~दीपा राई पुन~
ए नागिएका रूखहरू
भरखर पो चाल पायौ
तिम्रा सुकेका मुनाहरूमा
कति रहरहरू बाँधिएका खबर
तिम्रै कलेटी ओठहरूमा
जीवनको सप्पै इच्छाहरू
सुम्पेर बाँचेको मनहरू
तिमीलाई हेरेर बाँचिरहेछन्
तिमीलाई आत्मा बोध भयो
या प्रेमले बौरियौ
बिहानै किरणको लालीसँग
मुसुस्क मुस्कुरायौ
यो देखेर कति खुसी भए
म भन्दा खुसी
बैशमा सुकेका खोलाहरू भए होलान्
यादको झरी बर्षदा
गल्छेडाको आँसु बग्दै बग्दै
नदीमा मिसिएर सागर पुग्न
आमाको मनमा पनि आसा पलायो होला
हिउँद सकेर छोरा आउँछु भन्थ्यो
पोहर त आएन
यस पटक निश्चय आउँछ
आँखा रसाएर याद बिउँझियो होला
सखारै छोरा गएको बाटोमा
आशीर्वाद छर्दै
लामो आयु फलाक्यो होला
काम धन्न सकेर साँझ बाटो कुर्नु
समय उबार्यो होला आमाको मनले
तिम्रो कलिलो मुनासँगै
भरखरै प्रीत बसेको नुमालाई थाह छ
प्रदेश हिँडेको परदेशीसँग मुटु चुट्टी गएको
सपना उड्दै उड्दै बादल माथि पुगेको
रहरको पखेटा झरे जस्तो नाड्गो रूखमा
उनीले अनुहार जुधाउन नसकेको यथार्थ
उनी आज पूर्णिमा झैँ उज्यालो थिइन
छे महिने छुट्टी आउन छ महिना बाँकी
रातो माटोमा औलाको टुप्पाले हिसाब गरेर
जोड घटाऊँ गर्दै निकालेको ताजा खबर
पालुवा फेरेको मुनाको कलिलो पातमा
कोरेर नमिटेनी गरी लेखिदिने उनको जाँगर
बाबा नदेखी हुर्कँदै गरेको छोरी
लामो रातहरूमा कति बेला निदायो
यहीँ पालुवा फेरे पछि
बिजुलीको तारमा
बाबाको स्वर सुन्दा
एकै श्वासमा भन्छ
मान्छे चन्द्रमा पुग्छ रे
त्यहाँ जाने जहाज पठाई माग्छ उ
संसार जित्न चाहन्छ अबोध मन
जब पालुवा तिमी बिउँझन्छौ
अलिकति के मुस्कुराउँछौ
सारा मनले खुसीको होली खेल्छ
आसाहरू हुर्कन्छ भरोसाहरू हिँड्छ
समय तिमीसँग डाह गर्दो हो
जीवनलाई मस्त जीउँन
मन लागेको क्षण
यति खेरै हो भनिदिँदा
म पनि आलंवित भएर
तिमीलाई नै हेरिरहेको छु।
– हाल, बोस्टन, अमेरिका