यात्रा संस्मरण : प्राचीन नगर रोम र अर्को सानो देश

~डा. शान्ति छेत्री~

त्यो धरहरा अब ओझेल भइसक्यो – म भने दिल्लीको कुतुब मिनार, काठमाडौको धरहरा र बनारस हिन्दु विश्वविद्यालयको विश्वनाथ मन्दिरका भव्य उँचाइहरू सम्झनु पुग्छु। झ्यालबाहिर विदेशी हावा, विदेशी दृश्य र मनभित्र स्वदेशी सम्झना सङ्गालेर बससितै दगुरिरहेछु। तमिल सहयात्रीहरू गठ्याङ-मठ्याङ कुरा गर्दैछन्। ड्राइभर फ्रयाङ्कले हामी दुइका बाकस बसभित्र राखिदिने, होटेलसम्म पुऱ्याइदिने गरेको नि:स्वार्थ सेवाबारे हामी पनि कुरा गर्दैछौं। खुसरो र ड्राइभर दिनभरि र शायद रातको लागि पनि योजना मिलाउँदैछन्। म फेरि सम्झन पुग्छु – “फल अफ् द रोमन एम्पायर, बेनहर र एल्सीद अङ्ग्रेजी सिनेमाका दृश्यहरू। यतातिरका सजिलै चढ्न सकिने होचा पहाड़ देख्छु र उत्तर सिक्किमका अग्ला र सुन्दर चट्टानहरूका चित्र मानसपटमा आइरहन्छन्। हामी अब गर्मीको अनुभव गर्न थाल्छौं।

चिताएभन्दा केही पहिले नै एउटा रेस्तुराँअघि बस रोकिन्छ। घड़ी हेरेकी त ठिक्क लञ्चको समय भएको रहेछ। एकतले भवन हेर्दा सानो भए पनि पस्दा अन्डर-ग्राउन्ड हुनाले ठूलो हलमा परिणत भएको रहेछ। भित्र मानिसै-मानिस। तताले भन्नुभयो, “आज त अलिकति भए पनि भात खाऊँ है!”

मैले “हुन्छ” भनेर उहाँलाई हौसला दिन हात समाएँ। उहाँको नाड़ी त लुलो भएको रहेछ। सानो काउन्टरअघि हामी क्यूमा उभियौं। खाने कुरा पस्किएर ऐनाभित्रको आल्मारीमा राखिएका हुँदा रहेछन्। ‘ट्रे”-मा आफूले मन परेका भोजन टिप्दै राख्नुपर्ने अनि ‘पे-काउन्टर”-मा ठीक दाम तिर्नुपर्ने रहेछ। एउटा जिनिस बिर्सियो भने फेरि फर्केर 20/25 जनाको लाइनपछाड़ि उभिनुपर्ने। नभन्दै त्यहाँ तातो र कम्लो भात पाइँदो रहेछ तर भातसित खाने सब्जी वा तरकारी चाहिं छैन। तताले निस्तो भात लिएर आउनुभयो, मसित ह्यामबर्गर मात्र थियो, बाँड़ेर खानु पनि नमिल्ने। यसो टोबलमा हेरेकी त नौनी घिउ क्यूब रहेछन्।

‘घिउसित भात खाँदै गर्नोस्, म तातो कफी लिएर आउँछु’ भनेर उठें। भाषा बुझ्नु छैन – सेल्स गर्लले ‘शप देयर’ भनेर बाहिर देखाई। एकजना पर्यटकले ‘कफी देयर’ भन्यो। कफी बेच्ने कोही छैन तर सबैजना धमाधम कफी पिउँदैछन्। म अक्क न बक्क परें- तता उताबाट ‘छिटो आऊ’ भन्नुहुन्छ। मेरै छेउबाट एकजनाले कफी लिएर गएको देखेर ‘कहाँ पाउँछ’ भनी सोधें। उसले टोकन माग्यो र कफी मेसिनमा छिराएर कफी थापिदियो। मैले मुसुमुसु हाँसेर ‘मैक्सी’ भनिदिएं। खाना खाँदै ततालाई त्यो किस्सा सुनाउँदा उहाँ मरिमरि हाँस्नुभयो र भन्नुभयो, “त्यस्तो नाथे मेसिन ! कफी भनेर त लेखिदिनुपर्छ नी।” मलाई उहाँको आलोचना उपयुक्त लाग्यो। उहाँले फेरि भन्नुभयो, “भात त मिठो रहेछ। थप्नु जौं भने 15/20 मिनट लाइनमा उभिनुपर्ने रहेछ।” म लाइनमा पुन: उभिएँ र 5 मिनटभित्रै भात ल्याइदिएँ। ‘कसरी छिटो भयो?” उहाँले सोध्नुभयो। मैले सबैजना कफी लिन गएका रहेछन् भनें। उहाँले ‘ए…. खाना खाएपछि पो कफी लिन जानुपर्ने रहेछ नी’ भन्नुभयो। त्यसरी दुइ प्लेट भात खानुभएपचि उहाँमा भिन्दै स्फूर्ति देखेर मलाई ढुक्क लाग्यो।

