर्स्ट भएँ’ (शिशु उपन्यास १९९८) र र ‘मन्दाकिनी र अलकानन्दाको तीरैतीर केदार बद्रीसम्म’ (भ्रमण कथा २००३), प्रेमसिंह सुवेदीको ‘आम्रपालि’ (नाटक १९९९), मुक्ति गौतमको ‘मणिपुरमा नेपाली जनजीवन’ (१९९९), कृष्णबहादुर रावलको ‘नानी तारा नरोएको रात छैन’ (कविता १९९९), खडकराज गिरी ‘कथादेखि पर’ (कथा २००१), ज्ञानबहादुर छेत्रीको ‘अवलोकन’ (समालोचना २०००), मुन्नी सापकोटाको ‘कथा फूलबारी’ (बालकथा २००१), मोहन सुवेदीको ‘माटो, मान्छे र माया’ (२००१), पीताम्बर गुरुङको ‘म कुन्तला हुँ’ (लघुकथा २००१), छविलाल उपाध्याय खतिवडाको ‘देवकोटा’ (महाकाव्य), रोहित गौतमको ‘अग्निस्नान’ (उपन्यास २००१), गोविन्द शाण्डिल्यको ‘पूर्वारुण’ (हाइकू १९९७) र ‘गजल गान्धार’ (गजल २००६), डा. शान्ति थापाको ‘माया’
(गीत २००४), जयनारायण लुइँटेलको ‘दुबई हुँदै अमेरिकासम्म’ (भ्रमणकथा २००४), डा. जमदग्नि उपाध्यायको ‘असमका नेपाली साहित्यिक संस्थाहरू’ (निबन्ध २००४)लाई समेत नयाँ पुस्ताले उदाहरण मान्ने गरेका छन्।
असमिया नेपाली साहित्यिकहरूले मौलिक सिर्जनाका अतिरिक्त छिमेकी तथा विदेशी भाषाका उत्कृष्ट ग्रन्थहरूको समेत नेपालीमा रुपान्तर गरेका छन्। त्यसरी नै नेपाली साहित्यका विशिष्ट ग्रन्थहरू असमिया, हिन्दी, बङ्गला तथा अङ्ग्रेजी भाषामा अनूदित भएका छन्। पाँच जना नेपालीले अनुवाद साहित्यमै साहित्य अकादमी पुरस्कार भित्र्याएर आफ्नो क्षमता देखाएका छन्। काव्य, उपन्यास, निबन्ध/प्रबन्ध, जीवनी, स्मृति ग्रन्थका रुपमा यो भेगमा जे जति कृति सार्वजनिक भएका छन्, ती सबैको फेहरिस्त तयार गर्ने हो भने पूर्वोत्तर भारतको नेपाली साहित्य सङ्ख्यात्मक दृष्टिले निकै बृहत् भइसकेको अनुभव हुन्छ।
असममा रैथाने भइसकेका नेपालीहरूलाई असमिया समाजले आफ्नै जातिको अविच्छेद्य अङ्ग मान्ने गरेकाले असम सरकारले असमका नेपालीहरूको इतिहास प्रकाशन गर्न लागेको छ। यो कृतिले समग्र असमिया नेपालीलाई गौरवबोध गराउने पक्का छ।
– गुवाहाटी, असमबाट
(स्रोत : हिमाल खबरपत्रिका १८०)
Gyan bardhak r ati ramro aitihasik bibaran bhayeko lekh le Nepali sahityako bikash r samridhilai jankari garayeko 5.