~सरोज धिताल~
ऊ जब गाउँबाट आउँछ
अलिकती पसिनाको गन्ध बोकेर आउँछ
जिउमा अलिकति रातो माटो पोतेर आउँछ
अनी जब मेरो धारामा
आफ्ना हातखुट्टा पखाल्छ
उसले बोकेर ल्याएको
गाउँको रातो माटो
शहरको माटोमा मिस्सिन्छ
र तिर्खाएको भुईं
उसको पसिनामा चिस्सिन्छ ।
पसिना मात्रै ल्याउँदैन ऊ
रातो माटो मात्रै ल्याउँदैन ऊ
फलेदोको ठूटो कहिले ल्याउँछ र भन्छ-
“यो रोप्नु पर्छ यहाँ
हुर्कियो भने राताम्मे हुन्छन् फूलहरू
यो ठाउँमा कस्तो सुहाउँछ!”
कहिले ल्याउँछ पाखनबेतको ठुटो र भन्छ
“रोप्नुस् न यो,
ठुलो ओखती हो हाम्रो
कस्तो कस्तो काम आउँछ”
म रोप्छु
मरुभूमी हुँदै गएको
शहरको थोरै माटोमा पहाडी बिरुवाहरू
के थाह?
ती संगै पलाउँछन् कि कतै
आशाका स-साना टुसाहरू!
तर
ती सब् टुसाउनु अघि नै
मेरो छिमेकी
झ्याल खोलेर हाम् फालुँला झैं कराउँछ
औंला ठड्याउँछ
र मलाई थर्काउँछ-
“पहाड पर्वतका बिरुवा हुन् यी सब
बुझ्नुभो ? यिन्लाई त्यहीं हुन दिनु पर्छ!
ल्याउनु हुन्न शहरमा
उतै फर्काउनु पर्छ!
यो नैसर्गिक अधिकार हो पर्वतको
पहाडका बोट बिरुवाको!!
शहरमा भित्र्याउनु अपराध हो
पापै हो यो!
खबरदार!
रोप्नुभो भने राम्रो हुने छैन
झट्ट उखेलिहाल्नुस् यी सबलाई जो रोपिईसक्यो
नत्र म सहने छैन!”
‘आदर्शवाद’ हो कि केजातिको को खोल
ऊ अलिकती ओढ्छ
म अलिकती ओढ्छु
मलाई पापी भन्छ ऊ
उस्लाई म पाखण्डी भन्छु
म भित्र पाखण्डी थियो कि पापी कुन्नी,
भयभित भएर उसको गर्जन् देखी
हुर्किन खोजेको त्यो फलेदो उखेल्छ
पाखन्बेत उखेल्छ,
लालुपाते र लाली गुँरासको बोट उखेल्छ
उखेल्दा उखेल्दै बिचरा सयपत्री समेत उखेल्छ ।
बारीबाट उखेलिएका
यी बोटहरू
शहरबाट फर्किन्छन् कि फर्किन्नन्
पहाडमा कुन्नी!
तर
उजाड उजाड हुन्छ
हरियो हुन हुन खोजेको
शहरको सानो टुक्रा जमिन् पनी
निरस निरस हुन्छ
पहाडको पसिनाले भिजेको
त्यो सानो बारी पनी ।
मेरो छिमेकी
न खुशी देखिन्छ, न बेखुशी
कहिले चम्किचम्की हात हल्लाउँदै
अचम्मका विदेशीसँग हिंडेको देख्छु
कहिले बडेमान्को टल्किने गाड़ीमा
ढल्केको देख्छु
उसैलाई फेरी
जुलुसको अघी अघी
नारा लगाउँदै भिडेको देख्छु ।
म भने
त्यो निरस भएको
सानो टुक्रा जमिन हेर्दै
छाम्छु आँफैलाई
मुटुको धड़कन् गन्दै
मान्छे हुनुको तातो
कती बाँकी छ भन्दै ।
(फ्र्यान्क्फर्ट विमानस्थल, २५ जुन, ०७)