बाटामा एकैनासे चिन्डा र होचा पहाड़हरू – कुनै गाउँ छैन, मान्छेहरू प्राय: देखिँदैनन् – छन् त केवल हाई-वेमा रफ्तारले कुदिरहेका चम्किला कारहरू, ठूला-ठूला कन्टेनर ट्रक र यात्रु बोकेका कोचहरू। ठाउँको नाम पनि उति थाहा भएन एक जग्गामा पुराना गाड़ीहरूको राश लगाइएको रहेछ. एक्सीडेन्ट भएका गाड़ीहरू फिर्ता लिनुभन्दा नयाँ गाड़ी किन्नु सजिलो मान्नेहरूले माया मारेका गाड़ीका राश रे तिनीहरू।

केहीपछि 4/5 माइलसम्म फैलिएको चट्टानबीचबाट कोच कुद्न थाल्यो। हामीले छक्क परेर खुसरोलाई सोध्यौं – उसले सुस्त चालमा भन्यो – “यो ढुङ्गाको कारखाना हो। यसै ठाउँबाट नामी र दामी सङ्गमर्मर (मार्बल) निकालिन्छ। रोमको शहर यिनै ढुङ्गाबाट बनिएको हो। चर्चहरूमा यहींको मार्बल जड़िन्छन्। भारतको नर्बदाको सङ्गमर्मरजस्तै। त्यहाँ सेता मार्बल पाइन्छन् भने यहाँ चाहिँ रङ्ग-बिरङ्गी पाइन्छन्। पछि चर्चहरूमा अवश्यै देख्नुहुनेछ।” हुन पनि ठूल्ठूला चापटका ढुङ्गा ट्रकहरूमा डोरी क्रेनले लोड गर्दै थिए। म पुन: बी टु-का पातला चापटी ढुङ्गा सम्झन्छु – खोला गड़तिर बड़ेमाका गोलो-गोलो ढुङ्गा सम्झन्छु र ईश्वरको वरदान सम्झेर मुस्मुसाउँछु।

साँझ हुनअघि हामी रोम शहरभित्र पसिसकेका हुन्छौं। हामीले सोचेजस्तो भव्य हैन यो शहर। रङ्ग उड़ेका पुराना भवनहरू, पुराना सड़क र पुरानो चहल-पहल। यहांको होटेल प्रिन्सेस पनि शहरको बीचमा रहेछ। थाकेर लखतरान भएका हामी पनि नुहाइ-धुहाइ गरेर कोठामा टीभी हेर्दै बस्यौं। डिनर खाएपछि पो थाहा भएछ – गरम ठाउँ भएको हुनाले राति आठ बजेदेखि बत्तीका रमझममा रोम नगरको रोम-रोम रमाउँदो रहेछ, रेस्तुराँहरू गमक्क गम्किँदा रहेछन् र सङ्गीतहरू गुञ्जिँदा रहेछन्। मन थाम्न नसकी हामी दुइजना मात्र राति नौ बजेतिर बाहिर निस्कन्छौं – होटेलकै दायाँ-बायाँ यसो रेखी गर्नलाई, आँखालाई आनन्द दिनलाई।

