~तिर्थराज अधिकारी~
छन्द : शार्दूलविक्रीडित
फुल्छन् बुकी फूल जहाँ छ लेक
गुराँस छन् रंग उतै अनेक
फैली जरा पर्वत कापभित्र
सुनाखरी छन् रसदार पत्र ।१।
पारी तलै कण्टक शूललाई
गुलाफका छन् शिरका उचाइ
यी मौन छन् दृष्टि हजार पर्छन्
बनेर बाठा न त दम्भ गर्छन् ।२।
जाई जुही नाम अनेक जात
बोक्ने कुनै कल्मष छैन आँत
छन् मृत्तिकामा कति रूपरंग
हेरौँ यिनै दर्पण माझ ढंग ।३।
गमक्क छन् हार्दिकले गलामा
चढ्छन् यिनै अर्चनका थलामा
खेलेर बाधा पथमा सिँगौरी
जहाँ जहाँ हुन् तन चुम्छ मौरी । ४।
पचाउँछन् शीत र तापलाई
बचाउँछन् कोमल माथलाई
यी हुन् कला सुन्दर विश्वभाषा
आफैँ म भन्ने छ र तमासा ?५।
गले कहाँ आदिम सृष्टि रूप
आई बनाए थल कुन् कुरूप ?
झुल्छन् जहाँ जन्म उतै रसाई
चाहिन्न विज्ञापन फूललाई !!६।
(स्रोत : “सत्ताका किनाराहरू” – कवितासंग्रह – २०७० बाट साभार )
Yo sardulavikridit chhanda ho ra ????