साँचै
साँचै सपना सपनै भईदिए
कल्पना वास्तविकता नै भईदिए
सफलताको चरम चुलि चुम्न
बेर लाग्दैनथ्यो होला
टाढाको वात् गर्न पुलिन्दा चाहिँदैनथ्यो होला
साँचै
साँचै माया गरी पश्चाताप गर्नेहरुलाई
प्रायश्चितका भोका युग्महरुलाई
कल्पनाले यथार्थता आत्मासाथ गरे
निर्दोषको अश्रु झर्दैनथ्यो होला
हत्याको पासो चाहिन्नथ्यो होला
साँचै
साँचै गरिब किसानका टाँसिएका पेटलाई
र लाज ओकल्न लागेका टालालाई
झुत्रो मजेत्रोले दिएको निदरिमा
विम्बित सपना साकार भईदिए
रगतको सिचाँइ हुन्थिएन होला
पसिनाको दाम घट्थिएन होला
साँचै
साँचै बावुको पसिना बेचिखाने
पाँच हजारका पहिरनको आडम्बर ओड्ने
विलासी विद्यार्थीहरुलाई
परिणामको अग्रदिनमा
स्वप्निल संसारमा विम्बित घटना
साँचो भईदिए
क्याम्पसका ढोका फुट्थिएन होला
प्राध्यापकले गलौज पाँउदैनथे होला
साँचै
साँचै एकै मातृका दुई पुत्र
आपसमा युद्ध चर्काउँदा
बुद्ध हिड्ने बाटोभरी गोला बारुद पड्काँउदा
शान्ति चाहने क्षुद्र नरपिशाचले ?
बन्दुकको दवासलाई तकिया बनाई
कुकुर निद्रमा देखेको एकटुक्रा सपना
जंगलमा बुनेको अनौठो कल्पनाले सत्यता अँगाले
आमाको छाति चर्कन्नथ्यो होला
विना गल्ति अश्रु वर्षिन्नथ्यो होला
साँचै
साँचै कविताका सर्ग सर्ग हरुमा
झल्किएका शान्ति वाणीहरुले
योद्धा र कुयोद्धालाई घच्घच्याए
नरभक्षी काल पल्कन्नथ्यो होला
चर्म चक्षुमा आँसु छल्कन्नथ्यो होला
साँचै
साँचै रङ्कका झोपडीमा फुर्ने साहित्य
धनाड्यका महलमा पनि सृजित भए
लुकेर प्रतिभा रहन्नथ्यो होला
साहित्य प्रेमि पछि पर्दैनथ्यो होला ।
– तामाफोक ८, २२ झोरे संखुवासभा
हालः धनकुटा हुमुखी क्याम्पस