सडकका दुवै किनारमा नाङ्लो पसलेहरू खुद्रा जिनिस जस्तै लकेट, कन्तुर, भिउ कार्ड बेच्दारहेछन्। ठूल्ठूला ऐनाको शोभित्र दामी दामी सूटकेस किन्ने मन थियो, पैसा बोकेका थिएनौं – भोलि बिहान किन्ने सल्लाह गऱ्यौं। अलि परतिर राम्रो रेस्तुराँ रहेछ – बाहिर बसेर ठाँटसित डिनर खाइरहेका जोड़ा-जोड़ी अनि बाटामा हात समाएर मग्न हिंडिरहेका बृद्ध-दम्पत्ति। हाम्रो साड़ी देखेर बटुवाहरू फर्की-फर्की हामीलाई हेर्दैथिए। एकजनाले सोधिहालिन् -‘ब्यूटिफुल ड्रेस, इन्डिया?’ मैले ‘यस, थ्याङ्क यू’ भनें। मुसुमुसु मुस्काएर आ-आप्नो बाटो लाग्यौं।
बिहान आठ बजे तयार भएर घुम्न निस्कँदा मिस एनी, त्यस दिनका गाइड बसमा परिखिरहेकी रहिछिन्। हिजोको सूटकेस पसल खोलिएकै थिएन। उसले सूचना दिइन् – “आज हामी तपाईंहरूलाई भेटिकन सिटी, रोमन फोरम, सेन्ट एन्जेलो क्यासल इत्यादि ठाउँमा लानेछौं। कृपा गरी आ-आफ्ना साथी नछोड्नुहोला। अनि होटेलको ठेगाना र पास-पोर्ट आफैसित सुरक्षित राख्नुहोला। मेरो यो खबर-कागज हातमा उठाएको ठाउँमा सबैजना भेला भइदिनुहोला। कुनै एक ठाउँमा 10/15 मिनटभन्दा बढ़ी हेर्नेछैनौं – सबैले घड़ी मिलाउनुहोस्। तपाईंहरूको सहयोग पाएं भनें तपाईंहरूलाई राम्ररी घुमाउन सक्नेछु।”

उसको धाराप्रवाह अङ्ग्रेजी र मीठो स्वरले हामी मक्ख पऱ्यौं। प्रौढ़ा मिस एनी खुबै फुर्तिली र अनुभवी थिइन्। कोच केही परसम्म गुडेपछि दाहिनेतिर देखाउँदै भन्न थालिन् – ‘ऊ… त्यो रूख भएको ठाउँका प्रथम सम्राट रेमू र रेमुलासलाई बाघले दूध कुवाएको हो – अर्थात् त्यो जानिकुलस हिल हो। पछि भाइले दाजुलाई युद्धमा जितेपछि तिनी राजा भएका थिए। त्यो हिलको वरिपरि सातवटा स-साना पहाडहरूलाई सेभेन सिस्टर्स भनिन्छ जहाँ उनीहरू दुइको बाल्यकाल बितेको थियो।

चौकका दुवैतिर भव्य प्रस्तर मूर्तिहरू थिए अनि फराकिला लामा सिड़ीहरूबाट फटाक-फुटुक यात्रीहरू ओर्लिँदै थिए। शहर तङ्ग्रिसकेको थिएन। घाम भने एक हात माथि मिर्मिराइरहेको थियो। मिट्टेरो बेनेटो, औरिलियन बाल्स हुँदै रोमन फोरममा पुग्यौं। त्यस ऐतिहासिक स्थलका वरिपरि शहर छैन रहेछ। आजकलका ओलम्पिक स्टेडियमजस्तो पुरानो ठाउँ रहेछ – कति त दोस्रो विश्व युद्धमा ध्वस्त भयो रे। एक हूल माग्ने केटा-केटीलाई उसले हपारिन्। आप्नो मुलुकलाई गरीब देखाउन नचाहने उनीहरूको आत्मसम्मानपूर्ण सिद्धान्तलाई मैले मन-मनै सर्काएँ।

पियाजा नाभोना-मा निक्कै भीड़ भइसकेको थियो, उसले ट्रेभी फाउन्टेनतिर लगिन्। त्यहाँ पनि उतिकै भीड़ रहेछ। त्यो फाउन्टेनमा सेतो रङ्ग लगाउंदैरहेछ, पानी सुकाइएको रहेछ। तैपनि मानिसहरू पछिल्तिर फर्केर आँखा चिम्म गर्दै रेजकी पैसा फ्याँक्दैरहेछन्। त्यस फाउन्टेनलाई विशिङ फाउन्टेन भनी पनि भन्दोरहेछ। मनमा चिताएर पैसा फ्याँक्दा अभिलाषा पूरा हुन्छ भन्ने लोक-विश्वास रहेछ।

