~दिल थापा~
यसरी ओइरियो शुभकामनाहरू
हिमपहिरो ओइरिए जसरी मैले थाम्नै सकिन ।
सायद शुभकामनाहरू
यो जिन्दगीलाई थियो ।
सायद शुभकामनाहरू
यो दुई मुठी सासलाई थियो ।
सायद शुभकामनाहरू
जिन्दगीलाई कुल्चेर हिँड्ने जिन्दगीलाई थियो।
आजकाल म धेरै सोच्छु ।
मेरो जिन्दगीलाई शून्यतामा लगेर सोच्छु ।
अनि मेरो जिन्दगीलाई
शून्यताभन्दा केही पर राखेर पनि सोच्छु ।
खै यो जिन्दगीको कैले लम्बाई पुग्दैन ।
कैले चौडाइ ।
गहिराई पुग्ने झन् कैले हो कैले ।
कति तन्काऊ
कति फुकाऊ
यो जिन्दगीलाई मैले ।
आजकाल त यो जिन्दगीलाई
तन्काउन पनि
फुकाउन पनि
छोडी दिए ।
त्यसैले होला चुमुरुक्क चाउरी परेको छ।
त्यसको फैलावट मैले हिजो
कल्पना गरेको जिन्दगीसम्म सरेको छ।
यो जिन्दगी सिनो पनि रहेछ।
वास्नासुजित फुल पनि रहेछ ।
गन्ध आएनी सुंग्नुपर्ने
बास्ना आएनी सुग्नुपर्ने ।
वास्नासुजित जिन्दगी भनेर म त्यो बालापन सम्झन्छु ।
सिनो भनेर अहिलेको औडाहा जिन्दगीलाई सम्झन्छु ।
हिजो मैले जिन्दगीलाई के सोच्थे ?
कस्तो परिभाषाभित्र राख्थे ?
आज त्यसले कुनै प्रकारको मूल्य राख्दैन ।
हो जिन्दगीलाई आस्तिक भएर सोचे पनि
नास्तिक भएर सोचे पनि
जिन्दगी शून्य नै रहेछ।
जिरो रहेछ।
नासवान रहेछ।
हामीले जिन्दगी भर गरिने प्रयासहरू फगत रहेछ।
यो जिन्दगीलाई तताए पनि ।
चिसो पारे पनि
हुने केही होइन ।
हिन्दु बने पनि क्रिश्चियन बने पनि
बुद्धि त नै बने पनि
यो जिन्दगीले लछारपाटो लाउने केही होइन ।
त्यसैले आजकाल यो जिन्दगीलाई
सडकको गल्लीगल्लीमा छाडा छोडिदिएको छु ।
त्यसैले होला एक दिन मलाई
नगरपालिकाले जथाभाबी छाडा छोड्दा
सडक दुर्घटना हुन्छ भनेर
सम्झाउन बोलाएको थियो।
अर्का दिन प्रहरी कार्यालयले
तपाईँको हराएको जिन्दगी
हाम्रो सम्पर्कमा आएको छ
लिन आउनु भनेर फोन गरेको थियो ।
दिल थापा मगर
दमौली तनहुँ
हाल जापान
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )