कविता : छाँया शरीर

~जे. एन. दाहाल~

कान्छो हिजो जस्तै-
भित्ते घडीको निर्देशनमा
उठ्छ, सुत्छ र फेरि उठ्छ….
परिवारको अनुहार नियाल्छ र
ती कलिला आँखाभरि
आशा देख्दो हो
मनभरि निश्चल माया भएको
अनुभूत गर्दो हो
त्यसैले ऊ
खाजाको पोको बोकेर
निस्कन्छ जागिरतिर।

कान्छो कम्पनीमा टाइम कार्ड धस्दै
मेसिनमा पसिना चुहाउँछ
घण्टा प्रति घण्टाको
डलरमा हिसाब गर्दै
ऊ देख्छ -त्यो प्रतिबिम्बित पसिनामा
आफ्नै परिवार छ,
उनीहरूको प्रेम छ,
यो सम्झिएर मुस्कुराउँदा ..
मेसिनको एक छेउमा ठोक्किएर
जब कुइनाबाट आलो रगत बग्छ
तब कान्छो सोच्दछ
मन देशमा छ तर शरीर थाहा छैन
छाया बनेर कम्पनीमा
कुन्नि के-के गरी रहेको छ।

जे एन दाहाल
हेरिस्वर्ग, पेन्सिलभेनिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.