हामी फेरि गुटुटुटु बसतिर लाग्यौं – भेटिकन सिटी हेर्न। गाइड बताउँदै थिइन् – संसारको सबभन्दा सानो देश हो यो। यहाँको जनसङ्ख्या एक लाख मात्र छ। पावन पोप पावेल यहाँका सर्वेसर्वा हुन्। पासपोर्ट चेक भएपछि हामी सानो देशभित्र पस्यौं। सेन्ट पिटरको बासिलिकाभित्र भ्रमणार्थीहरूको घुइँचो-घुइँचो रहेछ त्यहाँ पनि। हामी गाइडको खबरकागज पछ्याउँदै घुइँचोभित्रै पस्दैछौं। तल र माथिका साँगुरा सिंढ़ीहरू ओर्लँदै-उक्लँदै सिस्टेन च्यापेलको ठूलो हलमा पुग्छौं। सिलिङभरि माइकल एञ्जेलोको भव्य कृति साक्षात देख्न पाइन्छ – भर्खर थप रङ्ग-रोगन भएकोले होला, एकदम नयाँ लाग्थ्यो। पोपको चुनाउ गर्ने प्रथाबारे टेपद्वारा सुनाउँदै थियो – बाहिरका मानिस त्यो चुनाउ हुँदा पस्न नपाउने र चुनाउ सिद्धिएपछि धुवाँ फ्याँकेर सम्पन्न भएको सूचना दिने प्रथा अझैसम्म रहेछ। त्यस विशाल भवनका दलिन, भित्ता, खाँबा जताततै माइकल एञ्जेलो, राफल बर्निनीका प्रसिद्ध चित्रकलाहरू सुरक्षित थिए।

अर्को सानो हलमा सेन्ट पिटरको मूर्ति रहेछ। उसका खुट्टामा भक्तहरूले म्वाई खानुपर्दोरहेछ। त्यस्तो हुँदा-हुँदै दाहिने खुट्टाका बुढ़ी औंला त चिल्लै भएको रहेछ। केही वरतिर मानिसहरू झुम्मिएका रहेछन् – त्यहाँ मदाम मरियमले यीशु ख्रीष्टको पार्थिव शरीर काखमा लिएर शोक मुद्रामा भावशून्य बसिरहेकी सेतो संगमर्मरको विशाल मूर्ति रहेछ। कुनै पगलाले तरवारले मूर्तिमा चोट पुऱ्याएको हुनाले हालमा मूर्ति वरिपरि ऐना लगाइएको रहेछ र वरिपरि गार्डहरू पनि राखिएका रहेछन्। त्यो प्रख्यात मूर्ति कलाकार बर्निनीले 100 वर्षअघि बनाएका हुन् रे। त्यस मूर्तिमा एक शोकग्रस्त आमाका समस्त पीड़ा र विशादका भावहरू अङ्कित छन् अनि यीशु ख्रीष्टका पार्थिव शरीरबाट पनि क्षमा, दया, प्रेमकै सन्देशहरू प्रस्फुटित भइरहेजस्ता लाग्दछन्।

पूर्ण रङ्-बिरङ्गी संगमर्मरद्वारा निर्मित त्यो भव्य चर्च नै भेटिकन सिटीको प्रमुख आकर्षणको केन्द्र रहेछ। त्यहाँबाट बाहिर निस्केपछि त्यसको विशालता झन् मुखरित हुँदोरहेछ र हामीले पनि ठूलो राजभवनबाट निस्केका अनुभव गऱ्यौं। चारैतिर सजिसजाउ सैनिकहरू, पोपका अङ्गरक्षकहरू र सुरक्षाको कड़ा व्यवस्था देख्दा इटालीभित्रको त्यो सानो देश निक्कै महत्वपूर्ण ठाउँ रहेछ भन्ने बुझियो। अझ धर्म, संस्कृति र कला-कृतिको संरक्षण अति आवश्यक रहेछ भन्ने थाहा पाइयो। गदगद हुँदै फर्कंदा एउटा क्यूरियो शपबाट मदाम मरियम र यीशु ख्रीष्टको सानो सेतो संगमर्मरको मूर्ति 12000 लिरा तिरेर किनें। सन्तोष लागेर आयो। तमिल दम्पति र हामीले ठण्डा पियौं, फोटो खिँच्यौं अनि फेरि फर्केर त्यो विशाल अट्टालिकालाई एकपल्ट हेऱ्यौं। अर्कै बाटो भएर उकालै-उकालो लाग्यौं। त्यहाँ चौरकै उतापट्टि ठूलो किल्ला रहेछ र छेउकै विश्राम गर्ने भव्य चौतारा। त्यहाँबाट भेटिकन सिटीको त्यो सानो सुन्दर र पवित्र देशको राम्रो दृश्य देखिँदोरहेछ – शान्त र सन्तुष्ट।

