~कल्पना पौडेल ‘जिज्ञासु’~
अनायसै बग्दा रैछन् भावनाका भेलहरु
खेल्दैछु म हारी हारी जिन्दगीका खेलहरु
भौतारीदै नोकरीको धेरै आशा गर्दा गर्दै
प्रवासको जिन्दगीमा फेरे धेरै जेलहरु
रुन्छ मन धरधरी ऋण माथि ऋण हुँदा
कसो गरी पार लगाउँ कसिदैछ नेलहरु
स्वदेशमा केही गर्न चाहन्थेँ म उतै बसी
जता ततै द्वन्द द्वन्दै देखिदैन मेलहरु
स्वार्थी छ कि दुनियाँ यो सत्य साँचो छैन कि त
उदार यो भावनामा किन हुन्छन् झेलहरु !!
(स्रोत : गजलकारको गजल सङ्ग्रह “भावनाका भेलहरू” बाट सभार)