~श्रीपुरुष ढकाल~
यसरी तिम्रो याद नआएनि हुन्थ्यो
निको भाको घाउ फेरि नदुःखेनि हुन्थ्यो
धेरैचोटि एकान्तमा फूलसँग दाँजेकोथेँ
बादलभित्र जून लुक्दा तिम्रो केश पन्छाकोथेँ
कोठामा जूनले अब नटेकेनि हुन्थ्यो
निको भाको घाउ फेरि नदुःखे नि हुन्थ्यो
उकालीमा अँगालेर सँगसँगै हिँडेकाथ्यौँ
चौतारीमा कोइलीको कुहुकुहु सुनेकाथ्यौँ
काफल चरी वनभित्र नबोलेनि हुन्थ्यो
निको भाको घाउ फेरि नदुःखे नि हुन्थ्यो ।
श्रीपुरूष ढकाल
सानेपा, ललितपूर
(स्रोत : मधुपर्क २०६९ साउन)