कविता : बादल

~शरद पोख्रेल~

बादल लाग्नु
बादलले छोप्नु
अँध्यारो हुनु।
ए मान्छे किन तिम्रो गुनासो ममाथि रहिरह्यो
यी कुरामा ?

तर आज उभियो मेरो छायाँमा
एउटा एक्लो मुसाफिर
र प्रेमले घुट्क्याइरह्यो मेरो सुन्दरता

-कुनै नदीमा मेरो छायाँ
तिम्री प्रेमिकाभन्दा कम नहोला,
घामछायाँको लुकामारी
-कुनै महाकाव्यभन्दा कम काव्यिक नबन्ला,
सूर्योदय र सूर्यास्तमा
मसँग जिस्किएको सूर्य हेर्नू
-कुनै उपन्यासको अध्यायभन्दा कम प्रेमिल नलाग्ला।

केही थान मुस्कान पोख्यो र बोल्यो मुसाफिर-
सुहागरातमा घुम्टो ओढेर कुरेकी
नवदुलहीजस्तै देखिन्छु रे –
मेरो कोमल बाहुपासमा चाँदनी पर्दा।
उसकी प्रेमिकाको केशराशी जस्तै देखिन्छु रे-
सिरसिरेले मेरो कोमल भुवा उडाउँदा।
भर्खर कौमार्य फक्रनै लागेकी
उसकी यौवनाकी सुन्दर ओँठ झैं लाग्छु रे –
गोधुलीमा मेरो छायाँ ।

मान्छे!
प्रेमले हेरे त म पनि प्रेमिल बन्दोरैछु-
आऊ खोजौँ यो अँध्यारो भित्र पनि केही उज्यालो
यो कालो भित्र पनि आशाको चाँदनी घेरा ।
र रचौँ प्रेमको संसार।

– शरद पोख्रेल

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.