~स्वप्निल स्मृति~
सम्पादक महोदयले
कवितालाई पटक-पटक सम्भोग गर्यो
र देशको संबिधान पुस्तिका पल्टाएर
हठात् झस्कियो-
उ विल्कुल बलात्कारी झैं देखिन्थ्यो ।
अखबारको अदालतमा
अक्षरहरुलाई
न्याय गर्न चाहेन
फाँसी दियो
कवितालाई
बेपत्ता पार्यो एकाएक ।
सम्पादक महोदयले
अखबारको मुखपृष्ठमै
राजकुमारीको नांगो नितम्ब छाप्यो
विष्णु अवतारको प्रार्थना छाप्यो
असुरिक्षत शहरमा
साताको राशीफल छाप्यो
कामुक शहरमा सिनेमाहरुको अश्लिल नामावली
दरबारमा आयोजित रात्रीभोजको सूचना
अनि भगवत् महायज्ञको निमन्त्रणा
समाचारमा राजा छाप्यो ।
अखबारमा
कविता नागरिक भएर बाँच्न सकेन ।
कवितामा
मेटिएको सिमाना
मारिएको शहीदको सपना
बेचिएको नदीको पोल
र लेण्डुप दोर्जेहरुको हुलिया खुलाइएको थियो
कविताले
मेरो इतिहास र मेरो विर्यको रंग
भनौं न थेप्चो नाक, चिम्सो आँखा र रातो वर्ण
अर्थात म हुनुको पहिचान ‘एक्स्पोज’ गरेको थियो
र त
सम्पादक महोदयले
कविताको जघन्य हत्या गर्यो
एउटा कविको एउटा कविता
यसरी इतिहासमा शहीद भएर गयो ।