~एकु घिमिरे~
मेरो जन्मभूमी श्रीअन्तु-इलाममा एउटा उत्तरतिर बग्ने खोलो छ । त्यस्को नाम नै उत्तरे खोलो हो । मैले पहिलो पटक आफ्नै सहासले तरेको खोलो त्यही हो । मैले पहिलोपटक बाडी आएको देखेको खोलो , मैले पहिलोपटक पौडी खेली टोपलेको , माछा नभए पनि बिरालाको लागि गडेरा पक्रेर पुरूषार्थ देखाएको खोलो त्यही हो । मैले पहिलो पटक नुहाएको र चाखेको पानी उत्तरे खोलाकै विविध शिरमध्ये एकको हो । त्यसो त मैले पहिलोपटक नुहाएको पानी बगेर पनि यही खोलोमा मिसिएको पक्का छ । त्यसैले मैले खुव माया गर्ने सानो खोलो उत्तरे आजसम्म पनि मलाई आफ्नै लागिरहेको छ । देख्नमा आजस्म्म ठूला-ठुला खोलाहरु देखिसकेँ । कलकत्तामा हुगली नदी तरेँ , असामको ब्रम्हापुत्रमा तैरिएँ । नेपालका पनि पूर्वका सातै कोशी देखिसकेँ, नारायणी, कालीगण्डकी पनि तरेँ । तर त्यों सानो उत्तरे खोलोको जस्तो प्रेम अरुप्रति उब्जेको छैन ।
उत्तरे खोलो । मान्छेलाई यसरी ‘ए’ कार लगाएर बोलाउँदा खुव रिसाउँछन तर यो उत्तरे आजसम्म कहिल्यै रिसाएको छैन । प्रचण्डले पहिलो पटक प्रधानमन्त्रीको शपथ लिदैगर्दा कोशी रिसाएर बाटो नै छोडिदिएको थियो । त्यो भन्दा अघि र पछि नेपाल तथा विश्वका थुप्रै खोलाहरु रिसाएको सुनेको -देखेको छु तर उत्तरे विचरा बगिरहेछ नरिसाइकन निरन्तर उत्तरतिर।
नेपालका तमाम नदीहरु दक्षणतिर बगिरहँदा मलाई मनपर्ने खोलो चाहीँ किन उत्तर बगेको होला । मैले यसैलाई किन मन पराएको हुँला ? यी प्रश्नहरु म भित्र थिए र छन् । तर अर्को मनले उत्तर दिन खोजिरहेछ कि मलाई किन गुलावी रङ मनपर्छ ? घाम झुल्कनुपूर्वका डाँडाकाँडा , नसुसाई बगिरहेको खोला , लुकेर गहिरिएको ताल के कारणले मन परेका ? यस्तै होला त्यो खोला मन पर्नुको कारण । यसैमा चित्त बुझाउँछु । मलाई यस्तो पनि लाग्छ , मन पर्नुका पछी कारण नहुन पनि सक्ने रहेछ , हैन ?
संसार नै बिकासको गतिमा लम्किन चाहन्छ । गाउँहरू शहर हुने धुनमा छन् । खरका घरहरु करकटपाता र करकटपाताका घरहरु धलौटका हुने दाउमा छन् । खरिदार सुब्बा अनी सुब्बा अधिक्रित हुने रहरमा दौडिरहेका छन् । यस्तै कुदाई मध्येको एक हो हिमालबाट पहाड र पहाडबाट तराइ झर्नु । तर म त सुबिधासम्पन्न धरान उपमहानगरबाट उकालो चडेर पहाड पनि नाघिवरी हिमाली जिल्लामा रमाइरहेको छु । यो रमाइरहेको शब्द लेखमा जबर्जस्ती ल्याएको भन्ने नठान्नु होला । मलाई वास्तबमै यतिबेला आनन्द लाग्छ यो कर्मथलो चैनपुरमा बस्न । अलिकती पनि दु:ख छैन यता आउनुपरेकोमा । अनी सम्झन्छु म पनि त उत्तर नै बगिहिंडेको रहेँछु नि ! अनी मलाई उत्तरे खोलो मनपर्नु सामान्य नै रहेछ नि , हैन ?