दिउँसोको खाना खान जाँदा दुइ बजिसकेको थियो। खुसरोले ‘आजको लञ्च ट्रेभल कर्पोरेशनले खुवाउनेछ’ भन्यो। एउटा चिटिक्क परेको लाम्चे रेस्तुराँभित्र पसायो। त्यहाँ भारतीय खाना पाइँदोरहेछ तर छान्न नपाइने। एक जोड़ा इटालीवासी र दुइ युरोपेलीहरूले भारतीय खाना खाँदैथिए. मसालादार खाना अरूले मीठो मानेर खाए, हामी कुख्राको 1/1 वटा फिला र पराँठा खाएर अघायौं। आइसक्रीम पनि खानैपर्ने रे। जिनिभामा आइसक्रीम खान हामी पल्किसकेथ्यौं। यहाँको जस्तो खल्लो र चिसो मात्र होइन त्यहाँ त फूल-बुट्टा भरिएर मगमग वासना छर्दै आइदिन्छ आइसक्रीम – मुखमा पर्नासाथ बिलाइहाल्ने। हाम्रा मिस्टर चीफले आइसक्रीमको साटो कफी मागे। कफीको दाम चाहिं तिर्नै पर्ने रे। उनले एक कप कफी र एक प्याकेट सिग्रेट मागे। भारतीय रुपियाँ 100/- पऱ्यो रे। उनी धाकसित कफी र सिग्रेट सँगसँग पिउँथे, हामी चकलेट आइसक्रीम खान्थ्यौं।। बाहिर निस्केर तिनी मरिमरि हाँस्न थाले – आफ्नो देशमा पैसा जोगाएर विदेशमा धाक देखाउने पनि खर्च गरिदिएँ – क्या मज्जा आयो। हामी पनि उसको जीवन-दर्शनमा एकछिन मुछिएर मज्जाले हाँसिपठाऔं। होटेलमा आपुगेर मिस एनीलाई धन्यवाद भनौं भनेको त उनी त भेटिकन सिटीबाटै बिदा भइसकिछन् – कस्तो बिस्वाद।

साँझपख हामी पुन: बाहिर निस्क्यौं। चहल-पहल बढ़्दै गयो – नाङ्लो पसलेबाट केही भिउ-कार्ड र स-साना चिनाहरू किन्यौं। अलिक मास्तिर स्टुडियो रहेछ – फोटोहरू धुन दियौं – राति 9 बजे लिन जानु रे। फल र कोल्डड्रिंक्स किन्यौं। केही बेर यता-उति बरालियौं। सड़कहरू उति फराकिला होइनन् तर सफा रहेछन् – अलकत्रा नलाइएका, ढुङ्गा मात्र छापिएका घोड़ा र रथ हिंड्नेजस्ता सडकहरू। बिहान 9 बजे अफिस लागेर 12 बजे बन्द हुँदोरहेछ। फेरि 3 बजे खुल्दोरहेछ, बेलुकी 6 बजेसम्मको लागि। रोमवासीहरू जिउँसोको भोजनपछि एकछिन निदाउँछन् रे – यो उनीहरूको सभ्यता, संस्कृति जसो भने पनि। अनि 6 बजे अफिस सकेपछि बाहिर-बाहिरै रमाएर जति बेला घर फर्के पनि हुने. वाह जिन्दगी!

धेरै युद्ध झेलिसकेको, जीवन-दर्शनले विभिन्न ऋतुहरूको स्वाद लिइसकेका तथा कला, सभ्यता, संस्कृतिलाई पराकाष्ठामा पुऱ्याइसकेका रोमवासीहरूले दुइ दिनको जीवनको मोल निश्चय बुझेका रहेछन् – उनीहरू कमाउँछन् पनि तर जीवन जिउन पनि जान्दारहेछन्. मृत्युपछिको सोचाइ कम गर्दारहेछन् र आफ्नो भव्य इतिहासबारे गर्व मान्दारहेछन्। चाहिंदो परिश्रम र चाहिँदो उपभोग गरेर अरू झञ्झटमा फँस्न नचाहने साधारण रोमवासीहरूको जीवन शैली शान्तिप्रिय र सभ्यलाग्दो रहेछ।

( यूरोप भ्रमण – केही संस्मरण, 1996, निर्माण प्रकाशन-बाट साभार)

(स्रोत : रचनाकार डट कम)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.