मेरो जन्मभुमी श्रीअन्तु त्यसै सुन्दर छ । म त्यहीको सल्लाघारी , अम्लिसोबारी र डाँडाहरुमा लुकामारी खेल्दै हुर्केँ । सूर्योदयको मनोरम लामिमा र कञ्चजङ्घाको लज्जावती मुस्कान त मेरा बालसखी नै थिए । मेरो गाउँमात्र हैन पुरै ईलाम नै सुन्दर ठाउँ हो । यसो आमाको सारीको सप्को समातेर खाली खुट्टामै भए पनि स्कूल छोडेर जाने बजार भारतको मिरिक थियो जस्लाई इन्डियनहरु ‘छोटा कस्मिर’ भन्छन् । कक्षा दुईमा पढ्दा खुट्टामा ‘स्याप्टिक’ भएर दार्जेलिङको मरियम नर्शिङ होम त लामो समय बसेको अनि त्यहाँको सुन्दरतामा खुवै जिस्केको पनि । त्यसपछी जान्ने भएको घमण्ड पलाएपछि धेरै ठाउँको यात्रा गरेँ र गर्दैछु । तर यो बेलासम्म घुम्दा सबैभन्दा राम्रो लागेको ठाउँ समुन्द्र सतहबाट ४२२० मिटर उचाइमा रहेको सभापोखरी हो । विकट ठाउँमा रहेको उक्त पोखरीको दर्शन मैले तीन पटक गरिसकेँ । यो पनि सूदूर उत्तरमै पर्दो रहेछ ! अनि मैले बुझेँ कि जस्तो लाग्यो मलाई उत्तरे खोलो मन परेको रहस्य । म मान्छे नै उत्तरे रहेँछु क्यारे ।
जीवनमा आजसम्म कती पटक नुहाउनुभयो ? यस्तो प्रश्नको उत्तर नै हुँदैन । तर यती धेरै नुहाइमध्ये सम्झनायोग्य नुहाइ अर्थात अविश्मरणीय र आनन्ददायक नुहाइ त पक्कै होलान् ? मेरा चाँही छन् । आमाले तातो पानीले अन्तुको चिसोमा लुखुरी….. हावा- लुखुरी…….. भन्दै नुहाइदिएको बेला त भोगटेको काँडाले घोचेको जस्तो झझल्को आउँछ । त्यो अविश्मरणीय त भयो आनन्ददायक हुन सकेन । अलिक ठुलो भएपछी एक धरो पनि नलगाइकन केटा र केटी साथीइहरुसँग स्कूल छोडेर गएर त्यही उत्तरे खोलामा नुहाएको साँझको उज्यालोजस्तो रम-रम याद छ । तर अलैँचिबारी नासेर बनाइएको पोखरीमा गरिएको त्यो स्नान भोलि पल्ट स्कुलमा पाइने यातनाको डर, अलैँचि धनी अर्जेल बडा आउनुहुन्छ र कृष्णले जस्तो सबैको लुगा लगिदिनुहुन्छ कि भन्ने डर आदिले आन्ददायक बनेका छैनन् । एक पटक नेपाल टेलिकमले दिने छ महिने स शुल्क टेलिकम टेक्निसियन तालिमको लागि दिएको पारीक्षामा म पनि पास भएँछु । छ महिना काठमाडौँ बस्नुपर्ने भयो । अन्तुको शान्त र मनोरम ठाउँमा डुलिहिँड्ने चरो पहिले पनि काठमाडौँ बसेर पढ्ने हुँदा क्षयरोग उपहार लिएर फर्केको थियो । त्यो बेला पनि त्यस्तै होला कि भन्ने डरले म चिन्तित थिएँ । त्यसैले काठमाडौँका ठाउँहरु खासै डुलिएन। तर खाली एकैखालको दिनचर्याले वाक्क भएपछी उल्लेखित अर्जेल बडाका कान्छा छोरा युवराज अर्यालसँग म सिन्धुपाल्चोकको तातोपानी गएँ । विभिन्न कारणले गाडी छुटेर हामीले त्यो यात्रामा साह्रै झन्झट बेहोर्नुपर्यो । गाडीबाट ओर्लेपछी सुतिहालौँ जस्तो वाक्क लागेको थियो । टाउको पनि दुखेको , साँझ पनि परेको हुँदा तातोपानीका धाराको दर्शन मात्र गर्ने सल्लाह गरियो । तर धारा भएका ठाउँमा पुगेपछी मनिसहरुले रमाई -रमाई नुहाएको देखेपछि हामीले पनि नुहाउने रहर गर्यौँ । युवराजले भने ‘दाजु यात्रो टाढा आएर ननुहाइ के जानु ? जाउँ नुहाउँ ।” यस्तो सँझमा त मलामी गएर फर्केपछि वा आफन्तलाई खल्को दिन मात्र नुहाइन्छ हौ ।’ मेरो यस्तो उत्तर सुनेपछि युवराजले थपे ‘लुँडी पल्टाएर ,रोपाइँको मैजारो गरेर अनी अलैचीको भट्टी उठाएर पनि त नुहाइन्थ्यो नि दाजु । आज पनि खूव धूलो लागेको छ ,पखाल्नुपर्छ हौ ।’ यति भनिसक्दा उनले लुगा खोलिवरी धारातर्फ अघि बढिसकेको देखियो । म पनि अल्छि गर्दै नुहाउने कपडा लगाएर धारातर्फ गएँ । आत्था ! शुरुमा त पोल्यो नै पानीले !! त्यसपछि त यति रमाइलो भयो कि त्यस्को वर्णन म गर्नै सक्दिन । त्यो दिनभरिको धूलो मात्र हैन मनभित्रको पीर र दु:ख पनि पखालेछ प्राकृतिक तातोपानीले । अघि सुतिहाल्ने मनस्थितिका हामी फेरी कोदारी झर्ना हेर्दै कोदारी बजारसम्म उकालीयौँ । रात नै परे पनि आतेस लागेन किनकी अघि नै त्यो सबै पखालिएछ । मनमा केवल आनन्द मात्र बाँकी राखेछ , शरीरमा स्फुर्ती र उर्जा थपिदिएछ तातोपानीले । अहिले पनि म गलेर थकित साँझमा त्यही नुहाइ सम्झेर आनन्द अनुभुती गर्छु र थकान मेट्छु । त्यस्तो आनन्द दिने अविस्मरणीय नुहाइ पनि मेरो सूदूर उत्तरमै पर्छ । त्यो पनि उही उत्तरे खोलाको रमाइलोमा म जस्तै गरी हुर्केका मेरो घरदेखि ठीक उत्तरका छिमेकीसँग । अनी लाग्छ यही हुनुपर्छ मलाई उत्तर बग्ने खोलो मन पर्नाको कारण।
मेरो घरबाट उत्तरतर्फ जानुपर्छ स्कूल जहाँ मैले कक्षा नौ सम्म पढेँ । मेरा बालसखा गंगा , हर्क , डम्बर , तारा , श्याम सबैको घर उत्तरतर्फ नै छ मेरो घरबाट । मैले कविता लेखेका ‘दर्लामी माइला बडा’ र ‘लकान्द्री कान्छा’ पनि मेरो घरबाट उत्तरतिरका छिमेकी नै हुन्। अहिले पनि श्रीअन्तुको घरमा मुख धुन हामी उत्तरतिरै फर्कनुपर्छ , रमिता हेर्न नि’ उत्तर फर्कनुपर्छ । दक्षिणमा त अग्लो कान्लो पो छ ! यसरी उत्तर किन ? को उत्तरमा यस्ता थुप्रै उत्तर आउँछन् म भित्र ।
२०४४ सालतिर होला । हाम्रो छिमेकी भारतको पशिमबंगल राज्य अन्तर्गतको दार्जेलिङमा गोर्खाल्याण्ड को माग गर्दै त्यहाँका नेपाली आन्दोलित हुँदा सि.आर. पी. भनिने भारतीय फोर्सले उनीहरुलाई लखेटेछ । भागेर थुप्रै नेपाली दाजुभाइ दिदी-बहिनी हाम्रा घर -झुप्रामा आए । अन्तुवासीले आफ्नामा भएको ढिँडो गुन्द्रुक खुवाए । पछि त्यो आन्दोलनका नाइके नै किनिएछन भन्ने सुनेको हुँ । त्यत्तिकै गोर्खाल्याण्डको आन्दोलन मत्थर भयो । पछि २०४६ सालमा म ठीक १० वर्षको थिएँ । भारतले नाकाबन्दी गरेको भन्थे । त्यतिबेला दार्जेलिङका नेपालीले पहिलाको गुन तिरे । भारतले नाकबन्दी गरे पनि राती राती नेपालतिर सामाग्री पठाइदिए । यस्तै सहयोग गरे उनीहरुले २०७२ को अघोशित नाकबन्दीमा पनि । पश्चिममा पनि महाकाली पारी र वारीकाको राम्रै सम्बन्ध छ रे । यस्को कारण माधव घिमिरेको गीतले ‘पश्चिम किल्ला काँगडा ,पूर्वमा टिष्टा पुगेथ्यौँ ‘ ले नै दिएजस्तो लाग्छ । हाम्रा पुर्खाले आफू हिंडेको ठाउँमा नेपालीप्रती माया रोपेर नै हिँडेछन । उहिल्यै अरनीको र भृकुटी उत्तरतिर पनि लागेको इतिहासमा पढेको हुँ । त्यसैले होला उत्तरको उस्तो हेपाइँ हाम्रो देसले अहिलेसम्म बेहोर्नुपरेको ईतिहास छैन । तर दक्षिणको यस्तो हेपाइँलाई मध्यानजर गर्दा पनि मेरो उत्तरप्रतिको मोह ठिकै हो जस्तो लाग्छ । २०७२ मा दशैँ ,तिहार र छठ जस्ता ठूला ठूला चाड मनाइरहेका हामीलाई अघोशित रुपमा नाकाबन्दी लगाउनुपर्ने केही कारण थिएन । कारण भएको भए पछि अकारण खुल्ने पनि थिएन । यसकारण मलाई दक्षिणप्रति झन घीन उब्ज्यो । म अझै उत्तरप्रीय भएँ । त्यति बेला हामी नेपालीले खूब दुख पायौँ । दुःखको बेला मेरो मनमा एउटा उटपट्याङ आयो । यसो सम्झेको मेरो घरको चर्पी पनि उत्तर नै फर्केर बस्ने बनाएको रहेछ ,अर्थात हाम्रो शरीरको फोहोर फ्याँक्ने भाँडो चाँही त्यै बिनाकारण दुख दिनेको पट्टी फर्काइने रहेछ ! रिसको बेला हाँसो उठ्यो र छिमेकी सागर सरलाई सुनाएँ । उहाँले ‘ म पनि खर्च गरेर त्यस्तै पारौँ कि क्या हो ‘ भनी ठट्टा गर्नुभयो । यसरी अन्जानमै पनि मैले गरेका कार्यहरु उत्तर सपेक्ष हुनुले म मान्छे नै उत्तरे भएको त्यसैले उत्तरे खोलो मन परेको जस्तो लाग्छ ।
मैले मित्रहरूको नाम लिँदा कहिल्यै नछुट्ने हेम भण्डारी मेरो जन्मगाउँ भन्दा उत्तरमा पर्ने नयाँबजारका हुन् । युवा अवस्थामा भेटिएर साथी बनेका उनले मलाई इलामको नयँबजारमा एउटा सुन्दर पोखरीको भ्रमण उहिल्यै गराएका थिए । हिजोआज काठमाडौँमा बस्ने ती मित्रलाई एकदिन फोन गरेर त्यो तालको नाम सोधेको त ‘उत्तरे पोखरी ‘ पो रहेछ । धनकुट्टाको भेडेटार भन्दा अलिक तल मलाई मनपरेको ‘नमस्ते झरना ‘ पनि उत्तरतिरै बग्दो रहेछ ! अझ त्यो त लेउती भन्ने उत्तर दगुर्ने खोलाको शिर नै रहेछ । संसारमा बामपन्थी र त्यसको टक्करमा दक्षिणपन्थी राजनीतिक दलहरू दलाल गरिरहेछन् । यो मेरो नयाँ उत्तरपन्थी साहित्यिक विचार हो । उत्तरे खोलालाई साक्षी राखेर म लेखिरहन्छु र दलाल गर्दिन । मलाई यही उत्तरपन्थी मार्ग मनपर्छ । यसरी उत्तरे खोलाका थुप्रै साथि सगोत्री मलाई मनपर्ने भएपछि ढुक्क छु सानो भए पनि मेरो जन्मस्थानमा रहेको उत्तरे खोलो मनपर्नु ठीक हो । म सगर्व उत्तरे खोलोलाई प्रेम गर्छु ।
एकु घिमिरे
अन्तुडाँडा ,इलाम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )